दोस्रो विश्वयुद्धताका सन् १९४५ अगस्त ६ का दिन जापानको हिरोसिमा शहरको आकाशमा अमेरिकी वायुसेनाको बी–२९ बमवर्षक विमान देखा पर्यो । हिरोसिमामाथि देखा परेको त्यो विमान त्यसअघि देखिएको थिएन ।
भिन्न प्रकारको उक्त विमानले ‘लिटल ब्वाई’ नामक विनाशकारी परमाणु बम बोकेको थियो । अमेरिकाका राष्ट्रपति ह्यारी एस. ट्रुम्यानको आदेश अनुसार हिरोसिमामा परमाणु बम खसाल्न आएको सो विमानले बिहान ८:१५ बजे बम पड्कायो । सो परमाणु बमले क्षणभरमै लाखभन्दा बढी मानिसको ज्यान गयो । हिरोसिमा नरसंहारको तीन दिनपछि अमेरिकाले अर्को परमाणु बम जापानको नागासाकी शहरमा खसाल्यो । सो बम विस्फोटका कारण पनि एक लाखभन्दा बढी मानिसको ज्यान गएको थियो ।
परमाणु बम विस्फोटले हिरोसिमाको १३ वर्ग किमी भूभाग पूर्ण रूपमा खरानीमा परिणत भयो । बम विस्फोटमा एक लाख १८ हजार मानिसको तत्काल ज्यान गयो । धेरै घाइते भए । बम विस्फोटका कारण उत्पन्न विकीरणको असर लामो समय रह्यो । हिरोसिमामा पछिसम्म ज्यान गुमाउने र हताहत हुनेहरूको सङ्ख्या एक लाख ८० हजार पुग्यो । परमाणु विकीरकणका कारण कोहीले महिना त कोहीले वर्षौंपछि ज्यान गुमाएका थिए । केही मानिस भने नाटकीय रूपमा बाँच्न सफल रहे । त्यसरी बाँच्नेमध्येकी एक थिइन् दुई वर्षीय बालिका सदाको सादाकी ।
बम विस्फोट हुँदा सदाको आफ्नो परिवारसँगै थिइन् । बमको विस्फोट क्षेत्रबाट उनको घरको दुरी दुई किमी टाढा थियो । बम विस्फोट हुँदा ठूलो आवाज आउनुका साथै सम्पूर्ण शहरलाई आगोको लप्काले निलेको थियो । बम विस्फोट हुँदा सदाको आफ्नी आमा र दाजुसँग थिइन् । उनकी हजुरआमाको ज्यान गयो । सदाकोका बुवा सिगेओ हिरोसिमा बाहिर थिए । सदाकोको शरीरमा विकीरणयुक्त कालो वर्षाको पानीको छिटा पर्न गयो ।
हिरोसिमा–नागासाकी नरसंहारपछि जापानले अमेरिका सामु आत्मसमर्पण गरेको थियो र दोस्रो विश्वयुद्ध अन्त्य भयो तर हिरोसिमा–नागासाकी बम विस्फोटद्वारा सिर्जित विकीरणको असर जीवित मानिसमा देखिन थाल्यो ।
सदाकोको सवालमा सुरुमा उनीमा कुनै असर देखिएन् । उनी स्वस्थ थिइन् । त्यसैले उनका बुवाआमाले उनलाई स्कुलमा भर्ना गरे । उनी पढ्दै गइन् । खेलकुदमा उनको विशेष रुचि थियो । उनी दौड प्रतियोगितामा सहभागी हुन्थिन् । उनको दौड राम्रो भएका कारण साथीहरूले उनलाई निकै माया गर्थे । उनी सबैकी प्रिय थिइन् ।
जब सदाको १२ वर्ष पुगिन् तब उनीमा ल्युकेमिया (रगतको क्यान्सर) देखा पर्यो । त्यतिबेला ल्युकेमियाको उपचार थिएन । जापानमा ल्युकेमियालाई परमाणु बमको रोग भनिन्थ्यो । सदाकोमा देखा परेको ल्युकेमिया उनलाई परमाणु बम विस्फोट हुँदा परेको कालो वर्षाले छोएको असरले उत्पन्न भएको थियो । सोही कारण उनले एक दिन स्कुलमा दौड प्रतियोगितामा भाग लिँदा थाकेको महसुस गरिन् । उनलाई रिँगटा लाग्यो । उनले दौडका कारण रिँगटा लागेको होला ठानिन् । त्यस पछिका दिनमा उनले निकै कमजोर महसुस गर्न थालिन् ।
थकान र रिँगटाले उनलाई छोडेन । रिँगटा लागेर उनी एक दिन स्कुलमै ढलिन् । साथीहरूले उनलाई उठाए । शिक्षकलाई खबर गरे । शिक्षकले उनका बुवाआमालाई खबर गरे । उनी आमाबुवासँगै घर फर्किइन् ।
त्यसपछि सदाकोका बुवाआमाले उनलाई रेडक्रस अस्पतालमा भर्ना गरे । स्वास्थ्य जाँच गर्दा सदाकोमा ल्युकेमिया (रगतको क्यान्सर) देखा प¥यो । आफूलाई ल्युकेमिया भएको थाहा पाउँदा सदाको निकै डराइन् । उनी आत्तिइन्, रोइन्–कराइन् । छोरीको अवस्था देखेर उनका बुवाआमा पनि निकै दुःखी भए । उनीहरूले सदाकोको उपचारमा सबै उपाय अपनाए ।
