गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १७ गते । गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविले हात पारेको छ । गएको शुक्रबारदेखि भएको प्रतियोगितामा ८ स्वर्ण २ रजत र १ काँस्य गरी कुल ११ पदक हात पार्दै विजय भवानी मावि प्रतियोगिताको उपाधि विजेता बनेको हो ।
त्यस्तै प्रतियोगितामा ७ स्वर्ण ४ रजत र १ काँस्य गरी कुल १२ पदकसहित सूर्योदय मावि दोस्रो बनेको छ भने ३ स्वर्ण ७ रजत १ काँस्य गरी ११ पदकसहित ज्ञानमार्ग मावि तेस्रो बनेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो ।
प्रतियोगिताको कुल ४ स्वर्ण र १ रजत पदक हात पार्दै विजय भवानी माविका प्रवीण श्रेष्ठ सर्वोत्कृष्ट छात्र हुन सफल भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै ६ वटा स्वर्ण पदक हात पार्दै सूर्योदय माविकी छात्रा सुजिता खनाल सर्वोत्कृष्ट छात्रा बन्नुभएको हो । उहाँहरु दुबै जनालाई नगद रु. ५० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भएको शिक्षा शाखाले जनाएको छ ।
प्रतियोगिताको छात्र र छात्रा दुबैतर्फको भलिबल खेलमा सूर्योदय मावि प्रथम भएको छ । पालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता थियो । उक्त प्रतियोगितबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा विजेताहरुले ट्रफी, पदक र प्रमाणपत्र सोमबार एक कार्यक्रमका बिच गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले वितरण गर्नुभएको थियो ।