• ११ पुस २०८१, बिहिबार

‘दुर्गम बस्तीमा स्थानीय सरकारको अनुभूति गराएका छौँ’

blog

सूर्यबहादुर घर्ती अध्यक्ष, निसीखोला गाउँपालिका

बागलुङका १० स्थानीय तहमध्ये निसीखोला गाउँपालिका दुर्गम र विकट पालिका हो । साबिकका देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत गरी चार वटा गाउँ विकास समिति समावेश गरेर सात वटा वडामा विभाजन गरी निसीखोला गाउँपालिका गठन भएको हो । 

यस गाउँपालिकाको सिमाना पूर्वमा ढोरपाटन नगरपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा ढोरपाटन सिकार आरक्ष र पूर्वी रुकुम जिल्ला तथा दक्षिणमा बडीगाड गाउँपालिका र प्युठान जिल्लासम्म फैलिएको छ । भौगोलिक रूपमा दुर्गम यस गाउँपालिका हुँदै मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यहाँको दैनिकी बदलिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी सरकारी सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र सेवा प्रवाहबारे भएका उपलब्धीका सम्बन्धमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीसँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : 

यहाँ निर्वाचित भएर आएपछि गाउँपालिकामा भएका कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

निसीखोला गाउँपालिका बागलुङकै दुर्गम पालिका हो । स्थानीय तह कार्यान्वयनमा आएसँगै जनप्रतिनिधि निर्वाचित भएर आएपछि निसीखोला विकास र समृद्धिको यात्रा अगाडि बढेको छ । स्थानीय सरकारको अनुभूति हुने गरी पालिकावासीलाई सेवा प्रवाह भएको छ । विकास निर्माणलाई अगाडि बढाइएको छ । 

पछिल्लो स्थानीय तहको निर्वाचनपछि जनताको आशा र अपेक्षा अनुसार काम गर्ने हाम्रो प्रयास छ । गाउँपालिकाको प्रत्येक वडामा कच्ची सडक पु¥याएका छौँ । खानेपानीको समस्याबाट पालिकावासीलाई मुक्त गर्न सामूहिक धारामार्फत भए पनि शुद्ध खानेपानीको पहुँच पु¥याएका छौँ । प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेका छौँ । विकट र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह गरिएको छ । 

चार वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएका छन् । गाउँघर क्लिनिकमार्फत स्वास्थ्य सेवा प्रवाह गरेका छौँ । विद्युतीकरण नभएको वडा नम्बर ५ को निसेलढोरमा गाउँपालिकाको पहलमा सोलार वितरणको तयारी गरिएको छ । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी उपलब्ध गराएर पठनपाठनलाई सहज बनाएका छौँ । कृषि तालिम, अनुदान र उपकरण पनि वितरण गरेका छौँ । पशुपालनतर्फ प्रत्येक वर्ष रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरेका छौँ । पर्यटकीय स्थलको प्रवर्धनका लागि डिपिआर बनाएर योजना अगाडि बढाएका छौँ । पालिकास्तरको अस्पताल भवन निर्माण भएको छ । पालिकाभित्र रहेका ढुङ्गाखानी सञ्चालनका लागि पहल थालेका छौँ । गाउँपालिकाले नगरबस सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।  


राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले निसीखोला गाउँपालिकामा के कस्तो प्रभाव पारेको छ ? 

एक दशकअघिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेका छन् । सदरमुकाम बागलुङ बजार, प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जान निकै सहज भएको छ । मध्यपहाडी लोकमार्गले गाउँपालिकाका धेरै बस्तीलाई आवतजावत गर्न सहज बनाइदिएको छ । सदरमुकाम जान पहिला दुई दिन लाग्थ्यो भने अहिले एकै दिनमा पुग्न सकिने भएको छ । लोकमार्गसँग जोडिएपछि यहाँको विकासले गति लिन थालेको छ । लोकमार्गले यहाँका छ वटा वडालाई जोडेकाले स्थानीयलाई आवतजावतमा सहज भएको छ ।  


निसीखोला गाउँपालिकामा पर्यटन विकासको कत्तिको सम्भावना छ ? 

हाम्रो गाउँपालिकामा पर्यटनको राम्रो सम्भावना छ । पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचारप्रसार गरी पूर्वाधार निर्माण थालेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलमा परेका पर्यटकीय गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रूपमा लागेको छ ।

वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौबहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको वराह मन्दिर निसीखोला गाउँपालिकाका प्रमुख गन्तव्य हुन् । पूर्वी रुकुमसँग जोडिएको रिगताल, रोल्पासँग जोडिएको जन्तेढुङ्गा, प्युठानसँग जोडिएको नाङ्गेधुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रवर्धन र प्रचारप्रसारमा जुटेका छौँ । नरसिंहकोट, रिगताल, अर्नाकोट, नौबहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी र निसेलढोरको विकासका लागि गुरुयोजना तयार पारेर प्रदेश र सङ्घ सरकारसँग योजना माग गरेका छौँ । 

स्थानीयवासीको आयआर्जन बढाउन के कस्ता कार्यक्रम सञ्चालन भएका छन् ? 

