अनिल पराजुली
हेटौँडा, पुस ४ गते । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले उत्पादन गरेको माछा स्थानीय स्तरमै खपत हुने गरेको छ । माग धेरै र उत्पादन कम भएकाले यहाँ उत्पादन भएको माछा स्थानीय स्तरमै खपत भएको हो ।
यहाँ उत्पादन भएको माछा स्वादिलो भएका कारण खरिद गर्नेहरूको भीड लाग्ने गरेकाले माछा किन्नका लागि टोकन लिनुपर्ने व्यवस्था मिलाइएको छ । बजार मूल्यभन्दा यहाँको कार्यालयबाट बिक्री हुने माछा एकसय रुपियाँसम्म कम मूल्यमा पाइने र ताजा माछा भएकाले यहाँको माछा खरिद गर्नेहरूले पालो कुर्ने गरेका हुन् । दैनिक एकसय टोकन दिएर माछा विक्री गरिरहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवले जानकारी दिनुभयो ।
‘यहाँ उत्पादन गरेको माछा बिक्री सुरु गरेका छौँ, माछा किन्नेको सङ्ख्या धेरै भएकाले टोकन दिएर कार्यालयमार्फत हामीले माछा बिक्री थालेका हौँ, चालु आर्थिक वर्षको पहिलो चरणमा एकसाता सम्म माछा विक्री गछौँ,’ कार्यालय प्रमुख यादवले भन्नुभयो । रहु र नैनी प्रजातिका माछाको माग धेरै रहेको उहाँको भनाइ छ ।
यहाँबाट टिलाटिया प्रतिकेजी दुई सय रुपियाँ, सिल्भर बिगहेड प्रतिकेजी २५०, ग्रास नैनी प्रतिकेजी तीन सय रुपियाँ र रहु, भाकुर, कमनलगायतका माछा प्रतिकेजी तीन सय ५० का दरले बिक्री भइरहेको छ । यो वर्ष पहिलो चरणमा सात टन माछा निकालिने भएको छ । पुसमा माछा निकालिएपछि दोस्रो चरणमा असारमा माछा निकालिने मत्स्य विकास अधिकृत बलराम आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय पानीको स्रोत सुक्दै जानु, बर्खाको समयमा धेरै पानी पर्नु र खडेरीमा सुख्खा हुनु लगायत बल्छी हानेर चोरी हुनु यहाँको प्रमुख समस्याको रूपमा छ । गत आव र चालु आवमा गरेर बल्छी हानेर माछा चोरी गर्ने छ जनालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको थियो ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडामा साना ठुला गरेर ४३ वटा पोखरी रहेकोमा सात वटा पोखरीमा खाने माछा उत्पादन हुँदै आएको छ । गत आवमा सात हजार ७९ किलो माछा विक्री गरेर पाँच लाख १६ हजार ३१६ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।