• ७ जेठ २०८१, सोमबार

मत परिणाम सार्वजनिक हुँदै

blog

जनकपुर, जेठ ५ गते । स्थानीय तह निर्वाचनअन्तर्गत मधेस प्रदेशका जिल्लाका मतगणना सम्पन्न भएका पालिकाका मत परिणाम घोषणा भइरहेको छ । यस प्रदेशका आठवटै जिल्लाभित्रका मतगणना सम्पन्न भएका स्थानीय तहको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्दै आएको छ । प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका करिब ३० प्रतिशत स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार नेपाली काँग्रेस अग्र स्थानमा छ भने नेकपा एमाले दोस्रो, जसपा तेस्रो स्थानमा रहेको छ । प्रदेशभरि एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५१ गाउँपालिका रहेका छन् ।

महानगरपालिका र उपमहानगरपालिकामा मतगणना जारी रहेको छ भने केही नगरपालिका र गाउँपालिकाका अन्तिम परिणाम सार्वजनिक भएको छ । प्रदेशमा एक हजार २७१ वडामध्ये दुई सयभन्दा बढी वडाको मत परिणाम घोषणा भइसकेको छ ।

नौ पालिकामा काँग्रेस विजयी

सर्लाही समाचारदाताका अनुसार जिल्लाका १२ वटा पालिकाका अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बुधबार साँझसम्म मतगणना सकिएका १२ वटा पालिकामध्ये नौवटा पालिकामा विजयी हुँदै नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । यस्तै नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एउटा पालिकामा जित हासिल गरेका छन् । 

नेपाली काँग्रेस जिल्ला सदरमुकाम मलङ्गवा नगरपालिकासहित हरिपूर्वा नगरपालिका, हरिपुर नगरपालिका, धनकौल गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, चन्द्रनगर गाउँपालिका, कौडेना गाउँपालिका, पर्सा गाउँपालिका र विष्णु गाउँपालिकामा विजयी भएको छ । नेकपा माओवादी केन्द्र बलरा नगरपालिका र रामनगर गाउँपालिका तथा जसपा बसबरिया गाउँपालिकामा विजयी भएका छन् । 

सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा)ले बसबरिया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जित्दै जिल्लामा खाता खोलेका छन् । गाउँपालिकाका अध्यक्षमा जसपाका रामसिंहासन राय चार हजार ९४६ मत ल्याएर विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा जसपाकै सरिताकुमारी चार हजार ७९५ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार महतो विजयी हुनुभएको छ । महतो ४५९ मतान्तरले गाउँपालिकाका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले तीन हजार ९९५ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी गीतादेवी महतो तीन हजार ८६० मत प्राप्त गरी विजयी हुनुभएको छ । 

यस्तै सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा चार हजार ६३९ बढी मत ल्याएर काँग्रेसका नागेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको हो । यादवले नौ हजार ७८ मत ल्याउनुभएको छ । उपप्रमुखमा काँग्रेसकी शकुन्तलादेवी साह निकटतम प्रतिस्पर्धीभन्दा चार मत बढी ल्याएर विजयी हुनुभएको छ ।

उहाँले पाँच हजार १४३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाका अध्यक्षमा तीन हजार २११ मत ल्याएर जवाहरलाल यादव र उपाध्यक्षमा दुई हजार ९४९ मत ल्याएर उषादेवी विजयी हुनुभएको हो । उहाँहरू दुवै जना गाउँपालिकाको निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुनुहुन्छ । 

यस्तै पर्सा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा दुई हजार ४६६ मत ल्याएर धिरेन्द्र राय निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नुतनदेवीले दुई हजार ३९ मत ल्याई विजयी हुनुभएको छ । यस पालिकामा २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम पार्टी विजयी भएको थियो । 

