कुनै नेपाली विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किन्छ भने के उसको सोच स्वतः ‘विदेशी’ हुन्छ ? कुनै युवा अनुसन्धानकर्ता अन्तर्राष्ट्रिय संस्थासँग काम गर्छ भने के उसको नियत राष्ट्रप्रति कमजोर मान्नु पर्छ ? पछिल्ला केही वर्षदेखि नेपालको सार्वजनिक बहसमा यस्तै प्रश्न अप्रत्यक्ष रूपमा उठिरहेका छन् । ‘विदेशी एजेन्ट’ भन्ने शब्द अहिले राजनीतिक भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा यति सहज रूपमा प्रयोग हुन थालेको छ कि कहिलेकाहीँ यसले वास्तविक बहसभन्दा बढी शङ्का र अविश्वासलाई जन्म दिएको छ । यस्तो आरोप प्रायः तथ्यभन्दा भावनामा आधारित हुन्छ । यसको असर भने निकै गहिरो हुन्छ, विशेष गरी युवापुस्तामा ।
नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील चरणमा छ । लोकतन्त्र, सङ्घीयता र समावेशिताका मुद्दा अझै पनि बहस र पुनव्र्याख्याको प्रक्रियामा छन् । यस्तो अवस्थामा बाह्य प्रभावको प्रश्न उठ्नु स्वाभाविक पनि हो । इतिहासले हामीलाई सिकाएको छ कि सानो राष्ट्रले आफ्नो स्वाधीनता जोगाउन सतर्क हुनै पर्छ । समस्या त्यतिबेला सुरु हुन्छ जब सतर्कता शङ्कामा रूपान्तरण हुन्छ र शङ्का अन्ततः अविश्वासमा बदलिन्छ ।
आजको नेपालमा यही अविश्वास बिस्तारै सार्वजनिक बहसको केन्द्र बन्न थालेको छ । कसैले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छ भने उसको उद्देश्यबारे प्रश्न उठाइन्छ । कसैले विदेशमा अध्ययन गर्छ भने उसको सोच ‘विदेशी प्रभाव’ बाट निर्देशित भएको आरोप लगाइन्छ । सामाजिक सञ्जालमा यस्ता आरोपहरू छिटो फैलिन्छन् र धेरै पटक तथ्यभन्दा धारणाले नै बहसलाई नियन्त्रण गर्छ ।
धेरै युवाले आफ्नो करियरको सुरुवात अनुसन्धान, विकास परियोजना वा नागरिक समाजका कार्यक्रमबाट गर्छन् । उनीहरूको उद्देश्य सरल हुन्छ । समाजका समस्या बुझ्ने, नीति निर्माणमा योगदान गर्ने वा स्थानीय स्तरका चुनौती समाधान गर्ने । केही समयपछि उनीहरूलाई थाहा हुन्छ कि यही कामले उनीहरूलाई शङ्काको घेरामा पनि पार्न सक्छ । नेपालमा शासन सुधार, सङ्घीयता, लैङ्गिक समानता, मानव अधिकार र समावेशिताका विषयमा काम गर्ने धेरै संस्था छन् । यी विषयलाई कतिपयले ‘पश्चिमी एजेन्डा’ भनेर पनि चित्रित गर्छन् ।
गम्भीर प्रश्न के हो भने; के यी मूल्य वास्तवमै कुनै एक भौगोलिक क्षेत्रका मात्र हुन् र ? के नागरिकले उत्तरदायी सरकार चाहनु विदेशी विचार हो ? के महिलाले समान अवसर माग्नु पश्चिमी अवधारणा हो ? के नीति निर्माणमा तथ्य र अनुसन्धानको प्रयोग गर्नु कुनै बाहिरी प्रभावको परिणाम हो ? यस्ता प्रश्नहरूले देखाउँछन् कि धेरै पटक ‘विदेशी प्रभाव’ भन्ने आरोप वास्तविक बहसभन्दा सजिलो राजनीतिक उपकरण बन्न सक्छ ।