उपचारका क्रममा सदाको अस्पतालमा थिइन् । एक दिन उनलाई भेट्न उनको सबैभन्दा मिल्ने साथी चिजुको अस्पताल आइन् । चिजुकोले सदाकोको स्वास्थ्यलाभको कामना गर्दै ओरिगामी (कागजको फोल्डिङ) दिइन् । त्यतिबेला जापानमा एक प्रजातिको क्रेन (सारस) सय वर्षसम्म बाँच्ने मान्यता थियो । साथै जापानमा ओरिगामी क्रेन (सारस) लाई शान्तिको प्रतीक मानिन्थ्यो । सोही क्रेनको कथामा आधारित संस्कृतिलाई जापानमा ओरिगामी क्रेनका रूपमा बुझिन्छ । ओरिगामी कलामा विभिन्न आकार र आकृतिका सारस बनाउन कागज मोडिन्छ । जापानी संस्कृतिको अभिन्न अङ्ग ओरिगामी जापानी समाजमा अहिले पनि उत्तिकै प्रचलित छ ।
जापानमा प्रचलित सांस्कृतिक मान्यता अनुसार कुनै व्यक्तिले हजार वटा ओरिगामी क्रेन मोड्न सके उसको मनोकाङ्क्षा पूर्ण हुने हुन्छ । यो कुरा चिजुकोले सदाकोलाई सुनाइन् ।
त्यसपछि सदाकोले आत्मबल बटुलिन् । ल्युकेमियाबाट उन्मुक्ति पाएर पुनः जीवन पाउन कागज मोडेर एक हजार क्रेन बनाउन सुरु गरिन् । अस्पतालको शय्यामै उनले एक हजार ओरिगामी क्रेन (कागजका सारस) बनाउने क्रममा पाँच सय वटा कागजका सारस बनाइसक्दा उनलाई सञ्चो महसुस हुन थाल्यो ।
त्यसपछि डाक्टरले उनलाई केही समय घर फर्कन दिए तर घर गएको एक साता नबित्दै सदाकोको रोग फेरि बल्झियो । उनलाई पुनः अस्पताल भर्ना गरियो ।
त्यति बेलासम्म सदाकोलाई रोगले निकै च्यापिसकेको थियो । दुःखाइ निकै बढेको थियो । पीडा र कष्ट भए पनि सदाकोले ओरिगामी क्रेन बनाउन छाडिनन् । बाँच्ने आशा जीवित राखिरहिन् । दुःखको कुरा मृत्युसँगको लडाइँमा उनी हार्न पुगिन् । बुवाआमाकै अगाडि उनी सदाका लागि बिदा भइन् ।
मृत्युवरण गर्दासम्म सदाकोले छ सय ४४ वटा ओरिगामी क्रेन बनाइसकेकी थिइन् । त्यसपछि सदाकोले बनाउन बाँकी तीन सय ५६ ओरिगामी क्रेन उनका साथीहरूले बनाएर उनको समाधिमा चढाए । यद्यपि हिरोसिमा शान्ति स्मारकमा भने सदाकोले हजार वटा नै ओरिगामी क्रेन बनाएको तथा थप तीन सय क्रेन बनाउँदा बनाउँदै उनले अन्तिम सास लिएको उल्लेख छ । सदाकोको निधनपछि उनको शव मानव शरीरमा परमाणु बमले पार्ने असर अध्ययनका लागि परीक्षण गरी अन्त्येष्टि गरिएको थियो ।
सदाकोको मृत्युले उनका आमाबुवा, साथीहरू सबै निकै दुःखी बने । त्यसपछि ३९ जना साथीले मिलेर सदाकोको स्मृतिमा ओरिगामी क्रेन क्लब नै गठन गर्ने निर्णय गरे । सो खबर जापानभित्र र बाहिर सबैतिर फैलियो । सो कार्यमा सबैतिरबाट सहयोग प्राप्त भयो । जापानका विभिन्न विद्यालयका ३१ सय विद्यार्थीले चन्दा सङ्कलन गरे । सोही रकमबाट सन् १९५८ मे ५ का दिन सदाकोको सम्मान र परमाणु बमको प्रभावबाट मरेका सबै बालबालिकाको सम्झनामा एक बाल शान्ति स्मारक बनाइयो ।
बाल शान्ति स्मारक हिरोसिमाको परमाणु बम विस्फोट क्षेत्रको शान्ति पार्कमा रहेको छ । बाल शान्ति स्मारकमा रहेको सदाकोको मूर्तिमा एक ठूलो कागजको क्रेन माथि उठाइएको छ । सदाकोको मूर्तिको पञ्जामा रहेको शिलालेखमा ‘यो हाम्रो पुकार हो ! यो हाम्रो प्रार्थना हो ! विश्वमा शान्ति होस् !’ उल्लेख गरिएको छ ।
जापानका बालबालिका हरेक वर्ष बाल शान्ति स्मारक पुगेर सदाकोलाई सम्झछन् । सन् १९५८ देखि आजसम्म हजारौँ मानिसले हिरोसिमा शान्ति स्मारक पार्कमा सदाकोको मूर्तिको दर्शन गरेका छन्, श्रद्धाका फूल चढाएका छन् ।