• ९ जेठ २०८१, बुधबार

विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी

blog

धीरज दाहाल
विराटनगर, जेठ ७ गते ।
प्रदेश नं १ को एक मात्र महानगरपालिकाको रुपमा रहेको  विराटनगर महानगरपालिको प्रमुख पदमा सत्ता गठबन्धनका नागेश कोइराला विजयी हुनुभएको छ ।

काँग्रेसबाट प्रमुख पदका उम्मेदवार कोइरालाले आठ हजार ७१५ मतको अग्रतासहित ३० हजार १७० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपप्रमुख मा नेकपा (एमाले) का उम्मेदवार शिल्पा निराैला कार्की ११ हजार ४६१ मत अन्तरसहित कुल २५ हजार ८६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रमुख कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको थियो । सर्वाधिक चासोका साथ हेरिएका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले आठ हजार ७९५ मतका साथ तेस्रो स्थानमा रहनुभएको थियो । राप्रपाका प्रल्हादप्रसाद साहले पाँच हजार २१६ मतका साथ चौथो स्थान हासिल गर्नुभएको छ  ।

उपप्रमुखमा एमालेका उम्मेदवार कार्कीसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित हुनुभएको छ । यादवले कुल १४ हजार २१९ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमै  राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६ हजार ४०१ मत ल्याउँदै तेस्रो स्थानमा सीमित हुनुभएको छ ।

सत्तामा सहभागी दलहरुका बीच गठवन्धन कायम गरी स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि मोरङमा गठबन्धनको प्रभाव खासै देखिन सकेन ।

नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा शुरुवाटै गठबन्धनका विपक्षमा आवाज चर्को हुँदै गएको देखिएको थियो । तथापि कांग्रेस केन्द्रीय समितिवाट नै महानगरमा गठबन्धन हुने निर्णय भएपछि विराटनगरमा प्रमुख तथा उपप्रमुख पदमा गठवन्धन भएको थियो । तर, प्रमुख पदमा मात्र भएको सहमति वडा स्तरसम्म हुन सकेन । यसको परिणाम महानगरमा मिश्रित नतिजा प्राप्त भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तीनवटा वडामा सीमित भएको नेकपा एमालेले यस पटक नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका प्रभाव रहेका वडाहरुमा समेत जित निकाल्न सफल भएको छ । नेकपा एमालेले महानगरका कुल ९ वडामा अध्यक्ष पदमा विजय प्राप्त गरेको छ ।

वडा नम्वर १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा नेकपा एमालेले जित हात पारेको छ । त्यसैगरी, नेपाली कांग्रेस ५, ६, ७, ९, १५ र १६ वडामा विजयी भएको छ । जनता समाजवादी पार्टीले वडा नम्बर १२ र १७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नम्वर १३ मा र वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

महानगरवासीले अनुभूत हुनेगरी काम गर्छु : प्रमुख कोइराला
विराटनगर महानगरपालिकाको प्रमुख पदमा फराकिलो मतान्तरसहित विजयी हुनुभएपछि गोरखापत्रसँग कुरा गर्दै नागेश कोइरालाले महानगरका जनतालाई अनुभूत हुनेगरी काम गर्ने वताउनुभएको छ ।

घोषणापत्रमा सार्वजनिक भएका कुराहरुभन्दा अझ बढी कामहरु हुने बताउँदै कोइरालाले निर्वाचनमा सहभागी हुदाँ नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर सहभागी भए पनि अब आफू महानगरका सबै दलहरुको प्रमुख भएको उद्घोष गर्नुभएको छ ।

“महानगरमा बोझको रुपमा रहेको कर घटाउँदै  करको दायरा बढाउने मेरो पहिलो एजेण्डा हुनेछ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार निर्मूल पार्दै जनहितका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।” लोकप्रियताका लागि पूरा गर्न नसकिने योजना भन्दा जनतालाई सहयोगी हुने साना योजनाहरु महानगरमा संचालन हुने समेत उहाँको भनाइ छ ।

उपप्रमुख कार्कीले संविधानले तोकेको अधिकारलाई प्रयोग गर्दै न्यायको अनुभूति हुनेगरी कार्य सम्पादनमा जोड दिने वताउनुभयो ।

‘‘म कानुन बनाउने, प्रचलित कानुनलाई उपयुक्त तरिकाले प्रयोग गर्ने र जनतालाई न्यायको अनुभूति दिने गरी काम गर्छु,’ कार्कीले भन्नुभयो ‘मलाई साथ सहयोग गरी उपमेयरमा जिताउनका लागि सबै पार्टीबाट सहयोग भएको छ, म पार्टीबाट निर्वाचित भएँ, तर निष्पक्ष रूपमा जनताको सेवा गर्छु ।’

एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरपालिकामा ८९ हजार ६७८ मत खसेको थियो ।