• १३ साउन २०८१, आइतबार

संविधान सभा सदस्य अब गाउँपालिका अध्यक्ष

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ६ गते  । तत्कालीन संविधान सभा सदस्य रेणुका चौलागाईं गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । काभ्रेको चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा सत्तारूढ गठबन्धनबाट उहाँ निर्वाचित हुनुभएको हो ।  

२०५० सालमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गर्नुभएका उहाँ २०६४ सालमा संविधान सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो । स्थानीय तह निर्वाचनमा चौलागाईंले नेकपा (एमाले)का जिताराम लामालाई पराजित गर्दै काभ्रेमा एक मात्र महिला गाउँपालिका अध्यक्ष बन्न सफल हुनुभएको छ । उहाँले छ हजार २२८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लामाले पाँच हजार ४६२ मत प्राप्त गर्नुभएको थियो । 

उहाँले गाउँपालिकालाई भ्रष्टाचारमुक्त, जनतालाई अधिकारसम्पन्न बनाउनुका साथै जनताको आर्थिक अवस्थामा सुधार र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “महिलालाई उत्पादनसँग जोड्नुका साथै विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, महिलामा राजनीतिक सचेतना बढाउने काम गर्नेछु,” उहाँले भन्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा गाउँपालिकाभित्र विभिन्न भौतिक पूर्वाधार निर्माणसम्बन्धी कामका साथै सडक, बिजुली, एक घर, एक धाराअन्तर्गत गुणस्तरीय खानेपानी, कृषिमा जोड्नुका साथै त्यसको बजारीकरणलाई समेत प्राथमिकता दिइने बताउनुभयो । स्थानीय तह निर्वाचनमा काभ्रेमा गाउँपालिका अध्यक्षमा एक, नगर उपप्रमुखमा एक र एक जना वडा अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।