• ५ जेठ २०८१, शनिबार

सुनसरीको एक नगरप्रमुख र दुई गाउँपालिका अध्यक्षमा पुन: निर्वाचित

blog

जयकृष्ण यादव
इनरुवा, जेठ ७ गते । 
सुनसरीको दुहबी नगरपालिकाको प्रमुखमा पुनः वेदनारायण गच्छदार विजयी हुनुभएको छ ।

जिल्लाको दुई उपमहानगरपालिका र चार नगरपालिकामध्ये दोस्रो कार्यकालका लागि निर्वाचित हुने गच्छदार पहिलो नगरप्रमुख बन्नुभएको हो ।

जिल्लाको छ गाउँपालिकामध्ये हरिनगर र कोशी गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष दुवै जना पुनः निर्वाचित हुनुभएको छ ।

सुनसरीको दुहबी नगरपालिकाको मतपरिणाम अनुसार दुहवीको नगरप्रमुखमा नेपाली काँग्रेसकका उम्मेदवार वेदनारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विनयकुमार पोखरेललाई चार सय ५५ मतको अन्तरले पराजित गर्नुहुँदै प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

प्रमुख गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनय पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस्तै, दुहबी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित हुनुभएको छ ।

कोशी र हरिनगर गाउँपालिकाको अध्यक्ष पुनःअंसारीदोय विजयी
सुनसरीको कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको अन्मित परिणाम अनुसार कोशीको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ऐयुव अन्सारी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अन्सारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार देवकृष्ण यादवलाई एक हजार १९९ मतको अन्तरले पराजित गर्नुहुँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष अन्सारीले छ हजार ४१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी जसपाका देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कोशी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार अनिताकुमारी यादव पनि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यादवले पाँच हजार ३९९ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी जसपाकी अनुदेवी खेरवारले चार हजार ७०८ मत प्राप्त गर्नुभएको छ ।

उता सीमावर्ती हरिनगर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।  अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । 

अध्यक्षमा गफार अन्सारीले नेकपा एमालेका उम्मेदवार लस्करी अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगतले एमालेका कौशिलाकुमारी साहलाई केही मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । 

यसैबीच, जसपाबाट जितेर यसपाली एमालेबाट चुनाव लड्नुभएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव भने नेपाली काँग्रेसका उम्मेदवार अजमल अख्खतर आजादसँग पराजित हुनुभएको छ ।

यसैगरी, सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका निर्वाचित नगर प्रमुख केदार भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीबाट प्रमाण पत्र ग्रहण गर्दै भण्डारीले इनरुवा नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको हो ।

नगर प्रमुख भण्डारीसहित नेपाली काँग्रेसकै विनीताकुमारी मेहताले पनि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

नगर प्रमुख भण्डारीले ११ हजार ८२४ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरोज पोखरेलले नौ हजार ५३ मत ल्याएर पराजित हुनुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकै विनीताकुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सहजादी प्रविण आलमले नौ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।

इनरुवाको १ नम्बर वडामा नेपाली काँग्रेसका प्रमोद पोखरेल, इनरुवाको २ नम्बर वडामा नेकपा एमालेका विश्वनाथ ठाकुर,  इनरुवाको ३ नम्बर वडामा नेकपा एमालेका रमेश श्रेष्ठ, इनरुवाको ४ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका बौवालाल मेहता, इनरुवाको ५ नम्बर वडामा नेपाली काँग्रेसका अनिलकुमार पोखरेल, इनरुवा ६ नम्बर वडामा नेपाली काँग्रेसका सुमन थापा, इनरुवा ७ नम्बर वडामा नेपाली काँग्रेसका हिम्मतसिंह खवास, इनरुवा ८ मा असोककुमार साह तेली, इनरुवा ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र इनरुवाको १० नम्बर वडामा नेपाली काँग्रेसका मो. खलिल अख्खतर विजयी हुनुभएको छ ।

यसैबीच, सुनसरीको सीमावर्ती बर्जु गाउँपालिकाको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक गरेको मत परिणाम अनुसार बर्जु गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्फबाट अध्यक्षमा जिवछकुमार राय र उपाध्यक्षमा नितुकुमारी चौधरी विजयी हुनुभएको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनको शुक्रबार सार्वजनिक भएको अन्मित परिणाम अनुसार नेकपा एमालेको तर्फबाट अध्यक्षमा जिवछकुमार राय र उपाध्यक्षमा नितु कुमारी चौधरी विजयी हुनुभएको हो । 

नेकपा एमालेको तर्फबाट अध्यक्षमा रायले सात हजार ८६१ मत र उपाध्यक्षमा चौधरीले आठ हजार ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बर्जुले जनाएको छ ।

रायको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तथा निवर्तमान अध्यक्ष रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

यसैगरी, उपाध्यक्षमा विजयी नितुकुमारी चौधरीको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरी पराजित हुनुभएको छ । 

यसैगरी, सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेचनप्रसाद मेहताले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष लालिप्रसाद मेहताले शुक्रबार एक कार्यक्रमको बीच नवनिर्वाचित अध्यक्ष बेचनलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराउनुभयो ।

सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्खतर आजादले पनि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले ४९ जना विपन्न सुकुम्बासीलाई निःशुल्क बिमा गराउने कागजमा सही गराएर एक कार्यक्रमकाबीच नवनिर्वाचित अध्यक्ष आजादलाई पद पदभार ग्रहण गराउनुभयो ।