• ७ वैशाख २०८२, आइतबार

कांग्रेसले गुमायो माओवादीको पुनरागमन

blog

रजनी योगी

सुर्खेत, मङ्सिर २० गते । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा तीन ठुला दलबिच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ । प्रदेशमा रिक्त रहेका आठ पदका लागि भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले तीन पद जित्यो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले दुई/दुई पद जित्दा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एक पदमा जित हात पारेको छ ।

उपनिर्वाचनबाट कांग्रेसले एउटा नगरपालिका उपप्रमुख र एउटा पालिका अध्यक्ष गुमाएको छ । अघिल्लो चुनावमा माओवादीको सहयोगमा नलगाड नगरपालिकाको उपप्रमुख जितेको कांग्रेसले उपचुनावमा उक्त जितलाई जोगाउन सकेन । यस पटक माओवादीले जितेको छ । आफूले जितेका दुई पद गुमाउँदा कांग्रेसले एउटा पद भने माओवादीबाट खोसेको छ । अघिल्लो पटक माओवादीले जितेको जाजरकोटको कुसे–७ उपनिर्वाचनबाट कांग्रेसले आफ्नो बनाएको छ ।

एमालेले पहिले जितेका दुई वटा वडाध्यक्ष पद गुमाउँदा एउटा पालिका अध्यक्ष थप गरेको छ । एउटा वडामा भने विगतकै विजयी नतिजालाई कायम राख्न सफल भएको छ । एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद सत्ता साझेदार दल कांग्रेसबाट खोस्न सफल भएको हो । दैलेखकै दुल्लु–१३ मा एमालेले विगतकै नतिजा दोहोर्‍याएको छ । 

नेकपा (माओवादी केन्द्र) ले पनि दुई स्थानमा गुमाउँदा अन्य दुई स्थानमा थप जित हात पारेको छ । माओवादीले कालीकोटको तिलागुफा–४ र जाजरकोटको कुसे–७ मा आफ्नो जितलाई निरन्तरता दिन सकेन । यद्यपि अघिल्लो पटक तत्कालीन सत्ता साझेदार दल कांग्रेसका लागि छोडेको जाजरकोटको नलगाड उपप्रमुख भने यस पटक माओवादीले फिर्ता ल्याउन सफल भएको छ । यसबाहेक डोल्पाको त्रिपुरासुन्दरी–५ को अध्यक्ष पनि एमालेबाट खोसेर माओवादीले आफ्नो बनाएको छ । 

माओवादीको पुनरागमन

जाजरकोटको नलगाडमा नेकपा (माओवादी केन्द्र) ले बाजी मार्‍यो । उपप्रमुख पदको उपनिर्वाचनमा माओवादी केन्द्र आफ्नो विरासत फर्काउन सफल भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने चार हजार २७२ मतसहित विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह) तीन हजार १४७ मतमा सीमित हुनुभयो । 

नलगाड नगरपालिका माओवादीको प्रभाव क्षेत्र हो । २०७४ देखि नै यहाँ माओवादीले जित्दै आएको छ तर २०७९ मा कांग्रेससँगको तालमेलका कारण पालिका उपप्रमुख माओवादीले छाडेको थियो । जसमा कांग्रेसकी सरिता सिंह निर्वाचित हुनुभएको थियो । उहाँको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनबाट माओवादीले आफ्नो पुरानै विरासत फर्काएको छ ।

महाबुमा एमाले फर्कियो

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गर्नुभएको हो । शाहीले तीन हजार १२७ मत प्राप्त गरी भण्डारीलाई हराउनुभयो । भण्डारीले दुई हजार ६७५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रका जङ्गबहादुर बरालले ८४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गर्नुभयो । महाबुमा कांग्रेसको विरासत तोडिएसँगै २०७४ पछि एमाले पुनः विजयी भएको हो । शाही एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेपछि महाबुमा एमाले कमजोर बनेको महसुस स्थानीय स्तरमा गरिएको थियो । २०७४ बहुमत वडासहित अध्यक्ष÷उपाध्यक्ष पदमा जित निकाल्दा शाही एमालेका उम्मेदवार हुनुभयो । एमाले विभाजनपछि २०७९ मा भएको निर्वाचनमा शाही समाजवादीबाट उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।

त्रिपुरासुन्दरीमा माओवादीको बाजी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । उहाँ १६१ मतसहित वडाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाउनुभएको छ । २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो । उपनिर्वाचनबाट एमालेले उक्त पद गुमाएको छ । यस्तै दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १७४ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले १७१ मत ल्याउनुभएको छ भने माओवादीबाट ढकेन्द्र शाहीले ७८ मत मात्रै ल्यानुभयो । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोतीराम खत्रीले ५९० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका जसिराम बस्नेतले ४३७ मत ल्याउनुभयो । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो भने जाजरकोटको कुसे गाउँपालिका को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह १४७ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभयो ।