• १२ असार २०८१, बुधबार

गठबन्धनको प्रभाव : खुम्च्यायो महिला सहभागिता

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ८ गते । स्थानीय तह निर्वाचनमा जिल्लाका सातमध्ये दुईवटा गाउँपालिकामा मात्र महिला उपाध्यक्ष निर्वाचित भएका छन् । गठबन्धनका कारण उपाध्यक्षमा महिलाको उम्मेदवारी दुईवटा गाउँपालिका खुम्चिएको हो । 

उपाध्यक्षमा महिलामा निर्वाचित हुनेमा सिमकोट र चङ्खेली गाउँपालिका रहेका छन् । सिमकोटमा नेपाली काँग्रेसबाट सुशीला भाम रोकाया र नेकपा (एमाले)बाट प्रतिमा लामाबीचको प्रतिस्पर्धामा रोकाया निर्वाचित हुनुभएको हो । 

त्यसैगरी चङ्खेलीमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी मैना बुढा र नेकपा (एकीकृत समाजवादी)बाट प्रेमकला शाही प्रतिस्पर्धी हुनुहुन्थ्यो। समाजवादीका शाही विजयी हुनुभएको हो। 

नाम्खा, खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजाकोटको अध्यक्ष र उपाध्यक्षमा महिलाको उम्मेदवारी नै परेन । एउटा पार्टीले दुवै पदमा उम्मेदवारी दिनुपरेमा एक पदमा महिलालाई अनिवार्य गरिएको छ। 

काँग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले गठबन्धनका कारण कार्यकारी पदमा महिलाको उपस्थिति कम भएको स्वीकार गर्नुभयो । 

काँग्रेस पार्टीले सातवटा गाउँपालिकामध्ये दुईवटामा मात्र महिलालाई उपाध्यक्षमा उम्मेदवारी दिएको थियो । बाँकी सबैमा पुरुष उम्मेदवार थिए । उहाँले पार्टीमा पुरुष आकाङ्क्षी बढी हुनु र त्यसमाथि गठबन्धनका कारण महिला नेत्रीको व्यवस्था हुन नसकेको बताउनुभयो । 

गठबन्धनको भागबन्डाअनुसार हुम्लामा नेपाली काँग्रेसलाई सातमध्ये तीनवटा गाउँपालिका अध्यक्ष भाग परेको थियो । अध्यक्षमा भने सबै पुरुष उम्मेदवार निर्वाचित भएका छन् । चारवटा गाउँपालिकामा उपाध्यक्ष भाग परे पनि दुईमा महिला र दुईमा पुरुष उम्मेदवार बनाएको थियो । एमालेले चङ्खेली गाउँपालिकामा महिलालाई अध्यक्षमा उम्मेदवारी दिएको हो ।

सो गाउँपालिकामा एमालेको समर्थन अध्यक्ष पदका उम्मेदवार प्यारीलाल शाहीलाई गरेको थियो । सो पार्टीले नाम्खामा अध्यक्षमा उम्मेदवारी नदिए पनि उपाध्यक्षमा पुरुषले दिएको थियो । 

खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजाकोटमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थिएन । नेकपा (माओवादी केन्द्र)ले गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष पदमा भाग परे पनि कुनैमा पनि महिला उम्मेदवार उठाएको थिएन।