द न्युयोर्क टाइम्स (नोभेम्बर ५, २०१६) मा ‘माई डेथबेड प्लेलिस्ट’ शीर्षकमा एउटा लेख छापियो । जुन धेरैलाई अप्रिय लाग्ने खालको थियो । लेखक थिए, अमेरिकी पाइटल मार्क भ्यान्होन्याकर । जो आफ्नो जीवनयात्राको चालिसको मध्यतिर हिँड्दै थिए । उनले लेखमा आफू मृत्युशय्यामा रहँदा सुन्ने गीतको सूची अहिलेदेखि नै तयार पार्न उद्धत रहने उल्लेख गरेका थिए ।
जीवनको अन्त्यकालमा पुग्न काफी समय बाँकी नै रहेका व्यक्तिले मृत्युको तयारीमा जुटेको प्रतीत हुने विचार प्रवाह गर्दा धेरै पाठकलाई अचम्म लाग्नु स्वाभाविक थियो । यसबाट उनीहरूमा एक किसिमको वैचारिक आँधी पैदा भयो । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा लेखबारे पाठक प्रतिक्रियाको बाढी नै आयो ।
मार्क भ्यान्होन्याकरले आजैदेखि अन्त्यकालका लागि तयारी गर्नुको कारण खुलाएका छन् । उनले आफ्ना आमा–बा परलोक भएपछि उनको पारिवारिक साथी लुइसको साथ पाएका थिए । उनको मायालु उपस्थितिले आमा–बाको अनुपस्थितिले निम्त्याउने शून्यता र न्यास्रोपन मेटिन्थ्यो । एक दिन लुइस पनि संसारबाट बिदा भइन् ।
लुइस जीवनको लामो कालखण्ड सिम्फोनी आर्केस्ट्रामा स्वयंसेवकका रूपमा काम गर्थिन् । लुइसले बिरामी भएर अस्पतालमा जीवनका अन्तिम पलहरू गुजार्दै गर्दा परिवारजनको सल्लाहमुताबिक उनलाई सेलोवादक ‘यो यो मा’ ले बजाएको सेलो सुनाइयो । जुन उनी अक्सर सुन्ने गर्थिन् । मृत्युशय्यामा सङ्गीत सुन्दै गरेको घडीमा शान्तिपूर्ण तवरमा लुइसको प्राणपखेरु उडेर गयो ।
लुइसले सङ्गीत सुन्दै संसारबाट बिदा भएको घटनाको वर्णन गर्दा मार्क भ्यान्होन्याकरले अर्को त्यस्तै प्रसङ्ग अघि सारेका छन् । त्यो के भने असाध्य रोग लागेर अमेरिका लगायत संसारका विभिन्न अस्पतालमा पीडादायी पलका साथ मृत्यु पर्खिराखेका बिरामीलाई म्युजिक थेरापिस्टले गीत सुनाउने तथा वाद्ययन्त्र बजाएर खु्सी तुल्याउने चलनको उनले स्मरण गरेका छन् ।
उनले अर्को रोचक ऐतिहासिक साङ्गीतिक प्रसङ्ग पनि सम्झेका छन् । १५ औँ शताब्दीका फ्रान्सेली सङ्गीतकार फ्रान्को–फ्लेमिसले आफ्नो सक्रिय जीवन छँदै आफू मृत्युशय्यामा पुग्दा सुन्नका लागि आफूलाई मन पर्ने सङ्गीत रोजेर छाडेका थिए । ती सङ्गीत उनी मृत्युशय्यामा रहँदा सुनाइएको थियो ।
