• २८ वैशाख २०८१, शुक्रबार

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै

blog

काठमाडौँ, जेठ ७ गते । नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।

पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । 

अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।

अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको केन्द्रले दाबी गरेको छ । तर केन्द्रको दाबीमा पनि पत्याउने भरपर्दो आधार छैन, किनभने उपत्यकाका विद्यार्थीका हातमा समेत अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबारसम्म कुनै पनि कक्षाको पाठ्यपुस्तक नआएको बताउँदै भन्नुभयो, “अर्को साताबाट पुस्तक वितरण हुन्छ भन्ने हल्ला सुनेको छु तर विश्वास लागेको छैन ।”

तत्काल पाठ्यपुस्तक आउने छाँट नदेखेपछि अघिल्लो वर्षका विद्यार्थीको पाठ्यपुस्तक खोजेर पढाइलाई निरन्तरता दिएको कँडेलले बताउनुभयो । जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ ।

पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।

यसै वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । ती पाठ्यपुस्तक छपाइ गर्न झन् धेरै समय लाग्ने हुनाले विद्यार्थीको पढाइमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । धादिङको सल्यान्टारस्थित सल्यान्टार माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवराज पाण्डेले भन्नुभयो, “विगतमा अवस्था सहज हुँदा त विद्यार्थीले भर्ना हुने वित्तिकै पुस्तक पाउँदैनथे । यो पटक त झन् निर्वाचनको बहाना बनाउन पाइने हुनाले पुस्तक वितरणमा अझै समस्या पर्ने देखिन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरेको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलले गत पुसमा जनक शिक्षामा अनुगमन गरी समयमै पाठ्यपुस्तक छपाइ सक्न निर्देशन दिनुभएको थियो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले एक महिना ढिलो पढाइ सुरु गर्दा पनि निर्वाचनको बहाना बनाएर पाठ्यपुस्तक छपाइलाई तीव्रता दिन नसक्नु विद्यार्थीको पढाइप्रतिको असंवेदनशीलता हो भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले निर्वाचन हुने र पुस्तक छपाइ प्रभावित हुनसक्ने थाहा हुँदाहुँदै पनि बेलैमा तयारी गर्न नसक्नु मन्त्रालयको कमजोरी रहेको उल्लेख गर्नुभयो ।

केन्द्रले छापेको पाठ्यपुस्तक हुम्ला, जुम्ला, मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा विशेष प्राथमिकता दिएर पठाइरहेको छ । जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत नौवटा प्रादेशिक कार्यालयमार्फत पनि वितरण भइरहेको जानकारी दिनुभयो ।

उहाँले कागज अभावका कारण पनि पाठ्यपुस्तक छपाइ प्रभावित भएको दाबी गर्दै भन्नुभयो, “विगतमा कागज अभाव पनि भयो । त्यसमाथि कागजमा चर्को मूल्यवृद्धि भयो र त्यसको असर पाठ्यपुस्तक छपाइमा प¥यो ।” सरकारले यसै वर्षदेखि कक्षा १ देखि ९ सम्म रङ्गीन पाठ्यपाठ्यपुस्तक छाप्न सुरु गरेको छ । कक्षा १० देखि १२ सम्मको पाठ्यपुस्तक भने श्यामश्वेतमा छापिनेछ । पाठ्यपुस्तक छपाइमा हुँदै आएको अनियमितताबारे गत २०७८ साल वैशाखमा पाठ्यक्रम विकास केन्द्रले अनुगमन समिति गठन गरी छानविन गरेको थियो । 

निजीको पनि उस्तै

कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पाठ्यपुस्तक छपाइको जिम्मा पाएका निजी छापाखाना सञ्चालकले पनि मागअनुसार पाठ्यपुस्तक छाप्न सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको निजी छापाखानाहरूमध्येको एक चिरायू छापाखानाका सञ्चालक दीपक भण्डारीले पाठ्यपुस्तक छपाइ भद्रगोल भएको बताउनुभयो । 

नेपाल मुद्रक उद्योग महासङ्घका पूर्वसल्लाहकारसमेत रहनुभएका भण्डारीले भन्नुभयो, “कुन मुद्रकले कति पाठ्यपुस्तक छाप्यो भन्ने यकिन तथ्याङ्क कसैसँग पनि छैन । नियमित जाँच गर्ने तथा तथ्याङ्क सङ्कलन गर्ने परिपाटी नहुँदा हरेक वर्ष यस्तै समस्या आउने गरेको छ ।”पुस्तक छपाइका लागि निजी मुद्रक संस्थाको छनोट गर्ने र उनीहरूको छपाइ प्रगतिको अनुगमन गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको हो । तर दुवै निकाय अहिलेसम्म अलमल्ल जस्तै छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले भन्नुभयो, “यस विषयमा पटक पटक छलफल भइरहेको छ । हिजो पनि मन्त्रालयमा यही विषयमा केन्द्रित रहेर बैठक बसेको थियो । यस महिनाभित्रमा समस्या समाधान हुन्छ ।”

पाठ्यपुस्तक अभावको समस्या निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमा पनि परेको छ । अधिकांश निजी विद्यालय सञ्चालकले आफैँ प्रकाशक तोकेर विद्यार्थीलाई पुस्तक पनि आफैँ बेच्ने गरेका छन् । तैपनि उनीहरूले विद्यार्थीलाई सेटमै पाठ्यपुस्तक दिन सकेका छैनन् । 

सेटमै पाठ्यपुस्तक नभएपछि जुन पाठ्यपुस्तक उपलब्ध छ, सोहीअनुसार पठनपाठन सञ्चालन भइरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष डीके ढुङ्गानाले बताउनुभयो । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्राचार्यसमेत रहनुभएका ढुङ्गानाले भन्नुभयो, “जुन पुस्तक उपलब्ध छ सोहीअनुसार पढाइरहेका छौँ । यो समस्याको छिट्टै अन्त्य हुने अपेक्षा गरेका छौँ ।”

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।