• २ माघ २०८१, बुधबार

लुटपाट तथा सङ्गठित अपराधमा संलग्न १० जना पक्राउ

blog

पक्राउ परेका व्यक्तिहरुलाई बरामद सामानसहित सार्वजनिक गरिँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, मङ्सिर १४ गते ।
विभिन्न सङ्गठित अपराधमा संलग्न रहेका १० जना व्यक्तिहरुलाई विभिन्न ठाउँबाट महोत्तरी प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

महोत्तरी प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट छ जना तथा भारतीय प्रहरीको सहयोगमा चार जना गरी १० जनालाई विभिन्न सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । घटनामा एक चिकित्सक (गाउँघरमा औषधी उपचार गर्ने, आफुलाई डाक्टर भनेर चिनाउने) समेत पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले महोत्तरी प्रहरीले विभिन्न घटनाहरुमा संलग्न रहेका भारत बिहारको सितामढी बेला थाना ग्राम पञ्चायत शिवनगर घर भई जिल्लाको गौशाला नगरपालिका वडानं. ४ निगौलमा डेरा लिई बस्ने डाक्टर भन्ने प्रमोदकुमार साह, प्रमोदकी पत्नी सन्जु देवी साह, गौशाला नगरपालिका वडानं. ९ बिसरपुर बस्ने ललन साह, गौशाला न.पा.६ फुलकाहा बस्ने राकेश कुमार यादव, भारत सितामढी जिल्लाको जानकीनगर घर भई गौशालामा डेरा लिई बस्ने रन्धिर साह तथा भारत सितामढीको विष्णुपुर पञ्चायत घर भएका गोलु भन्ने सुधिर भण्डारी मालीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको बताउनुहुँदै यसरी पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका ६ किसाननगर घर भएका मनोज साह, जिल्ला सर्लाही हरिपूर्वा नगरपालिका वडानं.३ बस्ने उदयनारायण साह, भारत विहार शिवहर बस्ने ईद्रिस नट तथा भारत बेतिया बस्ने सञ्जय नट रहेको बताउनुभयो । मनोज साहमाथि नौ वटा, ईद्रिस नटमाथि छ वटा, सञ्जय नट र उदय नारायण साह माथि दुई/दुईवटा डाँका लुटपाट, सङ्गठित अपराध तथा कर्तव्य ज्यान लगायतका घटनाहरुमा संलग्नता देखिएको र उनीहरुले सो स्विकार गरेको बताउनुभयो ।

चोरी डाँका गर्ने समूहका व्यक्तिहरुलाई प्रहरीले विभिन्न किसिमले निगरानी गर्दा गाउँघरमा उपचार गरी हिडने डाक्टर भन्ने प्रमोद यादव नै जिल्लामा घटेको आधा दर्जनभन्दा बढी घटनाको मुख्य योजनाकार देखिएको बताउनुहुँदै यादवलाई चिकित्सकले बोक्ने स्टेठोस्कोप (आला), विभिन्न औषधी तथा औजारहरुसहित पक्राउ गरेका थिए । उनी भारतमा समेत चोरी तथा डाँका मुद्दामा पक्राउ परि २६ महिना कारागारमा बसी धरौटीमा छुटेका थिए ।

यसैगरी, पक्राउ परेका सन्जु देवी भने चोरी तथा लुटपाट घटनाको मोबाइलहरु चलाउने, गरगहनाहरु लुकाउने कार्यमा संलग्न रहेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता जैसवारले जानकारी दिनुभयो ।

त्यसैगरी, पक्राउ परेका रन्धिर साह चोरीको गरगहना खरिद गर्ने र त्यसलाई गलाएर सहयोग गर्ने गरेको थियो । उनले तिनपटकसम्म त्यस्ता गरगहना गलाएको अनुसन्धानको क्रममा फेला परेको हो ।

पक्राउ परेका व्यक्तिहरु विभिन्न समयमा महोत्तरीको गौशाला, औरहीसहित जिल्लाको विभिन्न चोरी, डकैतीको घटनामा संलग्न रहेको पाइएको छ । पक्राउ परेका अभियुक्तहरुलाई हातहतियार तथा खरखजाना, चोरी÷डाँका (लुटपाट) तथा संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।