नेपालको संविधानले नै लोकतन्त्र, समानता र समावेशितालाई आफ्नो आधार बनाएको छ । यसको अर्थ यी मूल्यहरू नेपालका लागि विदेशी होइनन्; बरु नेपाली समाजले आफ्नै सङ्घर्ष र अनुभवबाट स्वीकार गरेका दिशा हुन् । जब कुनै युवा अनुसन्धानकर्ता सङ्घीय शासनको प्रभावबारे अध्ययन गर्छ, वा कुनै सामाजिक अभियन्ता लैङ्गिक समानताबारे कार्यक्रम सञ्चालन गर्छ, त्यसलाई विदेशी एजेन्डा भनेर खारेज गर्नु सजिलो होला तर त्यसले वास्तविक बहसलाई कमजोर बनाउँछ ।
अन्तर्राष्ट्रिय सहकार्यको अर्को महत्वपूर्ण पक्ष ज्ञानको आदानप्रदान हो । आज विश्वका धेरै देशले विकासको यात्रामा अरू देशबाट सिकेका अनुभवलाई अपनाएका छन् । दक्षिण कोरिया, सिङ्गापुर वा फिनल्यान्ड जस्ता देशले पनि कुनै समय बाहिरी अनुभवबाट प्रेरणा लिएका थिए । उनीहरूले ती विचारलाई आफ्नो सन्दर्भ अनुसार रूपान्तरण गरे । नेपालका लागि पनि यही मार्ग उपयुक्त हुन सक्छ; विश्वबाट सिक्ने तर त्यसलाई आफ्नै सामाजिक र ऐतिहासिक सन्दर्भ अनुसार रूपान्तरण गर्दै प्रयोग गर्ने ।
सामाजिक सञ्जालको युगले एउटा नयाँ चुनौती ल्याएको छ । अहिले कुनै व्यक्तिको शिक्षा, काम वा पेशागत सम्बन्धको सानो अंशलाई पनि सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्न सकिन्छ । एउटा सम्मेलनमा सहभागी भएको फोटो, एउटा प्रशिक्षण कार्यक्रममा उपस्थिति वा कुनै अन्तर्राष्ट्रिय संस्थासँगको कामलाई आधार बनाएर ठुलो कथानक निर्माण गर्न सकिन्छ । यस्तो अवस्थामा तथ्यभन्दा धारणाले छिटो यात्रा गर्छ ।
यसले सार्वजनिक बहसलाई मात्र प्रभावित गर्दैन, यसले मानिसको आत्मविश्वासलाई पनि असर गर्छ । जब मानिसलाई थाहा हुन्छ कि कुनै जटिल विषयमा बोल्दा उनीहरूलाई ‘विदेशी प्रभाव’ को आरोप लाग्न सक्छ, तब धेरैले बोल्नै छोड्छन् । अनुसन्धान कम हुन्छ, आलोचनात्मक सोच कमजोर हुन्छ र नीति निर्माण पनि सीमित दृष्टिकोणमा अडिन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावको खेल हुन्छ । कूटनीति, आर्थिक सहायता र विकास परियोजना सबैले कुनै न कुनै स्वार्थ बोकेका हुन्छन् । कुनै पनि देशले आफ्नो हितलाई ध्यानमा राखेर नै सहयोग गर्छ । त्यसैले सतर्कता आवश्यक छ तर सतर्कता र शङ्का फरक कुरा हुन् । सतर्कता तथ्यमा आधारित हुन्छ; शङ्का भावनामा आधारित हुन्छ ।
विश्वका धेरै देशको अनुभवले पनि देखाउँछ कि बाहिरी ज्ञान र अनुभवलाई सही रूपमा प्रयोग गर्दा राष्ट्रिय विकासलाई गति दिन सकिन्छ । उदाहरणका लागि जापानले उन्नाइसौँ शताब्दीको अन्त्यतिर सुरु गरेको मेइजी पुनस्र्थापनाको समयमा सयौँ विद्यार्थी र अधिकारीलाई युरोप र अमेरिकामा अध्ययनका लागि पठायो । उनीहरूले त्यहाँबाट प्रविधि, शिक्षा र प्रशासनिक अभ्यास सिके र फर्किएपछि आफ्नै समाज अनुसार प्रयोग गरे । सिङ्गापुरका संस्थापक नेता ली क्वान युले पनि सानो देशले विश्वबाट सिक्न डराउन नहुने कुरा बारम्बार जोड दिएका थिए । उनले विदेशबाट सिकेका व्यवस्थागत अभ्यासलाई सिङ्गापुरको स्थानीय आवश्यकता अनुसार ढालेर प्रयोग गरे, जसले केही दशकभित्रै सिङ्गापुरलाई एसियाको सबैभन्दा सफल राज्यमध्ये एक बनायो ।
