मौनको मतलब मन, वचन र कर्मले शान्त रहनु अर्थात् नबोल्नु हो । बोली मनसँग सम्बन्धित छ । चञ्चल मन मौन रहन सक्दैन । जो ज्यादा चञ्चल छ उसको मन सदा बेचैन भइरहन्छ । यो जीवको स्वभाव नै हो । मनको चञ्चलताले इन्द्रियहरू असंयम हुन्छन् । जसले गर्दा वाणी जथाभाबी प्रयोग हुन्छ ।
धेरै नबोल्ने र मनलाई संयमित राख्ने साधक शारीरिक एवं मानसिक रूपमा सबल हुन्छ एवं आत्मबलयुक्त हुन्छ । बोलेर, सुनेर, देखेर र कर्म गरेर नै जीवनी शक्ति क्षीण हुन्छ । त्यसैले सङ्कल्प शक्तिलाई प्रबल बनाउन र ऊर्जा बढाउनका लागि मौन साधनामा रहनु उपयुक्त हुन्छ । बोलेर जति काम हुन्छ त्योभन्दा बढी मौन रहेर हुने गर्दछ । त्यसकारण कतिपय साधक मौन साधना रुचाउँछन् ।
जीवनमा ज्यादा ऊर्जा बोलेर खर्च हुने भएको हुँदा मौनको महìव भएको हो । यसैले मौन रहनुलाई व्रत वा साधनाका रूपमा लिइएको छ । जसरी कुनै दियोमा तेल सकियो भने बत्ती निभ्छ । बेला बेलामा तेल थप्दै गयो भने दियो निभ्दैन । त्यसै गरी हाम्रो जीवनमा पनि ऊर्जा शक्तिको कमी भयो भने जीवन निभ्न सक्छ । मौन साधनाले जीवनी ऊर्जा बचत हुन्छ ।
यस्तै मानव जीवनमा पनि ऊर्जा वा प्राणशक्ति सीमित हुन्छ । मानिसभित्र रहेको जीवनी ऊर्जा हेरेर, सुँघेर, बोलेर, स्वाद लिएर, स्पर्श गरेर, हिँडेर सकिने हो । यदि यी सबै कुरा छोडेर मौन अथवा ध्यानमा रहने हो भने सबै स्थानबाट निस्कने ऊर्जा बचत हुन जान्छ । त्यसैले सन्तहरूले मन तथा इन्द्रियलाई संयमित राख्न भन्छन् ।
जसले मन, वचन र कर्मलाई संयमपूर्वक उपयोग गर्दछ उसैले जीवनको पूर्ण उपयोग गर्न पाउँछ अन्यथा प्राणशक्ति दुरुपयोग हुँदा जीवनको उपयोगिता पनि पूर्ण हुँदैन । संयमताको प्रथम स्वपान वाणी संयम नै हो । जसले आफ्नो बोली, वचन र वाक्यको संयमता अपनाउँदैन उसको अनावश्यक वाणीको खर्चले जीवनी वा प्राणशक्तिलाई क्षय पुर्याइरहेको हुन्छ ।
मौन व्रतले वाणी संयम भई साधना अगाडि बढ्छ र ऊर्जाशक्ति वृद्धि गर्छ । ऊर्जा सङ्कलन बढ्दै जाँदा आध्यात्मिक चिन्तन र साधना अगाडि बढ्छ । मौन व्रतले मनको शक्तिलाई प्रबल बनाउँछ, आन्तरिक शक्ति बढ्न जाँदा शरीरका भित्र बाहिर हुने रोगलाई निवारण हुन मद्दत गर्दछ ।
नबोल्नाले झैँझगडा पनि कम हुन्छ । अर्को कुरा नबोलिकन चुप लागेर बस्नु मात्र मौन होइन । मौनको अर्थ शरीर स्थिर, मन शान्त, बुद्धि प्रखर र आत्मा चैतन्य बनाउँदै लग्नु हो । कतिपय साधक मौन साधनामा त रहेका हुन्छन् तर साङ्केतिक रूपमा वा सङ्केत गरेर भाषा प्रयोग गर्छन् तर मौन व्रतमा सङ्केत पनि गर्नु हुँदैन । यसको अर्थ आन्तरिक र बाह्य रूपमा स्थिर रहनु नै मौन हुनु हो ।
कुनै साधक उच्च आध्यात्मिक लाभको अवस्थामा पुगेको छ भने ऊ स्वतः मौन हुन पुग्छ । सच्चा मौन रहने हो भने आँखाले रूपको भोग गर्नु हुँदैन, त्यसैले ध्यानको कुरा गरेको हो । ध्यान गर्दा आँखा चिम्लनु पर्दछ । नाकले गन्ध, कानले शब्द सुन्न बन्द गर्नु पर्दछ, जिब्रोले रस, छालाले स्पर्श र हातले कर्म, पाउले हिँड्न बन्द गर्नु पर्दछ, वाणी बोल्न छोड्नु पर्छ, कामवासना शून्य बनाउनु र गुद्द्वारबाट मल विसर्जन कम गर्न खाना बन्द गर्नु पर्छ । तब मौन व्रत सुरु हुन्छ ।