पालिकावासीलाई आयआर्जनसँग जोड्नका लागि गाउँपालिकाले किसानलाई तालिम, कृषि उपकरण र अनुदान उपलब्ध गराउने कार्यक्रम छ । भौगोलिक बनावट, हावापानी र स्थानीयको माग अनुसार वडा नम्बर ५ र ६ मा स्याउ खेती विस्तार गर्न गाउँपालिकाले किसानलाई प्रोत्साहन गरेको छ । जाउलेपानी, मापुक, चोरबास र कोस्का क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । स्याउ खेती विस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउन थालेका छन् । युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरी उत्पादनसँग जोड्नका लागि स्याउ खेतीमा पालिकाले जोड दिएको छ । उत्पादनसँग जोड्ने र युवालाई गाउँमै स्वरोजगार बनाउने पालिकाको योजना छ । महिलालाई सिपमूलक तालिम दिएर उद्यमी बनाउने हाम्रो प्रयास छ । 


प्रदेश र सङ्घीय सरकारसँग कसरी सहकार्य गर्नुभएको छ ? 

सङ्घ र प्रदेश सरकारबाट आशा गरे अनुसार बजेट प्राप्त हुन सकेको छैन । सडक विस्तारतर्फ केही योजना आएका छन् तर निर्माण व्यवसायीलाई समयमै रकम भुक्तानी गर्न नसक्दा विकास योजनाले गति लिन सकेका छैन । सङ्घीय सरकारमार्फत गाउँपालिकाका विभिन्न स्थानमा पुल आठ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । वडा नम्बर १ र ७ लाई जोड्ने हर्के–पाखापानी सडक योजना अगाडि बढे पनि बजेट कमी भएकाले निर्माण कार्य प्रभावित भएको छ । प्रदेश र सङ्घमा हाम्रो पहुँच नपुगेकाले आशा गरे अनुसार विकास योजना ल्याउन सकिएको छैन । 


यस गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा के कस्ता योजना सञ्चालित छन् ? 

दुर्गम बस्ती वडा नम्बर ५ निसेलढोरमा स्वास्थ्य एकाइ स्थापना गरेका छौँ । वडा नं. २ मा पनि आन्तरिक बजेटबाट स्वास्थ एकाइ सञ्चालन गरेका छौँ । स्वास्थ्य चौकीमा आवश्यक दरबन्दी नभएकाले समस्या भएको छ । अधिकांश स्वास्थ्य चौकीमा आवश्यकता अनुसार जनशक्ति छैनन् । गाउँपालिकाको आन्तरिक स्रोतबाट जनशक्ति भर्ना गरेर सेवा दिएका छौँ । छरिएका बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घन्टौँ लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए । 

हामीले पालिकावासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य चौकीको स्थापना र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छौँ । वडा नम्बर ४ को झिम्पामा पालिकास्तरीय अस्पताल भवन निर्माण भएको छ तर निर्माण व्यवसायीले पूरा रकम नपाउँदा हस्तान्तरण भएको छैन । अस्पतालका लागि आवश्यक अन्य भौतिक सामग्री र दक्ष जनशक्ति व्यवस्थापनको समस्या पनि छ । हरेक नागरिकले कम्तीमा आधा घण्टाको दुरीमा सामान्य स्वास्थ्य सेवा पाउने गरी पालिकाले व्यवस्था मिलाएको छ । 


शैक्षिक सुधारका के कस्ता कार्यक्रम र योजना बनाउनुभएको छ ?

प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षालाई जोड दिएका छौँ । गाउँपालिकाभित्र रहेका आधारभूत तह र माध्यमिक तहमा आन्तरिक बजेटबाट शिक्षक भर्ना गरेर पठनपाठनको व्यवस्था मिलाएका छौं । यहाँका अधिकांश विद्यालयमा सरकारको दरबन्दी छैन । आदिवासी जनजाति समुदायको बाहुल्य रहेको यहाँ मगर भाषामा पाठ्यपुस्तक तयार गरी पठनपाठनको व्यवस्था गरिएको छ । शून्य दरबन्दी भएका विद्यालयमा पालिकाले बजेट व्यवस्था गरी शिक्षक भर्ना गरिएको छ । 


चुनौती र समस्या के कस्ता छन् ? 

विकास निर्माण गर्न बजेट अभाव छ । शिक्षातर्फ दरबन्दी शून्य छ । विषयगत शिक्षकको अभाव छ । विद्यालयमा पूर्वाधार पनि छैन । कृषि उत्पादन वृद्धि गर्ने गरी किसानलाई प्रोत्साहन गर्न बजेट अभावले सकिएको छैन । भौगोलिक विकटता र छरिएका बस्ती भएकाले विकास निर्माण गर्न कठिनाइ छ । आर्थिक विपन्नता र न्यून चेतनास्तर मुख्य चुनौती हो ।