• १६ भदौ २०८१, आइतबार

पूर्णको टिमलाई प्रोएम गल्फ उपाधि

blog

काठमाडौं, जेठ ८ गते । सूर्य नेपाल गल्फ टुरको बर्षको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगितामा प्रोएम तर्फको उपाधि पूर्ण शर्माको टिमले जितेको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आइतबार भएको प्रतियोगितामा प्रो पूर्णको टिमले कूल एक सय ५३ अंक बटुल्यो । टिममा प्रो पूर्णले ४४, एमेच्योर महेन्द्र पगामीले ३८, समिर आचार्यले ३६ र कस्मिरा शाहले ३५ अंक बनाउनुभएको थियो । 

प्रो सन्जय लामाको टिम दोस्रो भयो । कूल एक सय ४२ अंक बनाएको यस टिममा लामाले ३८, एमेच्योर विकास शाहले ३५, बाबु शेर्पाले ३५ र प्रताप बोहोराले ३४ अंक बनाउनुभएको थियो। एक सय ४० अंक बनाएको प्रो रवि खड्काको टिम तेस्रो भयो । यस टिममा रविले ३८, एमेच्योरहरु आङ डेन्डी शेर्पाले र चन्द्र लिम्बुले समान ३४/३४ अंक बनाउनुभएको थियो । 

महिला ब्यक्तिगततर्फको उपाधि कस्मिरा शाहले जित्नुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार दावा शेर्पाले जित्नुभयो । क्लोजेस्ट टु दि पिनको पुरस्कार आरती राज्यलक्ष्मी राणाले जित्नुभयो । स्टेबल फर्ड ३/४ ह्यान्डीक्याप विधामा खेलाईएको प्रतियोगितामा एक सय १३ एमेच्योर र २४ प्रोले भाग लिएका थिए ।

विजेतालाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि कुमार रायभारम, पूर्व म्यानेजिङ डाइरेक्टर अभिमन्यु पोदार, गोकर्ण फरेस्ट गल्फ रिसोर्टका अध्यक्ष सुहृद घिमिरे, नेपाल गल्फ संघका अध्यक्ष तासी घले लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

प्रिमियर गल्फको मुख्य स्पर्धा भने सोमबारदेखि पुनः सुरु हुने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ । चार दिने प्रतियोगितमा ४४ प्रो र ११ जना शीर्ष वरीयताका एमेच्योरको सहभागिता रहनेछ ।