मार्क भ्यान्होन्याकरको जीवन भोगाइले जीवनको अन्तिम पलमा सङ्गीत एउटा भरपर्दो साथी हुन सक्छ भन्ने सन्देश दिएको छ । उनले हामीलाई नजानिँदो किसिमले मृत्यु–चेतना र ‘मृत्यु सङ्गीत’ को शाश्वत चेत पनि घुसाइदिएका छन् । समग्रमा ‘मृत्यु सङ्गीत’ शब्दावली सुन्दा जति नै अप्रिय लागे पनि जीवनको वास्तविकता हो ।
नेपाली समाजमा मृत्यु सङ्गीत
हाम्रो समाजले मृत्यु र सङ्गीतलाई एकअर्काबीच विपरीत सम्बन्ध रहेको विषय ठानेझैँ प्रतीत हुन्छ । गाउँठाउँमा कसैको देहान्त भएको बखत नाचगान बन्द गरिन्छ । सिङ्गो समुदाय शोकमग्न बन्न पुग्छ । यस किसिमको शोकपूर्ण घडीमा नाचगानलगायत सबै मनोरञ्जनमूलक गतिविधिलाई त्यागिन्छ, जुन हाम्रो समाजको सामान्य लोकरीत वा मृत्यु संहिता हो ।
हाम्रो लोकरीत वा मृत्यु संहिताले सङ्गीतलाई एक किसिमले वर्जित गरे झैँ देखिए पनि फेरि हाम्रै समाजले मृत्युका बेला अर्को किसिमले सङ्गीतलाई राम्रैसँग अङ्गीकार गरेको पाइन्छ । खोजीपस्दा यसबारे अनेकौँ दृष्टान्त भेटिन्छन् ।
हामीकहाँ बौद्ध तथा बोन परम्परा अनुसार अन्त्येष्टि कार्यमा मौखिक वा लिखित शास्त्रपाठ गर्दै झ्याली, ढ्याङ्ग्रो तथा शङ्ख बजाउने गरिन्छ । यति मात्र होइन लामा वा घ्याब्रे पुरोहित ढ्याङ्ग्रो तथा झ्यालीका तालमा शवलाई फन्को मारेर नाच्ने समेत गर्छन् ।
यसै गरी हिन्दु परम्परामा शवको अन्त्येष्टि कार्य गर्दा एकोहोरो शङ्ख फुक्ने र मन्त्रोच्चारण गर्ने चलन छ । काठमाडौँ उपत्यकाका नेवार समुदायभित्रका विभिन्न उपसमूहमा कोही परलोक हुँदा अनेकन् बाजागाजासहित शवलाई घाटतिर लैजाने चलन छ । यस्तो दृश्य अझै पनि देख्न सकिन्छ ।
कसैको मृत्युमा आफन्तजन (खासगरी महिला) को रुवाइमा पनि ‘मृत्यु सङ्गीत’ को छनक मिल्छ । अर्थको अनर्थ नहोस्, त्यस्तो पीडाबोधक रुवाइमा पनि सङ्गीतको लय भेटिन्छ । यही विषयलाई लिएर मधुराज केरुङले कान्तिपुर (भदौ १, २०८१) मा ‘जहाँ लयमा रुन्छन् आमाहरू’ शीर्षकमा दुर्लभ प्रकृतिको लेख लेखेका छन् ।
त्यस लेखमा केरुङले लेख्छन्, लिम्बूनी आमाहरू मृत्यु–शोकमा खास शब्द र लयमा रुने गर्छन् । उनीहरूको रुवाइले जोकसैको पनि हृदय विदीर्ण हुन्छ । यसलाई लिम्बू भाषामा ‘हाम्लक्वा’ छन्द भनिन्छ । यसरी रुँदा आफसेआफ बाह्य अक्षरमा मात्रा सन्तुलन हुन पुग्छ । यस रुवाइको मुन्धुमी आख्यान अरुणखोला जत्तिकै पुरानो छ, तमोर खोलाजत्तिकै लामो छ ।
परिवारका कुनै सदस्य परलोक हुँदा प्रियजन, आफन्तजन तथा छरछिमेकका महिला भेला भई भाका हालेर रुने चलन दुरा, गुरुङ, मगर आदि समुदायमा पनि छ । “हाम्लाई किन माया मारेको ।”, “हाम्लाई किन छोडेर गएको ।” जस्ता विलापपूर्ण शब्दावली उच्चारण गर्दै सामूहिक रूपमा रुँदा रोदनको लय तयार हुन पुग्छ ।
