• २२ पुस २०८१, सोमबार

पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन

blog

उपराष्ट्रपति राम सहाय यादवद्वारा पञ्चवर्षीय गढीमाईको मेलाकाे उद्घाटन । तस्बिर : उपराष्ट्रपतिको कार्यालय ।

कन्हैयालाल केशरी 

पर्सा, मङ्सिर १७ गते । उपराष्ट्रपति राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गर्नुभएको छ ।

उपराष्ट्रपति यादवको गृह जिल्ला बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला पशुबलीका लागि विश्वप्रख्यात छ । यादवले आफ्नै जन्मस्थलमा गढीमाईको पूजा अर्चना गरी मेलाको शुभारम्भ गरेपछि गढीमाईको दर्शन गर्न सर्वसाधारणको भिड लागेको छ ।  

मेला आयोजक मूल समितिले प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला मङ्सिर १ गतेदेखि मङ्सिर मसान्तसम्म लाग्ने भए पनि मेला आयोजक मूल समितिले मेलाको विधिवत् उद्घाटन भएपछि कार्यपालिका प्रकाशित गरी मङ्सिर २३ गते शनिवार तान्त्रिक विधि अनुसार दुखन धामी कछडियाले मूल पुजारी मङ्गल चौधरीसँग मिलेर आफ्नो मानव अङ्गको पाँच ठाउँबाट रगत र बलीको रूपमा सेतो मुसा परेवा हाँस सुगङुर र रागाको बली दिएपछि सर्वसाधारणले भाखल अनुरूपको बली तोकिएको स्थानमा चढाउने छन् । 

यस्तै, मङ्सिर २४ गते सानोबलीको रूपमा बोका परेवा हाँस र कुखुराको बलि चढाइने छ । सानो बलिका लागि निश्चित स्थान नतोकिएकोले गढीमाईको सिमाना भनिएको पसहा खोला पारी पुगेपछि पायक पर्ने ठाउँमा बलि चढाउने गरिन्छ र २५ गते मन्दिर परिसरमा परेवा उडाउने कार्यतालिका रहेको छ । यसका लागि बारा जिल्लाका १६ वटै पालिकाले मङ्सिर २३ र २४ गते आ आफ्ना पालिकामा बिदा दिने घोषणा गरेका छन् ।


महागढीमाई नगरपालिकाका नगर प्रमुख एवं मेला मूल आयोजक समितिका अध्यक्ष उपेन्द्र यादवले मेला अवधिभर लगभग एक करोड भक्तजनले गढीमाई मेलाको अवलोकन तथा दर्शन गर्ने अनुमान रहेको बताउनुहुन्छ । उहाँले ठुला बलिको रूपमा यस भन्दा अघिको मेलामा दस हजार रागा भैँसी र सुगुङ्रको बली चढेकोमा यस वर्ष ११ हजारको हाराहरिमा ठुला बलि चढ्ने दाबी गर्नुभयो । 

सामाजिक धार्मिक तथा अन्य सङ्घ संस्थाले बलिप्रथाको विरोध गर्दै आएकोमा २०७३ साल भदौ २० गते सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गर्दै पशु बलि दिने कार्यमा प्रत्यक्ष र परोक्षरुपमा संलग्न नहुन र बलिलाई निरुत्साहित पार्नु भनेर आदेश जारी गरेको भए पनि आदेश कार्यान्वयन आएको छैन । 

मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला मूल समिति र पुजारी समेतले कसैलाई बलिदानको लागि प्रोत्साहित नगरेको तर भक्तजनहरूमा आफैले श्रद्धा भक्ति आस्था र भाकल पुरा गर्न बलि दिने गरेकोले यसलाई रोक्न नसकिने बताउनुहुन्छ ।