काठमाडौं, पुस १५ गते । पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डी कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डी आवश्यक पर्छ ।
मुटुका मांसपेशी र रक्तनली बलियो बनाउनको लागि भिटामिन डी शरीरलाई आवश्यक रहेको मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई बताउनुहुन्छ ।उहाँका अनुसार भिटामिन ‘डी’ शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण भिटामिन हो ।
चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डी आवश्यक पर्छ ।
भिटामिन डी ले हड्डी, रक्तनली, मुटुका मांसपेशी र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ । घरभित्र नै काम गर्ने, सूर्यको प्रकाशमा नबस्ने मानिसमा भिटामिन डी को कमी हुने उहाँ बताउनुहुन्छ । जाडोमा घाम कम लाग्ने हुँदा अन्य बेलाको तुलनामा जाडोमा यो समस्या बढी देखिन्छ । उहाँका अनुसार भिटामिन डी बिहानको घामबाट प्राप्त गर्न सकिन्छ ।
जाडोमा मुटुको समस्या हुन नदिन मुटु बलियो बनाउन बिहान आधादेखि एक घण्टा घाम ताप्न उहाँको सुझाव छ । भिटामिन डिले मुटुलाई मात्र होइन सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ ।
भिटामिन ‘डी’ के हो ?
डा. भट्टराईका अनुसार भिटामिन ‘डी’ शरीरको विकासका लागि आवश्यक पर्ने भिटामिन हो । भिटामिन डी हड्डी मांसपेशीको विकासका लागि निकै फाइदाजनक छ । त्यसका अलावा भिटामिन डी ले सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ‘डी’ ले शरीरको मांसपेशी मुटु, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने डा. भट्टराई बताउनुहुन्छ । दाँत बलियो बनाउन मद्दत गर्छ । शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा सन्तुलन राख्ने, स्तन र आन्द्रा क्यान्सर हुने सम्भावना कम गराउँछ । हड्डीसम्बन्धी रोगहरू कम गर्छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
भिटामिन ‘डी’ कसरी काम गर्छ ?
उहाँका अनुसार सूर्यको प्रकाश छालामुनि भएको कोलेस्ट्रोलमा पर्यो भने त्यही कोलेस्ट्रोल भिटामिन ‘डी’ मा परिवर्तन हुने गर्छ । भिटामिन डी मिर्गौला र कलेजोमा बन्ने गर्छ । भिटामिन ‘डी’ ले शरीरमा विभिन्न प्रक्रियाद्वारा शरीरमा चाहिने क्याल्सियम फस्फोरस सोस्ने क्षमता बढाउनुको साथै शरीरको विभिन्न भागलाई स्वस्थ्य राख्न मद्दत गर्छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य विकास गर्न, नवजात शिशुको तौल सन्तुलन राख्न, प्रतिरक्षात्मक क्षमताको विकास गर्न, गर्भवतीको रक्तचाप सामान्य राख्न मद्दत गर्छ ।
भिटामिन ‘डी’ को कमी किन हुन्छ ?
पाँच वर्षमुनिका बालबालिका, ६५ वर्ष भन्दामाथि उमेर समूह, गर्भवती, स्तनपान गराउने आमा, घाममा थोरै समय बिताउने, पाचन प्रणाली कमजोर भएका, कलेजोको बिरामी, मिर्गौला रोगी, राति काम गर्ने मानिसमा भिटामिन ‘डी’ को कमी हुने चिकित्सक बताउँछन् ।
भिटामिन ‘डी’ कमीले कस्ता लक्षण देखिन्छ
भिटामिन ‘डी’ को कमीले थकाइ लाग्ने, अल्छी लाग्ने, मांसपेशी कमजोर हुने, ढाड, खुट्टा, पैताला दुख्ने, झमझम गर्नेजस्ता लक्षण देखिन्छन् ।
डा. भट्टराईका अनुसार भिटामिन ‘डी’ को कमीले थकाइ लाग्ने, अल्छी लाग्ने, मांसपेशी कमजोर हुने, ढाड, खुट्टा, पैताला दुख्ने, झमझम गर्ने, दिमागले एकीकृत तरिकाले काम गर्न नसक्ने, चिडचिडापन हुने, बच्चाहरूमा हड्डीको राम्रोसँग विकास नहुनेजस्ता लक्षण देखिन्छन् । शरीरमा भिटामिन डी को कमी भए नभएको रगत जाँच गरेर मात्र पत्ता लगाउन सकिने उहाँ बताउनुहुन्छ।
भिटामिन ‘डी’ कसरी प्राप्त गर्ने
डा. भट्टराईका अनुसार भिटामिन डी को उपचार विशेषगरी दुई किसिमले गर्न सकिन्छ । भिटामिन डी युक्त खानेकुरा खाएर र बिहानको घाममा कम्तीमा आधादेखि एक घण्टा ताप्दा भिटामिन डीको पूर्ति गर्न सकिन्छ । भिटामिन डी धेरै कम छ भने चिकित्सकको सल्लाह बमोजिम भिटामिन डी युक्त औषधीको प्रयोग गरेर पनि शरीरमा भिटामिन डीको पूर्ति गर्न सकिन्छ ।
भिटामिन ‘डी’ पाइने स्राेत
खानेकुरामा अण्डाको पहेँलो भाग, माछा, तोफु, चिज, सूर्यको किरण, च्याउ, पौष्टिक आहारमा भिटामिन ‘डी’ पाइन्छ । माछाजन्य परिकार विशेषगरी समुन्द्री खानेकुराबाट भिटामिन डी प्रशस्त मात्रामा पाउन सकिन्छ । त्यसका अलावा कलेजोमा, बदाम, कटुस, हाडे बदाममा भिटामिन डी प्रशस्त मात्रामा पाइन्छ ।