हाम्रो समाजले कुनै समयमा भोगेको क्रूर सतीप्रथामा पनि ‘मृत्यु सङ्गीत’ को अंश रहेको देखिन्छ । लेखक तथा अन्वेषक सुजित मैनालीले सतीप्रथासँग जोडिएको पीडादायी साङ्गीतिक आयामलाई उजागर गरेका छन् । मैनालीले आफ्नो कृति सती : इतिहास र मीमांसा मा सतीलाई आगोले पोल्दैनथ्यो भन्ने भान पार्नकै लागि सतीको चित्कार छोप्ने गरी घाटमा बाजागाजा बजाउने र मलामीले चर्को स्वरमा सतीको जयजयकार गर्ने चलन बसालिएको चर्चा गरेका छन् ।
‘मृत्यु सङ्गीत’ आधुनिक संस्कृतिको हिस्सा पनि बन्दै गएको देखिन्छ । हामीलाई थाहै छ राष्ट्रप्रमुख तथा सरकार प्रमुखको देहान्त हुँदा रेडियो तथा टेलिभिजनमा शोक धुन प्रसारण गर्ने चलन छ । राष्ट्रियस्तरमा ख्याति कमाएका व्यक्तिको निधनमा प्रहरी वा सैनिकद्वारा ब्यान्डबाजाका साथ अन्तिम सलामी अर्पण गर्ने चलन छँदै छ ।
विश्वमा मृत्यु सङ्गीतको अभ्यास
हाम्रो देशमा मात्र होइन संसारैभरि कुनै न कुनै रूपमा ‘मृत्यु सङ्गीत’ प्रचलनमा रहेको पाइन्छ ।
छिमेकी मुलुक भारतको विविधतापूर्ण समाजमा अलग–अलग किसिमका ‘मृत्यु सङ्गीत’ प्रचलनमा छ । हिन्दु, बौद्ध, इसाई, सुफी आदि समुदायमा आआफ्नै ढाँचा शैलीका ‘मृत्यु सङ्गीत’ अस्तित्वमा छन् । यी समुदायको ‘मृत्यु सङ्गीत’ मा यथेष्ट स्थानीय संस्करण रहेको अध्येताहरूले चर्चा गरेको देखिन्छ । रथ स्टोन, डेभिड सुल्मन, टिमोथी टेलर, अल्फ्रेड जेल, बारबारा व्याकक, मकरंद परांजपेलगायत आआफ्नो क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वले भारतीय संस्कृतिमा विद्यमान ‘मृत्यु सङ्गीत’ बारे विशद अध्ययन तथा विश्लेषण गरेका छन् ।
अर्को छिमेकी मुलुक चीन ‘मृत्यु सङ्गीत’ का दृष्टिले पनि धनी छ । त्यहाँका कतिपय ठाउँमा त पेसेवर रोदनकर्तालाई प्रयोग गरी रोदनपूर्ण शोकगीत गाउने चलन रहेको पढ्न पाइन्छ । यस्ता शोकगीतमा मृतकका गुण र सतकर्मको प्रशंसा पनि गरिन्छ । चीनको हान समुदायमा वाद्यवादनका साथ शोकगीत गाउँदै मृतकको आत्मालाई परलोक जान सहजीकरण गर्ने तथा शोकसन्तप्त परिवारजनलाई सान्त्वना दिने परिपाटी रहेको चर्चा वेइ झाङ र युफेई फेइले एसियन म्युजिक जर्नल (सन् २०२१) मा प्रकाशित एक शोधपत्रमा गरेका छन्
(झाङ र फेई, २०२१) ।
