• ११ पुस २०८१, बिहिबार

दुईदिने बिदा कार्यान्वयनमा समस्या

blog

काठमाडौँ, जेठ ५ गते । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् ।

 त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ । 

विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको तथा विश्वविद्यालयले तयार पारेको शैक्षिक पात्रो सातामा छ कार्य दिनलाई ध्यानमा राखेर तयार पारिएको हुनाले आइतबार बिदा दिन नसकिने त्रिविले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गरेको छ । 

शैक्षिक सत्र एक महिना ढिलो सुरु भएको अवस्थालाई ध्यानमा राखेर सातामा दुईदिने बिदाको व्यवस्था कार्यान्वयन गराउन नसकिने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले पनि सातामा शनिबार मात्रै बिदा दिने निर्णय जेठ १ गते गरेको थियो तर निर्णय कार्यान्वयन गराउने विषयमा भने नगरपालिका अलमलमा परेको छ ।

नगरपालिका शिक्षा शाखाले नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई पत्राचार गर्दै अर्को निर्णय नभएसम्म सातामा विगतमा जस्तै शनिबार मात्रै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।तर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरीले शिक्षा शाखाबाट भएको निर्णय कार्यान्वयन गराउने कि नगराउने भन्ने विषय अन्योलमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेठ ६ गते जनप्रतिनिधिको पद बहाली हुन्छ । त्यसपछि मात्रै आधिकारिक निर्णय हुन्छ होला ।”

निजी विद्यालय सञ्चालकको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले भने सरकारी निर्णयप्रति असन्तुष्टि जनाए पनि बिदा दिने कि नदिने भन्ने विषयमा संस्थागत निर्णय गरेको छैन । केही विद्यालयले भने दुई दिन नै बिदा दिने जानकारी अभिभावकलाई पठाएका छन् । केहीले भने आइतबार पनि विद्यालय सञ्चालन हुने सूचना पठाएका छन् ।  स्नातक र स्नातकोत्तर तहको पढाइ सञ्चालन गरिरहेका निजी शैक्षिक संस्थाको संस्था हिसानले भने आइतबार पनि पढाउने निर्णय गरेको छ ।

 हिसान काठमाडौँका अध्यक्ष शिव अधिकारीले भन्नुभयो, “त्रिविले आइतबार पनि पढाउने निर्णय गरिसकेको हुनाले हामीले पनि एक दिन मात्रै बिदा दिने संस्थागत निर्णय गरेका छौँ ।”सातामा दुई दिन बिदा दिने निर्णयपछि सरकारी कार्यालय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजे तथा शुक्रबारको दिन पनि पूरै सञ्चालन भइरहेका छन् ।सरसर्ती हेर्दा सरकारी निर्णय सामान्य देखिए पनि बिहान बच्चालाई स्कुल पु-याउनेदेखि बेलुका लिन जानेसम्मका काममा असर पारेको कलङ्कीस्थित विज्डम इङ्लिस एकेडेमीका प्राचार्यसमेत रहनुभएका अधिकारीले बताउनुभयो । 

पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले गरेको निर्णय शैक्षिक संस्थाको हकमा भने अव्यावहारिक भएको गुनासो अधिकारीले गर्नुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय कार्यान्वयन गराउन सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारी निर्णय कार्यान्वयनका लागि मन्त्रालयले सहजीकरण मात्रै गरिदिएको बताउनुभयो ।

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।