• ८ पुस २०८१, सोमबार

तनहुँमा महिलामाथि हुने हिंसा बढ्दै

blog

अमरराज नहर्की
तनहुँ, पुस ८ गते ।
तनहुँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा घरेलु हिंसा धेरै भएको र त्यसमा महिला बढी पीडित भएको देखिएको छ ।

जिल्लामा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ वटा घटना भएका छन् । ती घटनामध्ये ६४ महिला पीडित छन् । पुरुष पीडितको सङ्ख्या न्यून छ । पुरुष चार जना मात्रै पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्वको हालै दमौलीमा सार्वजानिक गरिएको थियो । अन्तरक्रियामा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२४ मा तनहुँमा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजानिक गर्नुभयो ।

यो अवधिमा भएको ७१ वटा मानवअधिकार उल्लङ्घनका घटनामा ६७ महिला र चार पुरुषसहित ७१ जना पीडित भएको उहाँले जानकारी दिनुभयो । भट्टराईका अनुसार  घरेलु हिंसातर्फ २८ वटा घटना भएका छन् । बलात्कार, बलात्कारका प्रयास र यौनजन्य दुर्व्यवहारतर्फ ३४ वटा घटना भएका छन् । बेचविखनमा एक, हत्यामा छ, कुटपिट दुर्व्यवहारमा दुई छ ।

हिंसा बढेकोमा सरोकारवालाको चिन्ता
यसैबिच घटना सार्वजानिक गरिएको कार्यक्रममा वक्ताहरुले मानवअधिकार उल्लङ्घनका घटना वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिंसा न्यूनीकरणका लागि सबै गम्भीर बन्नुपर्ने र सचेतना कार्यलाई व्यापकता दिनुपर्ने बताउनुभयो । सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानवअधिकारको संरक्षण हुने प्रजिअ थापाको भनाइ थियो । राज्यले कानुन कार्यान्वयनको क्रममा कसैलाई पनि भेदभाव नगर्ने भन्दै प्रजिअ थापाले उजुरी परेको घटनाका सबै पीडितले न्याय पाउने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरेन्द्रबहादुर शाहीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शून्य सहनशीलताको नीति लिएको बताउनुभयो ।

मानवअधिकारको संरक्षण र संवर्धनका लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै शाहीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो । 

नेकपा एमालेका तनहुँका उपाध्यक्ष राजेश्वर ढकालले सामजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैल्याएर मानव अधिकारको उल्लङ्घनका घटना बढिरहेको बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोगले मानव अधिकारको उल्लङ्घन भएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र संवर्धन हुने बताउनुभयो । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कल्पना पौडेलले मानवअधिकार हनन हुने प्रवृत्ति विगतको भन्दा फरक भएको भन्दै सामाजिक सञ्जालको गलत प्रयोग तथा बढ्दो दुर्व्यसनीले पनि महिलाहरु बढि पीडित हुने गरेको बताउनुभयो ।

महिला मानव रक्षक सञ्जालकी सदस्य वसुन्धरा घर्तीले पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुँदा घरेलु तथा मानवअधिकार उल्लङ्नका घटना बाहिर आउन थालेकोले तथ्याङ्क बढ्न पुगेको बताउनुभयो । घर्तिले भन्नुभयो, ‘‘पहिला महिलाहरु सहेर बस्थे हाल विद्रोह गर्छन् त्यसैले तथ्याङ्क बढेको हो ।’’ मानवअधिकार एलायन्सकी अध्यक्ष सरस्वती सिग्देलले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताउनुभयो  ।