• १२ साउन २०८१, शनिबार

बुटवलमा बम विस्फोट गराएको आरोपमा तीन पक्राउ

blog

स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजनालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : गोरखापत्र

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ ४ गते । स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

बैशाख २८ गते साँझ बुटवलको मिलनचोकस्थित आकाशे पुलको तल साईडमा प्रेसरकुकर बम विस्फोट भएको थियो । बम विस्फोट गराएको आरोपमा प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ नयाँगाउँबाट कमरेड नेपाल भन्ने सुरेश खनाल, सैनामैना नगरपालिका वडा नं. १ बाट राज भन्ने फणिन्द्र गरतौला र अशोक भन्ने शुक्रकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । 

रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एस.पी. रबिन्द्र रेग्मीका अनुसार, बम विस्फोट भएसँगै प्रहरीले चुनाव बहिष्कार गर्न आह्वान गरी कमरेड नेपालले हस्ताक्षर गरेको विज्ञप्ति भेटाएको थियो । त्यसका आधारमा प्रहरीले उनीहरुलाई खोजी गरिएको हो । 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार, पक्राउ परेका ‘कमरेड नेपाल’ भन्ने सो पार्टीका केन्द्रीय महासचिव २७ वर्षीय खनाल अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ का हुन् । त्यस्तै, ३० वर्षीय गरतौला केन्द्रीय सदस्य हुन् । 

प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल, तीनवटा मोटरसाइकल, २ वटा कुकर, बम बनाउन प्रयोग हुने बिजुलीको तार २ थान र ४० थान नेपाल कम्युनिष्ट पार्टी माओवादीसँग सम्बन्धित पर्चा पम्पलेट बरामद गरेको छ । 

पक्राउ परेका उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विस्फोटक पदार्थसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख रेग्मीले बताउनु भयो । अदालतमा सो कसुर ठहरेमा उनीहरुलाई अधिकतम १० वर्षसम्म कैद सजाय हुनेछ ।