• १३ साउन २०८१, आइतबार

स्थानीय तहले सरकार पाउन थाले : शपथसँगै पदभार ग्रहण

blog

लमजुङको सुगम तथा सदरमुकाम रहेको बेँसीसहर नगरपालिकामा नवनिर्वाचित नगर उपप्रमुखमा पद्मा गुरुङ शुक्रबार कार्यभार समाल्नु हुँदै । तस्बिर : जनक श्रेष्ठ/रासस

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ६ गते । २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको नयाँ कार्य अवधि आज शुक्रबारबाट सुरु भएको छ ।

निर्वाचन आयोगले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि २०७९ जेठ ५ गते सकिएको जनाएपछि नवनिर्वाचित जनप्रतिनिधिहरूले आजबाट पदभार सम्हालेका हुन् । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेपछि नगरपालिकाका प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुभयो । उहाँहरूले नगरका उपप्रमुख तथा उपाध्यक्षसहित वडाका पदाधिकारीलाई शपथ गराउनु भएको छ ।

वि सं. २०७२ असोज ३ मा नेपालको संविधान जारी भएपछि यो दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको हो। यो निर्वाचनसँगै स्थानीय सरकारले निरन्तरता पाएको छ । लोकतान्त्रिक अभ्यासमा यसलाई निकै ठूलो उपलब्धि मानिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, वैशाख ३० गते भएको मतदानबाट कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका स्थानीय तहका 

जनप्रतिनिधिले प्रमाणपत्र लिएको, शपथ र पदभार ग्रहण गरेका तस्बिर यहाँ प्रस्तुत गरिएको छ : 


ओखलढुंगाको स्थानीय तहका नगर प्रमुख तथा अध्यक्षहरू पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुँदै । 


काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुख हरिकृष्ण महर्जन पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै ।


कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुँवर पदभार सम्हाल्दै । तस्बिर : मीन ठकुरी/रासस


मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथ लिँदै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी । तस्बिर : कृष्ण न्यौपाने/रासस


मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथ लिँदै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । तस्बिर : कृष्ण न्यौपाने/रासस


चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीलाई निर्वाचित प्रमाणपत्र वितरण गर्दै निर्वाचन अधिकृत सिर्जन थपलिया । तस्बिर : विष्णु नेपाल/रासस

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेसमक्ष शुक्रबार बागलुङ नगरपालिकाको प्रमुखमा नव निर्वाचित वसन्तकुमार श्रेष्ठ शपथ लिँदै । तस्बिर : तारानाथ आचार्य/रासस

घोराही उपमहानगरपालिकाको प्रमुख पदमा नरुलाल चौधरी निर्वाचित भएपछि शुक्रबार प्रमाणपत्र वितरण गर्दै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा । तस्बिर : रञ्जिता अधिकारी/रासस


नवनिर्वाचित जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंह । तस्बिर : विजय रावत/रासस

मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा शुक्रबार मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहसमक्ष चन्दननाथ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजुसिंह कठायत शपथ लिँदै । तस्बिर : विजय रावत/रासस





लमजुङको सुगम तथा सदरमुकाम रहेको बेँसीसहर नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित गुमानसिंह अर्याल शुक्रबार कार्यभार समाल्नु हुँदै । तस्बिर : जनक श्रेष्ठ/रासस






तस्बिर : केशब गुरुङ / शेखर चौलागाईं