दक्षिणपूर्वी एसियामा पनि ‘मृत्यु सङ्गीत’ को समृद्ध परम्परा छ । इन्डोनेसियाको जाभा तथा बाली द्वीपमा अन्त्येष्टि कार्यमा गमेलान सङ्गीत (Gamelan Music) नामक सङ्गीत प्रचलित छ । यस अन्तर्गत सङ्गीतका साथ मन्त्रोच्चारण गरी मृत्यु संस्कार अघि बढाइन्छ ।
डेभिड हार्निस र अन रासमुसेनले इथ्नोम्युजिकोलोजी रिभ्यु जर्नलमा सन् २०२१ मा प्रकाशित साउन्डिङ स्पिरिटस् : म्युजिक इन साउथ एसियन डेथ रिचुअल्स् शीर्षक शोधपत्रमा परम्परागत ‘गमेलान सङ्गीत’ ले खेल्ने आध्यात्मिक भूमिकाबारे चर्चा गरेका छन् । लेखका अनुसार ‘गमेलान सङ्गीत’ ले मृत्युपछिको यात्रामा परलोकीय यात्रामा मृतकलाई मार्गदर्शनका गर्नुका साथै शोकबाट उब्जिएका नकारात्मक ऊर्जालाई निस्तेज गर्न सहयोगी भूमिका खेल्छ ।
इन्डोनेसियाकै तोराजा समुदायमा यस्तै प्रकृतिको अर्को ‘मृत्यु सङ्गीत’ प्रचलनमा छ । इथ्नोम्युजिकोलोजी रिभ्यु जर्नलमा सन् २०१९ मा प्रकाशित म्युजिक एन्ड मोरालिटी इन साउथइस्ट एसिया शीर्षक शोधपत्रमा इन्डोनेसियाको तोराजा समुदायमा हुने अन्त्येष्टि समारोहमा गम्बुस (Gambus) नामक सङ्गीतका साथ मन्त्र जप गरिन्छ । जसमार्फत मृत व्यक्तिको आत्माप्रति श्रद्धाभाव प्रकट गरिन्छ र उसको परलोकीय यात्रालाई सहज तुल्याउने प्रयत्न गरिन्छ ।
यसै गरी जोन स्मिथले क्रिश्चियन समुदायमा प्रचलित ग्रेगोरियन मन्त्रोच्चारण परम्पराबारे चर्चा गरेका छन् । स्मिथले आफ्नो पुस्तक ग्रेगोरियन च्यान्टस् एन्ड क्रिश्चियन फ्युनेरल राइटस् (सन् २०१५) मा अन्त्येष्टिमा ग्रेगोरियन शैलीको लयबद्ध मन्त्रोच्चारणमार्फत मृत्युवरण गरेर मृतकको आत्माको शान्तिका लागि प्रार्थना गरिन्छ ।
पूर्वी गोलार्धमा झैँ पश्चिमी गोलार्धमा ‘मृत्यु सङ्गीत’ को अभ्यास यथेष्ट भेटिन्छ । आयरल्यान्ड पनि यसबाट अलग छैन । आयरल्याडेली लेखिका मेरी ओडेनेलले फोरलोर स्टडिजमा सन् २०२० मा छपाएको शोधपत्रका अनुसार समुदायमा कसैले मृत्युवरण गर्दा महिलाले लयबद्ध शब्दका साथ शोकगीत प्रस्तुत गरी मृतकप्रति श्रद्धाभाव व्यक्त गर्छन् ।
अमेरिकाको न्यु अर्लिन्समा ‘मृत्यु सङ्गीत’ को एउटा गजबको परम्परा छ । जहाँ कसैको मृत्यु हुँदा शोकपूर्ण धुन बजेपछि उत्साहजनक धुन बजाइन्छन् । जसले जीवन शोकपूर्ण घडीबाट पुनः उत्सवको लयमा फर्किएको सङ्केत गर्छ । हुन पनि आफन्त छाडेर गएपछि विलाप मात्र गरेर कहाँ जिन्दगी चल्छ र ? एक पटकको जुनीमा विलापपछि जीवनको सामान्य लयमा नफर्किएर सुखै छैन । हामीलाई अप्रिय लागे पनि जीवनको वास्तविकता यही नै हो ।
