• ५ जेठ २०८१, शनिबार

असहाय व्यक्ति, शहीद र बादी परिवारको स्वास्थ्य बीमा निःशुल्क

blog

राजु लामिछाने
रुकुम पश्चिम, जेठ ७ गते ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले असहाय, अशक्त, शहीद परिवार र वादी समुदायका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । नगर प्रमुखमा निर्वाचितपछि पदभार ग्रहण गर्ने क्रममा प्रमुख पुष्प बादीले उक्त निर्णयको फायल सदर गर्नुभएको हो ।

शुक्रबार शपथ ग्रहणपछि उहाँले नगरपालिकामा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणको अवसरमा प्रमुख बादीले मुख्य तीन वटा निर्णय गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमा  प्रभावकारी रहेको भन्दै बीमाको पहुँचमा पुग्न नसकेका नगर क्षेत्रका सबै नागरिकको अवस्था हेरेर स्थानीय सरकारले निःशुल्क बीमा गरिदिने बताउनुभयो ।

नगर प्रमुखमा पदभार गरेकै दिन उहाँले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । त्यसैगरी नगरपालिका ६ मा आगलागीमा परेर निधन भएकी १९ दिनको नवजात शिशु सुशस्लाी रोकायको परिवारलाई १० हजार आर्थिक सहयोग प्रदान गर्न फाइल सदर गरेको नगर प्रमुख बादीले जनाउनुभयो ।