• १७ असार २०८१, सोमबार

पशुपतिको ढुकुटीमा १७ किलो सुन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ६ गते । पशुपतिनाथको ढुकुटीमा १७ किलो ५३८ ग्राम सुन र ४९१ किलो चाँदी भेटिएको छ । पशुपतिनाथको मूल ढुकुटीमा के कति धनमाल होला भन्ने आम नागरिकको चासो भइरहेका बेला पशुपति क्षेत्र विकास कोषले एक अध्ययन गरी यो तथ्य सार्वजनिक गरेको छ । वि.सं. २०१९ देखि २०७५ सालसम्मको विवरणमा यो सम्पत्ति देखिएको हो । त्यसपछि जम्मा भएको ढुकुटीको लेखा बाहिर ल्याइएको छैन । 

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार सर्वोच्च अदालतको उत्प्रेषण आदेशले पशुपतिनाथको मूल ढुकुटीका धनमाल, गहना अध्ययन नगर्न भनेपछि २०१९ अघिको सम्पत्तिको अध्ययन भएको छैन । सर्वाेच्च अदालतले २०६६ पुस २७ गते कोषका नाउँमा उत्प्रेषण आदेश दिएको थियो । 

ढुकुटीमा दाहिना सङ्ख, नागमणि, गजमणि, गजदन्तमणि, मणि, माणिक्य, असर्फी र विश्व विख्यात कोहिनुर हीरासमेत रहेको अभिलेखमा देखिन्छ ।  पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यका अनुसार जयवागेश्वरी तहबिलको अभिलेखमा कोहिनुर जस्तै हीरा रहेको र यो जाँच गर्न बेलायतसम्म पठाइएको भन्ने अभिलेख जयवागेश्वरी तहबिलमा छ । पछि यो हीरा पशुपतिनाथ मन्दिरको ढुकुटीमा पठाइएको विवरण छ । तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरका पालामा यो अध्ययनका लागि बेलायत पठाइएको भन्ने अभिलेख छ ।

जङ्गबहादुरले लखनऊ लुट गर्दा गोरखपुरे महारानीका साथ यो हीरा नेपाल भित्र्याएका थिए भन्ने कथन छ । यसैकारण यी महारानीको त्रिपुरेश्वरस्थित सालिकमा जङ्गबहादुरले दिनमा तीन पटक दियो प्रज्वलन गर्ने व्यवस्था गरेका थिए र यो अचेल पनि रहिरहेको गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्य बताउनुहुन्छ ।