काठमाडौँ, मङ्सिर १९ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बब्लु शिवाकोटीले एसियाली पुलिस तेक्वान्दो च्याम्पियन्सीपमा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ । भियतनाममा हुने सो प्रतियोगिता मङ्सिर २१ देखि २४ गतेसम्म हुनेछ ।
शिवाकोटी हङकङमा आयोजना भएको तेक्वान्दोको पुम्से वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाएर भियतनामा जान लाग्नुभएको हो । नोभेम्बर ३० देखि डिसेम्बर ४ सम्म आयोजना भएको वर्ल्ड च्याम्पियनसिपमा बब्लुले १३औँ दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसँग जोडी बनाएर पेयर पुम्सेमा क्वाटर फाइनलसम्मको यात्रा तय गर्नुभएको थियो । सो प्रतियोगितामा उहाँले ४० वर्षमुनि एकल इभेन्टमा पनि खेल्नुभएको थियो ।
नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स (टीडी) समेत रहनुभएका शिवाकोटीले अजरवैजान, जापान, चीन, मलेसिया, श्रीलङ्का र बङ्गलादेशलगायतका देशमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । शिवाकोटी तेक्वान्दोको अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक पनि हुनुहुन्छ ।