बुटवल समाचारदाता
बुटवल, मङ्सिर १६ गते । विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् ।
रुपन्देहीको तिनाउ, दानव, कञ्चन, घाँघरालगायतका खोलामा केही वर्षअघिसम्म यहाँ स्थानीय जातका माछा पाइन्थ्यो तर पछिल्लो समय विषादी र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम बढ्दै जाँदा स्थानीय जातका माछाका प्रजाति नै लोप हुने अवस्था छ ।
पानी नसुक्ने नदीमा विषादी प्रयोग र विद्युतीय धरापका कारण स्थानीय जातका माछा लोप हुने क्रम बढेपछि पशु सेवा अस्पतालले केही वर्षअघिदेखि दानव, तिनाउलगायतका नदीमा विकास माछाका भुरा छोड्दै आएको छ तर छाडिने माछाका भुरा बढेर कहाँ जान्छन् भन्ने गणना भने हुन सकेको छैन ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक दीपक भुसालले खोलामा विषादी छर्केर माछा मार्ने क्रम बढिरहेको बताउँदै त्यसबाट प्राकृतिक जलचर नष्ट भइरहको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
रुपन्देहीको शुद्धोधन–४, मानपकडीका लोकनाथ न्यौपानेले तिनाउ, दानवलगायतका ठुला नदी र स्थानीय खोलामा समेत अहिले विषादीको प्रयोग तथा विद्युत् प्रवाह गरी माछा मार्ने क्रम बढेको बताउनुभयो ।
उहाँका अनुसार यो काममा स्थानीय गाउँले तथा युवाको नै संलग्नता छ । नदीमा माछा संरक्षण गर्ने तथा माछा मारेको पाइए कारबाही गर्ने संयन्त्र प्रभावकारी नहुँदा माछा मार्ने क्रम बढेको हो ।
उता वातावरणीय सन्तुलन कायम राख्ने र पोखरी तथा नदीमा माछा छोडेर स्थानीय जनताको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले हरेक वर्ष रुपन्देहीका तलाउ र नदीमा माछाका भुरा राख्ने काम भइरहेको छ ।
यो वर्ष पनि विश्व मत्स्य दिवसका अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको १२ बिघा पोखरीमा एक साताअघि १० हजार माछाका भुरा छोडिएको छ ।
स्थानीय समुदायको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सिमसार क्षेत्रका रूपमा विकास गरिँदै गरेको १२ बिघा तालमा रोहु र नैनी जातका माछाका भुरा छाडिएको हो ।
यसरी छाडिएका माछाका भुरा जोगाउन भने चुनौती देखिएको रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताउनुभयो ।