• २६ वैशाख २०८३, शनिबार

सहकारीको सङ्कट टार्न पूर्वसतर्कता अभियान

blog

सहकारी बचाउन म्पाग्दे गाउँपालिकाद्धारा प्रशिक्षणा प्रदान गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २६ गते । सहकारी क्षेत्रमा बढ्दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई सङ्कटबाट जोगाउन पूर्वसतर्कता अभियान सुरु गरिएको छ । 

‘‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो’’ भन्ने मान्यताका साथ म्याग्दे गाउँपालिकाले पालिकाभित्रका २६ वटा सहकारीका सञ्चालक तथा प्रतिनिधिका लागि दुई दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरेको हो ।

सहकारीहरूलाई नीति, नियम र राज्यको कानुन बमोजिम अद्यावधिक गराई पारदर्शी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहकारीको साख जोगाउन सञ्चालकहरू नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “देशका धेरै ठाउँमा सहकारीमा समस्या देखिएपछि मात्र समाधान खोज्ने प्रवृत्ति छ, तर हामीले समस्या जन्मिनै नदिन पूर्वतयारी स्वरूप यो प्रशिक्षण राखेका हौँ। सञ्चालकहरूले विधिलाई शिरोधार्य गरे बचतकर्ताको पसिना डुब्दैन ।”

कार्यक्रममा बाराही बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मन्जु न्यौपाने काफ्लेले सहकारीको सुरक्षाका लागि दक्ष जनशक्ति र चुस्त व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो ।

काफ्लेले भन्नुभयो, “व्यवस्थापन पक्ष जति पारदर्शी र व्यावसायिक हुन्छ, संस्था त्यति नै सुरक्षित हुन्छ। यस्ता तालिमले हामीलाई कानुनी जटिलता बुझ्न र बचतकर्ताको विश्वास जित्न थप हौसला मिलेको छ ।”

 सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सहकारी सुधारका लागि सरकारले चालेका कदमको प्रशंसा गर्नुभयो । अधिकारीले भन्नुभयो, “सहकारीलाई मर्यादित र व्यवस्थित बनाउन सङ्घीय सरकारले सुरु गरेको अनुगमन र नियमनको पाटो सराहनीय छ । प्रदेश र स्थानीय सरकारले यसरी नै अभिभावकत्व ग्रहण गरिदिने हो भने सहकारी क्षेत्रमा देखिएको विकृति स्वत: हटेर जान्छ ।”

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिल्यै सङ्कटमा नपर्ने उल्लेख गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सहकारीहरूलाई कानुनी रूपमा सबल बनाउन र आन्तरिक सुशासन मजबुत पार्न नियमन र सहजीकरणलाई सँगसँगै लैजाने बताउनुभयो। आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले सहकारीलाई बलियो बनाउन पारदर्शिता नै मुख्य आधार भएको उल्लेख गर्नुभयो ।

प्रशिक्षक एवं तनहुँ जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारी र अर्का प्रशिक्षक प्रत्यूकुमार यादवले सहकारीमा स्वनियमन र वित्तीय अनुशासनको अभावले नै समस्या निम्तिएको चर्चा गर्नुभएको थियो ।

वैशाख २४ र २५ गते सञ्चालित यस कार्यक्रमले सहकारी क्षेत्रमा देखिएको अन्यौलता चिर्न र बचतकर्ताको विश्वास फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।