• २३ माघ २०८१, बुधबार

लागुऔषध प्रयोगकर्ताको बिगबिगी

blog

लागुऔषध मुद्दामा पक्राउ परेकाहरू । तस्बिर: जिल्ला प्रहरी कार्यालय

धनगढी समाचारदाता

धनगढी, मङ्सिर २५ गते । कैलालीमा लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढेको छ । नेपाल–भारत खुला सिमानाका कारण लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढेको हो । दुई देशको खुला सिमानाको फाइदा उठाउँदै प्रयोगकर्ताले भारतबाट लागुऔषध ल्याउने र बिक्रीवितरणसमेत गर्ने गरेको पाइएको छ । प्रयोगकर्ता बढेसँगै दिनदिनै पक्राउ पर्नेको सङ्ख्या पनि बढेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर २२ गतेसम्म लागुऔषधसम्बन्धी मुद्दामा २२५ पुरुष र ११ महिला गरी २३६ जना पक्राउ परेका छन् । १५३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आवको हालसम्म प्रहरीले २१४ ग्राम १०१ मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ । यसै गरी ५४ केजी चरेस पनि बरामद भएको जनाइएको छ । 

गत आव २०८०/८१ मा कैलाली प्रहरीले लागुऔषध मुद्दामा ४४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २७ महिला र ४२० जना पुरुष रहेका थिए । लागुऔषधसम्बन्धी ३१५ वटा मुद्दा दर्ता भएका थिए । गत आवभरि ३१३ ग्राम ६२९ मिलिग्राम खैरो हेरोइन, साढे ३१ केजी चरेस बरामद गरिएको थियो । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढेपछि प्रहरीले पनि आक्रामक रूपमा उनीहरूलाई पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । लागुऔषध नियन्त्रणसम्बन्धी नीतिगत व्यवस्था अनुरूप नै प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई धमाधम पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अचेल लागुऔषध प्रयोगकर्ता बढेका छन् । नियन्त्रणका लागि प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ ।” 

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता नै ओसारपसारकर्ता हुँदै पछि विक्रेता बन्ने गरेका छन् । उनीहरूले सुरक्षा जाँच छल्न सक्ने नाका वा सुरक्षा निकायको उपस्थिति नभएको मौका छोपेर भारतबाट विभिन्न किसिमका लागुऔषध ओसारपसार गर्ने गरेको जनाइएको छ । ती प्रयोगकर्ताले नै लागुऔषध ल्याएर केही आफैँ सेवन गर्ने र केही बिक्री गर्ने गरेको पाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 

“लागुऔषध सेवनर्तासँग पैसा नभएपछि उनीहरू लागुऔषध ओसारपसार गर्दै त्यसको विक्रेता बन्ने गरेका छन्,” उहाँले भन्नुभयो । कैलाली प्रहरीले लागुऔषधसहित प्रत्येक दिनजस्तो किशोरकिशोरी पक्राउ गरेको छ । विगतमा केटाहरू यो कार्यमा बढी संलग्न रहेको पाइएकोमा पछिल्लो समय युवती पनि पक्राउ पर्न थालेका छन् । नाकामा प्रहरी गस्ती बढाइएको प्रहरी निरीक्षक खड्काको भनाइ छ । लागुऔषध मुद्दामा पक्राउ पर्नेमा प्रायः कलिलै उमेरका छन् ।