सन् २०२० मा लिजा स्मिथले न्यु अर्लिन्समा प्रचलित ‘मृत्यु सङ्गीत’ बारे अम्यारिकन फोकलोर जर्नलमा ज्याज फ्युनेरल्स इन न्यु अर्लिन्स : फ्रम मर्निङ टु सेलिब्रेसन शीर्षकमा शोधपत्र छपाइन् । उनी आफ्नो शोधपत्र लेख्छिन्, एकातिर शोक झल्कने र अर्कोतिर उत्सव प्रकट हुने यस प्रकारको अनौठो साङ्गीतिक अभ्यासले मृतकको सम्मान गर्ने र बाँचेकाको मनोबल उचो तुल्याउने काम गर्छ । यस किसिमको साङ्गीतिक परिपाटीले जीवन, मृत्यु र सङ्गीतबीचको अन्तरसम्बन्धबारे अनौठो दृष्टिकोण पस्कन्छ ।
अन्य समाजमा झैँ अफ्रिकी समाजमा पनि ‘मृत्यु सङ्गीत’ व्यापकस्तरमा अस्तित्वमा छ । अफ्रिकी समाज स्थानीय बाजागाजाका गुञ्जनका साथ मन्त्रोच्चारण गरिन्छ । जसले मृतकको आत्मालाई परलोकमा जान सहयोग गर्छ भन्ने लोकविश्वास छ । सन् १९९० मा छापिएको आफ्नो पुस्तक फ्युनेरल म्युजिक इन अफ्रिकन सोसाइटिज् मा जोसेफ ह्यान्सन निकेशाले अफ्रिकी भूगोलमा प्रचलित ‘मृत्यु सङ्गीत’ को गहन चिरफार गरेका छन् ।
निकेशाले आफ्नो कृतिमा अफ्रिकी समाजमा कसैको मृत्युमा शोक जनाउन, शोकसन्तप्त आफन्तजनलाई अपनत्वपूर्ण सान्त्वना प्रकट गरी स्नेहभावले सुम्सुम्याउन, मरणशील चोलाको आभास दिलाउन र पुर्खाप्रति श्रद्धाभाव प्रकट गर्न सङ्गीत कसरी प्रयोग भइरहेको छ भन्नेबारे विद्वतापूर्ण तरिकाले विचारविमर्श गरेका छन् ।
अहिलेको डिजिटल युगमा डिजिटल किसिमले मृत्यु–शोक मनाउने चलन पनि आएको देखिन्छ । मिडिया स्टडिज् क्वाटर्ली जर्नलमा सन् २०२० मा प्रकाशित डिजिटल डेथ ः म्युजिक एन्ड मेमोराइजेसन शीर्षक शोधपत्रमा मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्न डिजिटल प्लेटफर्ममा सम्बन्धित मृतकले आफ्नो जीवनकालमा मन पराएका गीतको ‘प्लेलिस्ट’ समावेश गर्ने चलन बढ्दो रहेको तथ्यलाई उजागर गरेका छन् ।
दार्शनिक आधार
विचारकहरूका दृष्टिमा सङ्गीत दिव्य वस्तु हो । स्कटल्यान्डेली दार्शनिक थोमस कार्लाइल त सङ्गीतलाई ‘देवदूतको भाषण’ भन्न रुचाउँछन् । जर्मन दार्शनिक आर्थर शोपेनहावरले सङ्गीतलाई ‘विश्वभाषा’ का रूपमा चित्रण गर्छन् । नित्से, हाइडेगर जस्ता जर्मनेली दार्शनिक तथा अन्य विचारकले आफ्ना गहन कृतिमार्फत सङ्गीतमा विद्यमान अथाह शक्तिमाथि व्यापक चिन्तन–मनन गरेका छन् । उनीहरूको चिन्तन–मननमा कुनै न कुनै रूपमा ‘मृत्यु सङ्गीत’ पनि जोडिएको छ ।