यस्तै हरिपूर्वा नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुखमा विनोदकुमार साह तेली पाँच हजार ९९ मत ल्याएर विजयी हुनुभएको छ । साह एक हजार ६०४ मतान्तरले विजयी हुनुभएको हो । उपप्रमुखमा चार हजार ३९१ मत ल्याएर सुमित्रादेवी ग्वारनी निर्वाचित हुनुभएको छ । हरिपूर्वा नगरपालिकाका प्रमुख, उपप्रमुखमा २०७४ सालको निर्वाचनमा पनि नेपाली काँग्रेस नै विजयी भएको थियो । 

कङ्कालिनीमा जनमत, तिरहुतमा काँग्रेस 

कल्याणपुर समाचारदाताका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित हुनुभएको छ । माझी निर्वाचित भएपछि सिके राउतको गृह जिल्ला सप्तरीबाट जनमत पार्टीले प्रमुखमा खाता पनि खोलेको छ । उहाँले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १६१ मतान्तरले जित हासिल गर्नुभएको छ । माझीले छ हजार ४०७ मत ल्याएर विजयी हुनुभयो । 

गत स्थानीय तहको निर्वाचनमा शैलेशकुमार साहले माझीलाई पराजित गरी नगरप्रमुख बन्नुभएको थियो । २०७४ को निर्वाचनमा राजपाबाट नगरप्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याउनुभएको थियो । त्यति बेला सङ्घीय समाजवादी फोरमबाट उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी रहेका माझीले चार हजार ३६५ मत ल्याउनुभएको थियो । उपप्रमुखमा सरिता सिपलिया यादव पुनः निर्वाचित हुनुभएको छ । गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बन्नुभएको थियो । 

जसपाले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सातवटा वडामा विजयी भए पनि नगरप्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले वडा नम्बर ५, ६, ७ र ११ तथा काँग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जितेको छ । 

निर्वाचित हुनुभएका माझी सो नगरपालिका वडा नम्बर १ भारदह निवासी हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि कोसी आरक्ष पीडितको अधिकारको लागि आवाज उठाउँदै आउनुभएको थियो । हालसम्म उहाँ कोसी आरक्ष मध्यवर्ती क्षेत्रको अध्यक्षका रूपमा काम गर्दै आउनुभएको छ । 

त्यस्तै सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली काँग्रेसका विजयकुमार यादव अध्यक्षमा निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष हेमन्तकुमार बहडखेरलाई ५७१ मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो । गत स्थानीय तहको निर्वाचनमा बहडखेरले यादवलाई पराजित गरी अध्यक्ष निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा ३१ मतान्तरले काँग्रेसको विणादेवी यादव निर्वाचित हुनुभएको छ । विणादेवीले तीन हजार ५१ ल्याएर निर्वाचित हुँदा जसपाका रामवतीदेवी मण्डलले तीन हजार मत ल्याउनुभयो ।

हालसम्म निर्वाचित सप्तरीको सबै चारवटा पालिकामा निवर्तमान प्रमुख पराजित भएका छन् भने विगतमा प्रतिद्वन्द्वी रहेका उम्मेदवार यस पटक निर्वाचित भएका छन् । अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा नेकपा (एमाले), सप्तकोसी नगरपालिका र तिरहुत गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गर्दै निर्वाचित भएका छन् । मतगणना जारी रहेको सप्तरीको बाँकी १४ पालिकामा पनि अधिकांश निवर्तमान प्रमुखपछि परेका छन् ।

चार पालिकाको नतिजा सार्वजनिक

रौतहट समाचारदाताका अनुसार जिल्लाको तीनवटा पालिकाका प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । जिल्लाको दुर्गाभगवती गाउँपालिकाका अध्यक्षमा माओवादीका शम्भु सिंह चार हजार २०४ मतले विजयी हुनुभएको छ । उपाध्यक्षमा माओवादीका शिलादेवी ३२२ मतान्तरले विजयी हुनुभएको छ ।  

यसैगरी जिल्लाको राजदेवी नगरपालिकाका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का भिखारीप्रसाद यादव सात हजार ५२ मत ल्याई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा एसकै राजकुमारी देवी पाँच हजार ८४२ मत ल्याई विजयी हुनुभएको छ । यस नगरपालिकाका नौवटा वडा मध्ये सातवटामा नेकपा एस र वडा नम्बर १ र ९ मा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी हुनुभएको छ । 

