• ९ वैशाख २०८२, मङ्गलबार

पहेँलिन थाले सुन्तलाका बोट

blog

तम्घास समाचारदाता

तम्घास, मङ्सिर १६ गते । सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोट नै पहेलै देखिने रोग देखा परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका–७, वाग्लाका कृषक धनराज पौडेलसहितका सुन्तला बगैँचामा बोट पहेँलो देखिने रोग देखा परेको हो । पौडेलको पौडेल कृषि फर्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन् । बगैँचामा रहेका धेरैजसो बोटहरूमा पहेँलो हुने रोग देखा परेको पौडेलले बताउनुभयो । 

गत वर्ष करिब चार लाखका सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैँचामा रहेका सुन्तलाका बोट पहेँलै हुने रोग देखा परेको र फल लागेका सुन्तला पनि झरेकाले अहिले एक लाखको पनि सुन्तला बिक्री गर्न समस्या हुने आफूलाई लागेको बगैँचा हेरालु रामु गिरीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गङ्गाकुमारी पोखरेलले अहिले उक्त बगैँचामा सुन्तलाका बोटमा पहेँलोपना देखा परेको बताउनुभयो । आफूले उक्त बगैँचाको अवलोकन गरेको बताउँदै बगैँचामा गएर हेर्दा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेँलो भएको उहाँको भनाइ छ । फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेकाले ढुसीनासक विषादी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय बिरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले मलजल गर्दा उचित ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

त्यस स्थानका कृषकलाई जम्मा गरेर बगैँचा व्यवस्थापन र रोगसम्बन्धी तालिम प्रदान गर्ने गरी कृषि ज्ञान केन्द्रले योजना बनाएको छ । यस वर्ष सुन्तला उत्पादन घट्ने वा बढ्ने भन्ने बारेमा बगैँचाहरू अवलोकनपश्चात् मात्र भन्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सयभन्दा बढी सुन्तलाका बिरुवा छन् । जसको ६०.६ प्रतिशत अर्थात् दुई लाख ४९ हजार दुई बोटले उत्पादन दिएको छ ।