• ७ जेठ २०८१, सोमबार

भूतको कथा भुलभुलैया २

blog

काठमाडौँ, वैशाख ७ गते । पछिल्ला केही वर्ष बलिउडमा हरर चलचित्र धेरै नै चल्न थालेका छन् । प्रियदर्शन निर्देशित २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘भुलभुलैया’ को सिक्वेल हो ‘भुलभुलैया २’ । पुरानो चलचित्रमा अक्षयकुमार र विद्याबालन अभिनय रहेको थियो । निर्देशक अनिश बज्मीले एउटा फरक कथामा ‘भुलभुलैया २’ दर्शकसामु पेस गरेका छन् । चलचित्रमा पुरानो कथाको केही तार जोडिएका छन् तर पुरानो चलचित्रमा मञ्जुलीका थिइन् भने यसमा चुडैल भनिएको छ । चलचित्र डरलाग्दो भयानक सङ्गीतले भने दर्शकलाई पुरानो ‘भुलभुलैया’ को अवश्य नै याद गराउँछ । 

चलचित्रमा रुहान (कार्तिक आर्यन) र रित (कियारा आडवाणी)को भेट अचम्म तरिकाले हुन्छ । रुहान रितको पुरानो पुस्तैनी घरमा पुग्छन् । जुन घरमा चुडैलको डरलाग्दो आत्मालाई बन्द गरेर राखिएको छ । रितलाई बचाउनका लागि रुहान आफूभित्र भूतलाई देख्ने शक्ति भएको र भूतसँग कुरा गर्न सक्ने क्षमता भएको भनेर रितलाई झुठो आश्वासन दिन्छन् तर उसलाई यो थाहा हुँदैन कि एकदिन उसलाई त्यही मञ्जुलीकाको सामना गर्नुपर्छ । यसैबीच कथामा परिवर्तन तब आउँछ जब मञ्जुलीकाको पुराना कुरा पनि सबैलाई थाहा हुन्छ । यो कुराले अवश्य नै चलचित्र हेर्ने दर्शकको मनमा अनेकन कौतुहल पैदा गराउँछ । 

यो चलचित्र निर्देशकले केवल मनोरञ्जनका लागि मात्र बनाएका हुन् । दर्शकले चलचित्र हेरेर केही सिकून् भन्ने उद्देश्यले यो बनाइएको होइन । यसमा निर्देशक अज्मी केही मात्रामा सफल पनि भएका छन् । हरर, कमेडी र रोमान्सलाई एउटा भिन्न तरिकाको कथामा निर्देशकले ढालेका छन् । जुन कुराले दर्शकलाई हलमा बाँधी राख्न बाध्य बनाउँछ । चलचित्रमा कलाकारको अभिनयले पनि धेरै कुराको फरक पारेको छ । 

चलचित्रको सुरुवात खासै दमदार नभए पनि जब रुहान र रित पुरानो भूतघरमा पुग्छन् त्यसपछि चलचित्रको कथाले भिन्नै मोड लिन्छ । आकाश कौशिकले लेखेको कथामा धेरै रमाइला र चोटिला दृश्य समावेश छन् । एक÷दुईवटा दृश्य यस्ता छन् जस्तै रितको आत्मासँग चाचाले खेल्नु, एउटा बदमास बच्चा जो रुहानको पछि मात्र लागिरहेका हुन्छन्, रुहान बाबा बनेको दृश्य र बाबा पण्डित (सञ्जय मिश्रा) उनको श्रीमती (अश्विनी कल्सेकर) र सानो पण्डितलाई लिएर गरिएको हास्यप्रधान दृश्यले अवश्य नै दर्शकलाई चलचित्र हेरेपछि निराश बनाउँदैन । 

चलचित्रमा धेरै नै उतरचढाव देखाइएको छ । मध्यान्तरसम्म दर्शक चलचित्रबाट भरपुर मजा लिन्छन् तर मध्यान्तरपछि भने चुडैलको भूमिकालाई धेरै प्राथमिकता दिइएको छ भने रुहानलाई खासै क्यारेक्टरमा भिजाइएको छैन । मध्यान्तरपछि कमेडी भन्दा पनि डरलाग्दा दृश्य भारी भएको देखिन्छ । चलचित्रका केही दृश्यले अवश्य नै डरलाग्दो बनाउँछ । 

कलाकार कार्तिक आर्यनको चलचित्रमा भूमिका फिट छ । उनले चलचित्रमा देखाएको कमेडीलाई धेरै दर्शकले रुचाउनेछन् । कियारा आडवाणीको अभिनयलाई ठीकठाक भन्दा हुन्छ । तब्बुलाई यस चलचित्रको हिरो भनियो भने पनि खासै फरक पर्दैन । मध्यान्तरपछि चलचित्रलाई उनले नै अगाडि बढाएको हो भन्दा पनि हुन्छ । सञ्जय मिश्रा र राजपाल यादवको कमेडी एकदमै रमाइलो छ । समग्रमा भन्नुपर्दा भुलभुलैया २ यस्तो चलचित्र हो जसभित्र मनोरञ्जनको भण्डार छ । अवश्य नै दर्शकले यो मनोरञ्जनको भरपुर लाभ उठाउनेछन् ।

Author

सुकृत नेपाल