यस्तै जिल्लाको परोहा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार सेख वकिल दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ८२३ मत प्राप्त गर्नुभएको छ । यस नगरपालिकाका उपप्रमुखमा काँग्रेसकी सुगन्धी गिरी पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ । 

यसैगरी गौर नगरपालिकाका प्रमुखमा समाजवादीका उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ । उहाँले पाँच हजार ७१५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि समाजवादी पार्टीकै उम्मेदवार शैलकुमारी साहले चार हजार ३९९ मत ल्याई विजयी हुनुभएको छ । 

तीन पालिकाको परिणाम घोषणा

महोत्तरी/जलेश्वर समाचारदाताका अनुसार महोत्तरीको तीन पालिकाको परिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकामा विगतमा निर्वाचन जितेका दलले आफ्नो पकड गुमाएको देखिएको छ । जिल्लाको रामगोपालपुर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख विजयी भएका छन् । विगतमा माओवादी केन्द्रले जितेको सो पालिकामा एमालेका रामदुलार साहले पाँच हजार ३४९ मत ल्याएर विजयी हुनुभएको हो । उपप्रमुखमा एमालेकै रीनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी जिल्लाको मनरासिश्वा नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख पदमा विजयी हासिल गरेको हो । नेपाली काँग्रेसका युवा नेता मोहन पाण्डेयले पाँच हजार ८८४ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुखमा काँग्रेसकै शकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी हुनुभएको छ ।

१० वडा रहेको यस पालिकामा तीन वडामा काँग्रेस, दुई वडामा एमाले, दुई वडामा जसपा र दुई वडामा लोसपा तथा एक वडामा जनमत पार्टीबाट वडाध्यक्ष विजयी भएका छन् । यस नगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जित हासिल गरेका थिए ।

त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिकामा तराई मधेस लोकतान्त्रिक पार्टीले अध्यक्ष तथा जनता समाजवादी पार्टीले उपाध्यक्षमा विजय हासिल गरेको छ । तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षमा जसपाका दीपोदेवी पासवानले दुई हजार ६४ मत ल्याएर विजयी हुनुभएको छ । 

दुई गाउँपालिकामा जसपा र एउटामा समाजवादी 

सिरहा समाचारदाताका अनुसार जिल्लाको दुई गाउँपालिका अर्नमा र नवराजपुरमा जनता समाजवादी पार्टी तथा सखुवाननकारकट्टीमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार, अर्नमा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार यादव अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ तीन हजार २३३ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षमा जसपाकै शोभाकुमारी साहले तीन हजार १५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

यसैगरी सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्षमा जसपाका शिवउद्गार यादवले चार हजार ५५४ मत ल्याई निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा जसपाकै पुनम यादवले चार हजार ३१८ मत ल्याई निर्वाचित हुनुभएको छ । सिरहाकै सखुवाननकारकट्टी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले अध्यक्षमा विजय हासिल गरेर खाता खोलेको छ ।

सखुवाननकारकट्टी गाउँपालिकामा समाजवादीका उम्मेदवार केदारनाथ यादवले तीन हजार ४०७ मत प्राप्त गरी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यसअघि पनि उहाँ एमालेका तर्फबाट सोही गाउँपालिकामा निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा नेपाली काँग्रेसकी निलम यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ४६२ मत प्राप्त गर्नुभएको छ । 

मटिहानी नपा–६ मा अन्सारी विजयी  

जलेश्वर समाचारदाताका अनुसार महोत्तरीको मटिहानी नगरपालिका–६ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कलिम अन्सारी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कुलबहादुर फडेराका अनुसार अन्सारी ५१३ मत ल्याई विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मोहम्मद जाकिर हुसैनले ३८६ मत ल्याउनुभएको जनाइएको छ ।


Author

मधेस प्रदेश ब्युरो