• ११ पुस २०८१, बिहिबार

उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष अब निर्वाचनबाटै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान संशोधनकै लागि मङ्गलबार बसेको महासङ्घको विशेष साधारण सभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो । 

नयाँ व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ स्वतः अध्यक्षको कार्यभार सम्पन्न भएपछि विधानका नयाँ प्रवाधान कार्यान्वयनमा आउने छ । विगतमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरेकामा आठ वर्षपहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष बन्ने व्यवस्था गरेको थियो । सोही विधि अनुसार भवानी राणा पहिलो पटक यो विधिबाट अध्यक्ष बन्नुभएको थियो । त्यसपछि शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि यही विधिबाट अध्यक्ष बन्नुभएको हो । संशोधित व्यवस्था हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ महासङ्घको अध्यक्षमा चयन भएपछि मात्र कार्यान्वयनमा आउने छ । 

मङ्गलबारको विशेष साधारण सभाले अध्यक्षको कार्यकाल पनि तीन वर्षबाट घटाएर दुई वर्षमा झारेको छ । संशोधित विधान अनुसार महासङ्घमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने छ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ । महासङ्घले एक जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई निरन्तरता दिएको छ तर वरिष्ठ उपाध्यक्ष भने निर्वाचनमार्फत नभएर कार्यकारिणी समितिले चयन गर्ने छ । मङ्गलबारको विशेष साधारण सभाले जिल्ला/नगरतर्फ दुई जना उपाध्यक्ष रहने गरी विधान संशोधन गरेको महासङ्घले जनाएको छ । संशोधित विधान मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।