अन्तःस्करणमा मनलाई संयम, बुद्धिलाई तर्कवितर्करहित, चित्तभाव शान्त, अहङ्काररहित अर्थात् म र मेरो भन्ने भावलाई शून्यतामा लैजाने र शरीरका अङ्ग प्रत्यङ्ग एकाग्र भएर रहने वा शून्यतातर्फ प्रेरित हुँदै जानु नै सच्चा मौन व्रतको लक्षण हो । यसरी मौन व्रतलाई अपनाउँदै जाँदा साधक ध्यानको गहन रूपमा डुब्न पुग्छ । ध्यान परिपाक भएपछि समाधिसम्म पुग्न सकिन्छ ।
मौन व्रतको माध्यमबाट ध्यान सिद्धि र ध्यानबाट समाधि सिद्धि भएपछि साधकले अरूको मनको कुरा थाहा पाउन सक्छ र आफ्नो विचारलाई अरूसमक्ष पुर्याउन सक्छ । मौन रहँदै जाँदा साधनामा सिद्धता मिल्दछ । मौन एक मूक भाषा पनि हो । आध्यात्मिक यात्रामा उपल्लो सिद्धता पाएपछि साधकले अनन्त भाषामा कुरा गरेको र बोलेको सुन्नमा आउँछ ।
संसारका मानव, जनावर, पन्छी तथा अन्य जडवस्तुसँग समेत मौन भाषामा सञ्चार गरेको र कुराकानी गरेको प्रसङ्ग आउँछ । जब आत्मा सिद्धि मिल्छ तब चेतना मूक भाषासँग जोडिएर संसारका सबै जनावर, मानव तथा वृक्षसँग समेत कुरा गर्न सक्छ । मौनमा रहने अभ्यास गर्दा गर्दा साधकले जनावर, वृक्ष, पर्वत तथा नदीसँग समेत सूक्ष्म रूपमा मौन भाषामै सञ्चारको आदानप्रदान गर्न सक्छ । अतः नबोलिकन पनि हाम्रा १० इन्द्रिय र चार अन्तस्करणले एक अर्काको भाषामा सञ्चार गर्न सक्छन् ।
मौनका कुरा गर्दा यहाँ सुख र आनन्दको विषयमा पनि विचार गर्न उपयुक्त देखिन्छ । मौनमा पुगिसकेपछि जे जति विचार आउँछ सबै नै आनन्दतर्फ प्रेरित गर्दछ । भौतिक रूपमा जे पाइन्छ ती सुखमा परिभाषित गर्न सकिन्छ । आनन्द सुखभन्दा पर छ । त्यो पर रहेको चिर आनन्द अध्यात्म दर्शनको माध्यमबाट मात्र प्राप्त हुन्छ । मौनको माध्यमबाट गहिरो सागरमा डुबुल्की मार्नु आनन्द प्राप्त गर्नु हो । जहाँ डर, त्रास, भय, लोभ, लालसा, घमण्ड आदिबाट मुक्त भइन्छ तर सुखमा डर, त्रास, भय, लोभ, लालच, घमण्ड रहिरहन्छ ।
सिकाइको दर्शन शास्त्रले के भन्छ भने कुनै पुस्तक, गुरु, अनुकरण, अनुभव आदिको माध्यमबाट सिकेर विद्वान् पण्डित, प्रोफेसर हुन सकिन्छ । यही विधिलाई सर्वस्वीकार गरेर स्कुल, कलेज तथा विश्वविद्यालयमा पठनपाठनको काम भइरहेको छ तर पूर्वीय दर्शनमा बिलकुल अलग तरिका अपनाइएको पाइन्छ । केही नगरी मूक भाषामा बस र सिक्दै जाउ, बिनाशिक्षक, बिनाकक्षा सिक्दै जाउ । इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिलाई एकीकृत गर, ध्यान गर्दै नयाँ नयाँ ज्ञान हासिल गर भन्छ ।
ध्यान र मौनताबाट बिनाकिताब हाम्रा धर्मशास्त्रहरू तयार भएको कुरा पुष्टि भएकै छ । अनौठो घटना छ हाम्रा वेद, पुराण आदि ऋषिहरूले मौन व्रत र ध्यानद्वारा नै सिकेर तयार गरेका हुन् । गौतम बुद्धले मौन ध्यान र व्रतको साधनाद्वारा नै ज्ञान प्राप्त गरेको स्पष्ट नै छ । व्यास ऋषिले पनि कतै पढेका होइनन् । उनले संसारको सबैभन्दा महान् पुस्तक लेखे ।
भक्त प्रह्लादलाई दैत्य शिक्षालयमा सिकाइएको, पढाइएको भए पनि उनले भगवत् भक्तिद्वारा नै ज्ञान र मुक्तिको बाटो पाए । जुन कुरा उनलाई कुनै शिक्षकले सिकाएको थिएन । वेद व्यासले पनि गुरुको कृपा र आफ्नै ध्यान साधनाको प्रभावले ज्ञान प्राप्त गरी त्यो ज्ञान लिपिबद्ध गरेर संसारलाई दिए ।
त्यसैले योग, ध्यान र जप साधना सँगसँगै मौन साधनामा रहनाले पनि आत्मा दर्शनको मार्ग छिट्टै खुला हुन्छ । त्यसकारण जीवनमा सफलताका लागि मौनमा रहने अभ्यास गरौँ । हप्तामा एक दिन भए पनि मौन रहने प्रयास गर्नु पर्छ ।