• १९ मंसिर २०८१, बुधबार

चीनले नेपाललाई नौ अर्ब अनुदान दिने

blog

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिन फिङबिच बेइजिङमा भएको भेटवार्ता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर १८ गते। चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ। 

नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो। 

मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उहाँहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ।  सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन्। 

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

राससका अनुसार, राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता

प्रधानमन्त्री ओली–एनपिसी अध्यक्ष भेटवार्ता

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुभएको थियो । साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उहाँले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।