आर्थर शोपेनहावरले आफ्नो कृति द वल्र्ड एज विल एन्ड रिप्रिजेन्टेसन (सन् १८१८) मा सङ्गीतले शब्दको सीमाभन्दा परको संसार र मानव अनुभूतिलाई प्रतिनिधित्व गर्छ भन्ने विचार अघि सारेका छन् । सङ्गीतमा मानिसमा मृत्युचेतना विकास गर्ने तथा जिन्दगीको क्षणभङ्गुरता र मृत्युको व्रूफर वास्तविकतालाई आत्मसात् गर्न सघाउने शक्ति हुन्छ भन्ने उनको निचोड छ ।
दार्शनिक फेड्रिक नित्सेले सन् १८८२ मा प्रकाशित आफ्नो कृति दी गे साइन्स मा सङ्गीतले जीवनको क्षणभङ्गुरतालाई उत्सवका रूपमा स्वीकार गर्नाले जीवनको मूल्यलाई थप प्रबल बनाउने धारणा अघि सार्छन् । नित्सेले मृत्युलाई सकारात्मक रूपमा ग्रहण गर्न (यतिसम्म कि उत्सवका रूपमा मनाउन) का लागि सङ्गीत गतिलो माध्यम रहेको धारणा अघि सारेका छन् ।
यही मेहरोमा गुस्ताभ म्यालर जस्ता सङ्गीतकारका रचनाले मृत्युलाई खुला रूपमा स्वीकार्नुमा नै जीवनको सौन्दर्य अन्तरनिहित रहेको सन्देश दिएको छ ।
दार्शनिक मार्टिन हाइडेगरले सन् १९२७ मा प्रकाशित आफ्नो पुस्तक विइङ एन्ड टाइम मा यस दुनियाँमा समस्त प्राणी सीमित समयका लागि आएको र हरेक प्राणी प्रतिपल मृत्युतर्फ लम्किरहेको छ भन्ने तथ्यलाई ओजपूर्ण ढङ्गबाट प्रस्तुत गरेका छन् ।
हाइडेगरले प्राणीको जीवनचक्रलाई ‘मृत्यु–प्रभावित–जीवन’ भनी वर्णन गरेका छन । यसै सन्दर्भमा रेक्वियम्स ९चभत्रगष्झक० जस्ता अन्त्येष्टि सङ्गीतले श्रोतागणलाई मृत्युको अपरिहार्यलाई आत्मसात् गर्नका लागि मनोबल दिन्छ भनेर सङ्गीत अध्येताहरूले उद्घोष गर्दै आएका छन् । मृत्यु–चिन्तन घोलिएको यस सङ्गीतले मृत्युको भय निस्तेज पारेर दरिलो आत्मविश्वासका साथ जीवन जिउन प्रेरित गर्छ भन्ने उनको ठम्याइ छ ।
तिब्बती बौद्ध परम्पराका अध्येता डोनाल्ड लोपेजले सन् १९९८ मा प्रकाशित प्रिजनर्स् अफ साङ्ग्रिला नामक पुस्तक लेखेका छन् । लोपेजले आफ्नो पुस्तकमा बौद्ध परम्परामा आधारित ‘मृत्यु सङ्गीत’ ले मृत्युलाई रूपान्तरण प्रक्रियाका रूपमा चित्रण गर्छ तथा यस प्रकारको सङ्गीतले पुनर्जन्म र आध्यात्मिक निरन्तरतासँग जोडिएका मान्यतालाई सुदृढ बनाउँछ भन्ने धारणा पस्केका छन् ।
यी तमाम अभ्यासको आफ्नै अर्थ छ । मृत्यु संस्कारमा प्रयुक्त ‘मृत्यु सङ्गीत’ लाई विभिन्न कोणबाट व्याख्या विश्लेषण गरिएको पाइन्छ । क्यारोल ब्राउन र स्टिभन फेल्डले म्युजिक एन्ड ग्रिफ शीर्षक पुस्तकमा ‘मृत्यु सङ्गीत’ केवल सांस्कृतिक अभिव्यक्ति नभई यसले मृतकको परलोक यात्रालाई सहजीकरण गर्ने, शोकमा परेकालाई सान्त्वना दिने, कसैको मृत्युबाट पुगेको क्षतिलाई अनुभूत गर्न सघाउने जस्ता काम गर्ने विचार अघि सारिएको छ ।
आयरल्यान्डेली लेखिका मेरी ओडेनेलले फोरलोर स्टडिज मा सन् २०२० मा छपाएको शोधपत्र ‘मृत्यु सङ्गीत’ बारे चिन्तन गरेकी छन् । कसैको देहान्त हुँदा शोक व्यक्त गर्ने परिपाटीको औचित्य, मृत व्यक्तिप्रति श्रद्धाभाव व्यक्त गर्नुपर्ने आवश्यकता तथा दुःखको घडीमा सामुदायिक मेलमिलापको महत्वबारे ‘मृत्यु सङ्गीत’ ले गहिरो पाठ सिकाउने विचार ओडेनेलद्वारा अघि सारिएको छ ।
समग्रमा भन्नु पर्दा मृत्युसँग सम्बन्धित सङ्गीतले मानव जीवनको क्षणभङ्गुरताले निर्माण गरेको मृत्यु मनोविज्ञान, मृत्युको क्रूर वास्तविकता, मृत्युपछिको अभौतिक जीवन, मृत्युको आध्यात्मिक वा दार्शनिक मन्थन, मृत्यु–सौन्दर्य जस्ता पराभौतिक विषयलाई समेटेको देखिन्छ ।
मृत्यु गीत
हामी सांसारिक प्राणी भएकाले स्वाभाविक किसिमले सांसारिक माया–मोहमा फस्छौँ अनि मृत्युको अपरिहार्यलाई बिर्सेर त्यसलाई नकार्नतिर लाग्छौँ । सांसारिक माया–मोह र मृत्यु चेतनाबाट ‘मृत्यु गीत’ जन्मेको छ ।
हङ्गेरियाली सङ्गीतकार रेसो सेरेसले सन् १९३३ मा रचेको ‘ग्लुमी सन्डे’ नामबाट परिचित गीतलाई मृत्युसँग जोडेर हेर्ने गरिन्छ । यो गीत सिधै मृत्युसँग सम्बन्धित नभए पनि यसको निसृत भावबाट धेरै श्रोतागण अवसादग्रस्त अवस्थामा पुगेको चर्चा आजपर्यन्त चलिरहेकै छ ।
‘ग्लुमी सन्डे’ सुनेर विश्वमा कतिपय मानिसले आत्महत्या गरेको लख काटिन्छ । यही आधारमा यसलाई ‘आत्महत्या गीत’ भनेर पनि नामकरण गरिएको पाइन्छ ।
यद्यपि ‘ग्लुमी सन्डे’ सुनेर आत्महत्या गरेको वा नगरेको बारे कुनै अध्ययन नै नभएको, आत्महत्याको निश्चित आँकडा नभेटिएको र यो घटना मिथकका रूपमा मात्र विश्व जनमानसमा फैलिएको सङ्गीत इतिहासकारहरूले निष्कर्ष निकालेका छन् ।
नेपाली गीत तथा कवितामा अनेकन् संस्करणमा ‘मृत्यु सङ्गीत’ भेटिन्छन् । कविता तथा गीतमा बेजोड किसिमले मृत्यु चिन्तन तथा ‘मृत्यु सङ्गीत’ निम्त्याउने स्रष्टामा राष्ट्रकवि माधव घिमिरेको नाम अग्रपङ्तिमै आएको देखिन्छ । उनले मानिसले नश्वर चोला छाड्दाको ‘आदर्श मृत्यु परिवेश’ कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा ‘मृत्यु गीत’ रचेका थिए । जो उनकै चाहना अनुसार मरणोपरान्त मात्र सार्वजनिक भयो ।
