• १२ मंसिर २०८२, शुक्रबार

बैतडीमा पाँच थान अवैध भरुवा बन्दुक बरामद

blog

केशवराज भट्ट 
वासुलिङ (बैतडी), मङ्सीर १२ गते ।
जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ । गोप्य सूचनाको आधारमा  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताउनुभयो ।

बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा छन् भने दुई थान बेसाबुत (अपूर्ण) अवस्थामा भेटिएको बडूले जानकारी दिनुभयो । भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । यसअघि गएको शनिबार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियो ।