राममणि दाहाल
हेटौँडा, पुस ६ गते । मकवानपुर प्रहरीले जिल्लाको चार वटा पालिकाको विभिन्न वडामा अवैध रुपले लगाइएको गाँजा तथा अफिम फडानी गरी नष्ट गरेको छ ।
प्रहरीले अवैध लागु औषध गाँजा तथा अफिम खेती फडानी तथा नष्ट गर्ने विशेष अभियान अन्तर्गत एक महिनाको अवधिमा ८७ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा तथा अफिम फडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत मङ्सिर ७ गतेदेखि हालसम्म विभिन्न चरणमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न वडा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको जनाएको छ ।
प्रहरीका अनुसार हालसम्ममा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका ७५ बिघा सात कठ्ठाको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा गरिएका अफिम खेती नष्ट गरिएको छ ।
अवैध गाँजा तथा अफिम खेती नष्ट गर्न पुनः प्रहरी टोली परिचालन गरिएको र यस चरणमा फडानी गर्न बाँकी रहेका स्थानमा क्रमशः अभियानको रुपमा फडानी तथा नष्ट गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।