भैरहवा समाचारदाता
भैरहवा, मङ्सिर २४ गते । लुम्बिनी प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमै खोपको अभाव भएपछि प्रदेशका १२ जिल्लाका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप पुग्न सकेको छैन । सरकारले स्वास्थ्य आपूर्ति केन्द्रलगायत ४० स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप उपलब्ध गराइँदै आएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ती संस्थामा कोटा निर्धारण गरी खोप उपलब्ध गराउँछ । केन्द्रमै अभाव भएपछि स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र खोप शाखाका हरि आचार्यले सबैतिरबाट खोपको माग आए पनि स्टक नहुँदा उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकभरि आवश्यक पर्ने खोपको खरिद प्रक्रिया स्वास्थ्य मन्त्रालयको हो तर यहाँ उपलब्ध नहुँदा अन्य जिल्लामा पनि पठाउन पाइएको छैन ।” प्रदेशले रेबिजविरुद्धको खोप उपलब्ध गराउन गत भदौदेखि माग गर्दै आएको छ । आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण महाशाखाबाट गत वर्ष लुम्बिनी प्रदेशका लागि एक हजार १६० मात्रा ‘एन्टिरेबिज भ्याक्सिन’ उपलब्ध भएको थियो ।
अघिल्लो वर्षको मौज्दात रहेको १२ हजार १२५ मात्रासमेत गरी प्रदेशले कात्तिक दोस्रो सातासम्म केही उपलब्ध गराए पनि त्यसपछि वितरण गर्न सकेको छैन । ४० स्थानका लागि मासिक पाँच हजार ७७० का दरले वार्षिक ६९ हजार २४० मात्रा आवश्यक पर्ने आचार्यले बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्दा निजी स्वास्थ्य संस्थाबाट रेबिजविरुद्धको खोप महँगोमा लगाउनुपर्ने अवस्था छ । कुकुर वा रेबिज सङ्क्रमण फैलाउन सक्ने जनावरले टोके तीन पटकसम्म लगाउनुपर्ने यो खोपका लागि निजीमा न्यूनतम दुई हजार पाँच सय रुपियाँ तिर्नु पर्छ ।
तर सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने भनिएकाले अधिकांश निजी क्लिनिकले यो भ्याक्सिन राख्दैनन् । सिद्धार्थनगर नगरपालिका–९, प्रभातपथस्थित सिजल फार्मेसीका सञ्चालक प्रमोद ज्ञवालीले कुकुरले टोकेको भन्दै रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या धेरै रहेको बताउनुभयो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नयाँ खरिद गर्न नपाउँदै गत वर्ष किनेको खोप सकिएको बताउनुभयो । यस वर्षका लागि खरिद गरिएको भ्याक्सिन आवश्यक नभएका धेरै व्यक्तिले पनि लगाएकाले चाँडो सकिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय कुकुरले टोकेका घटना बढिरहेका छन् । पशु चिकित्सकका अनुसार छाउरा जन्मिने सिजनमा कुकुर झन् बढी आक्रामक हुने गर्छन् । कतिपयले रेबिज नभएको कुकुरसँग सामान्य संसर्ग भए पनि जोखिम नलिने भन्दै भ्याक्सिन लगाइहाल्ने गर्छन् । “जतिसक्दो चाँडो आवश्यक परिमाणमा भ्याक्सिन उपलब्ध गराउने प्रक्रियामा छौँ,”
डा. घिमिरेले भन्नुभयो । एन्टिरेबिज भ्याक्सिन खरिदका लागि गत वर्ष १३ करोड रुपियाँ विनियोजन गरिएकोमा बढी खपत भएकाले यस पटक दोब्बर रकम छुट्याइएको उहाँले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                