राष्ट्रकवि माधव घिमिरेले कलिलै उमेरमा पत्नीवियोग बेर्होनु पर्यो । उनले ‘गौरी’ नामक शोककाव्यमार्फत पत्नीवियोग पाठकसमक्ष भावसञ्चार गरे । जुन लोकजीवनमा बहुचर्चित रह्यो ।
मानिसले स्वप्नावस्थामा मृत्युसँग यदाकदा साक्षात्कार गर्छ । राष्ट्रकवि घिमिरेले मानिसले स्वप्नावस्थामा मृत्युसँग साक्षात्कार गर्ने दुर्लभ अनुभूतिलाई पनि गीतमा उतारे । जुन नारायणगोपालको स्वरमा गुञ्जन थालेपछि श्रोतामाझ लोकप्रिय हुन पुग्यो । सोही गीतका केही हरफ :
आजै र राति के देखेँ सपना
मै मरी गएको, मै मरी गएको
वारि र पारि घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर
बैँसमा नमार, बैँसमा नमार....
यसै गरी महाकवि लक्ष्मीप्रसिद्ध देवकोटाको बहुचर्चित झ्याउरे काव्यधारा मुनामदनमा पनि पर्याप्त मृत्युचिन्तनबाट प्रेरित अभिव्यक्ति भेटिन्छन् । नायिका मुनाको देहान्त भएपछि शोकाकूल बन्न पुगेका नायक मदनले व्यक्त गरेको शोकपूर्ण क्रन्दनको एउटा सानो हिस्सा :
कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो निष्ठुरी भई कमलको शरीर
म कहाँ पाउँ ती मुनालाई छातीमा लगाउँ
खरानी तिनको देउ न मलाई छातीमा लगाउँ...
प्रस्तुत रचनालाई सांसारिक माया–मोह र मृत्यु चेतनाको चेपबाट जन्मिएको ‘मृत्यु गीत’ का केही दृष्टान्त मात्र मान्न सकिन्छ । खोजीपस्दा नेपाली लोकपद्य, लोकगीत, सुगम गीत पनि सांसारिक मोहजाल, मृत्यु–भय एवं मृत्युचिन्तनबाट निसृत ‘मृत्यु गीत’ का अनेकन् दृष्टान्त भेटिन्छन् ।
निष्कर्ष
‘मृत्यु सङ्गीत’ हरेक संस्कृतिमा कुनै न कुनै किसिमले अस्तित्वमा रहेको पाइन्छ । यो एक शक्तिशाली मानवीय अभिव्यक्ति हो । यसले आफन्तजन गुमाएकोमा व्यक्तिगत वा सामूहिक रूपमा शोक व्यक्त गर्ने, मृतकको परलोक–यात्रालाई सहजीकरण गर्ने, शोकलाई शक्तिमा बदल्ने अभ्यास गर्ने र दुःखको घडीमा समुदायलाई एकताबद्ध गर्ने गरेको पाइन्छ ।
‘मृत्यु सङ्गीत’ ले आध्यात्मिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक भूमिका निर्वाह गर्छ । यसले कसैको मृत्युको पीडादायी घडीमा मृतकको सम्मान गर्न शोकसन्तप्त परिवारजनलाई स्नेहपूर्ण सान्त्वनाले छोप्न, पीडाको घडीमा समुदायको सहभागिता कायम गर्न र सांस्कृतिक निरन्तरतालाई कायम राख्न सहयोग गर्छ । ‘मृत्यु सङ्गीत’ इथ्नोम्युजिकोलोजीको एउटा महत्त्वपूर्ण पक्ष हो, जसबारे गहन अध्ययन अपेक्षित छ ।