गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । सन् २०२४ को ११ महिनामा हवाई मार्गबाट १० लाख ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यस वर्ष सन् २०२३ को तुलनामा १५ प्रतिशत पर्यटक बढेका छन् । गत वर्षको ११ महिनामा नौ लाख १८ हजार ३०८ पर्यटक भित्रिएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यस वर्षको नोभेम्बरमा एक लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ५.४० प्रतिशत बढी हो । गत वर्षको नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक भित्रिएका थिए ।”
सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०३ पर्यटकले नेपाल भ्रमण गरेको बताउँदै उहाँले भारतीय पर्यटकको आगमन दर बढाउन बोर्डको बजेट पारित हुनेबित्तिकै भारतमा आक्रामक पर्यटन प्रवर्धन गर्न लागेको जानकारी दिनुभयो ।
पर्यटन बोर्ड लामो समय नेतृत्वविहीन रहँदा अन्तर्राष्ट्रिय प्रवर्धन हुन नसकेको तथा सवारी एवं विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पछिल्लो समय भारतीय पर्यटक आगमन सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । एसियाली मुलक श्रीलङ्का, मालदिभ्स, थाइल्यान्ड, मलेसियालगायतका मुलुकमा पर्यटक लक्षित प्याकेज सस्तो रहेको र नेपालमा बढ्दै गएको हवाई भाडाका कारणले समेत नेपाल भित्रिने पर्यटक आगमन दरमा असर पुगेको उहाँको भनाइ छ ।बोर्डका अनुसार यो वर्षको नोभेम्बरमा भारतबाट १९ हजार ९१५, अमेरिकाबाट १० हजार ९८१, चीनबाट नौ हजार ४५८, बेलायतबाट छ हजार ५११, बङ्गलादेशबाट पाँच हजार १४८, अस्ट्रेलियाबाट चार हजार ८२९, थाइल्यान्डबाट चार हजार २६२, श्रीलङ्काबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ पर्यटक नेपाल भित्रिएका छन् ।
यसअघि सन् २०२३ भर १० लाख १४ हजार ८७१ र कोरोना महामारीअघि सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डका अनुसार यो वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९, सेप्टेम्बरमा ९६ हजार ३०५, अक्टोबरमा एक लाख २४ हजार ३९३ र नोभेम्बरमा एक लाख १४ हजार ५०१ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटक भित्रिने मुख्य सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ ।