• २४ पुस २०८१, बुधबार

हिमपात र वर्षाको सम्भावना

blog

काठमाडौँ, मङ्सिर २३ गते । देशव्यापी रूपमा चिसो बढ्दै गएको छ । आइतबार साँझदेखि नेपालमा सक्रिय हुन लागेको पश्चिमी न्यून चापीय प्रणालीका कारण थप चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले सार्वजनिक गरेको हिउँदे विशेष बुलेटिन अनुसार आइतबार साँझदेखि नेपाल प्रवेश गर्ने उक्त प्रणालीले त्यही रातदेखि सुदूरपश्चिम र कर्णालीका उच्च हिमाली भेगमा हिमपात र पहाडी भेगमा मध्यम वर्षा गराउने सम्भावना छ । 

मौसमविद् सरोज पुडासैनीले भन्नुभयो, “हउँद लागिसकेकाले हल्कादेखि मध्यम हिमपातले पनि अरू चिसो बढाउने भएकाले जनजीवन प्रभावित हुने छ ।” 

उच्च हिमाली भेगमा आरोहणका लागि गएका र जानेहरूलाई पनि सुरक्षित स्थानमा रहन र आरोहण नगर्न महाशाखाले अनुरोध गरेको छ । हिमाली भेगमा मध्यम हिमपातले पनि ठुलो पहिरो निम्त्याउन सक्ने भएकाले सचेतना अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै गण्डकी, बागमती र कोशी प्रदेशका उच्च हिमाली भेगमा पनि हिउँ पर्ने भएकाले त्यसको असर चौतर्फी रहने छ । 

हिमालमा हिउँ परेपछि त्यसको चिसो पहाड हुँदै तराईसम्म फैलिन सुरु गर्दा देशव्यापी रूपमा पहिलेको तुलनामा चिसो अधिक हुने छ । जसका कारण तराईमा शीतलहर र पहाडमा हुस्सु, कुहिरो बढ्ने छ । 

गण्डकी, कोशी र पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । काठमाडौँ उपत्यकामा भने कतै कतै मात्र फाटफुटदेखि हल्कासम्मको वर्षाको सम्भावना रहेकाले आत्तिनु नपर्ने जनाइएको छ । तथापि पूर्वदेखि पश्चिमसम्मको हिमालमा हिउँ पर्ने र बदली हुने भएकाले चिसो भने पहिलेको तुलनामा काठमाडौँमा पनि अधिक हुने छ । सोमबार रातिसम्म कायम रहने उक्त प्रणालीको असरका कारण मौसममा देखिने उतारचढावले हवाई यातायात, सवारी यातायात, पैदल यात्रु, आम नागरिकको स्वास्थ्य, पर्वतारोहणलगायतका क्षेत्रमा कडा असर पार्ने देखिएको महाशाखाले स्पष्ट पारेको छ । 

चिसोका कारण न्यूनतम तापक्रममा गिरावट देखिन थालेको छ । शनिबार उच्च हिमाली भेगको जुम्लामा माइनस छ डिग्री सेल्सियस तापक्रम पुगिसकेको छ । त्यस्तै डडेल्धुरामा ३.५, दिपायलमा ६.५ हुँदै काठमाडौँमा ८.९ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ । जाडो याममा जति न्यूनतम तापक्रम तल झर्छ, त्यति नै चिसो बढ्छ । 

बढ्दो चिसोमा वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगका बिरामीलगायत कमजोर स्वास्थ्य भएकाको विशेष रेखदेख गर्न सुझाइएको छ ।