नेपालको इतिहासमै पनि बाहिरी अनुभव र राष्ट्रिय परिवर्तनबिचको सम्बन्ध देखिन्छ । उन्नाइसौँ शताब्दीमा जङ्गबहादुर राणा युरोप भ्रमण गरेर फर्किएपछि उनले प्रशासनिक संरचना र कानुनी प्रणालीमा केही सुधार ल्याउने प्रयास गरेका थिए । उनले युरोपको शासन प्रणाली जस्ताको तस्तै लागु गरेनन्, तर त्यहाँ देखेका अभ्यासलाई नेपाली सन्दर्भ अनुसार ढाल्ने प्रयास गरे । त्यसै गरी २० औँ शताब्दीको लोकतान्त्रिक आन्दोलनमा पनि भारत र अन्य देशमा अध्ययन गरेर फर्किएका नेपाली नेताहरूले लोकतन्त्र, संविधान र नागरिक अधिकारबारेको बहसलाई नेपालभित्र ल्याए । आज हामीले स्वाभाविक रूपमा स्वीकार गरेका धेरै राजनीतिक मूल्य त्यही अन्तर्राष्ट्रिय सम्पर्क र अनुभवको परिणाम पनि हुन् ।
नेपालको इतिहास हेर्ने हो भने देशले सधैँ दुईविपरीत प्रवृत्तिको बिचमा सन्तुलन खोजेको देखिन्छ–स्वाधीनता जोगाउने आकाङ्क्षा र बाहिरी संसारसँग सम्बन्ध राख्ने आवश्यकता । यही सन्तुलन आज पनि आवश्यक छ । नेपाल पूर्ण रूपमा बाहिरी संवादबाट टाढा रह्यो भने विकासका धेरै अवसर गुम्न सक्छन् । कुनै पनि बाहिरी प्रभावलाई बिनाप्रश्न स्वीकार गरियो भने स्वायत्तता कमजोर हुन सक्छ ।
समाधान अविश्वास बढाउनु होइन; पारदर्शिता र बहसलाई बलियो बनाउनु हो । कुनै परियोजना कसरी सञ्चालन हुन्छ, त्यसको वित्तीय स्रोत के हो, त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्नु आवश्यक छन् । कुनै व्यक्तिले विदेशमा अध्ययन ग¥यो वा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लियो भन्ने आधारमा मात्र उसको देशभक्तिमाथि प्रश्न उठाउनु उचित होइन । आजका नेपाली युवा विश्वसँग जोडिएका छन् । उनीहरू विदेशमा पढ्छन्, अन्तर्राष्ट्रिय नेटवर्कमा काम गर्छन् अनि नयाँ विचारसँग परिचित हुन्छन् । यही पुस्ताले भविष्यमा नेपालका संस्थाहरूलाई नेतृत्व गर्ने छ । यही पुस्तालाई निरन्तर शङ्काको नजरले हेर्ने हो भने उनीहरूको ऊर्जा र रचनात्मकता दबिन सक्छ ।
अन्ततः एउटा राष्ट्रको शक्ति केवल उसको सीमामा मात्र होइन, उसको आत्मविश्वासमा पनि निहित हुन्छ । आत्मविश्वासी समाजले बाहिरी विचारसँग डराउँदैन । बरु त्यसलाई परीक्षण गर्छ, उपयोगी भए स्वीकार गर्छ, अनुपयुक्त भए अस्वीकार गर्छ । नेपालका लागि अहिले आवश्यक यही आत्मविश्वास हो; विश्वसँग संवाद गर्ने तर आफ्नो निर्णय आफैँ गर्ने, अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने तर आफ्नै सन्दर्भमा त्यसलाई प्रयोग गर्ने र सबैभन्दा महत्वपूर्ण रूपमा कसैको वैश्विक सम्पर्कलाई देशप्रतिको निष्ठाको विरोधाभास नठान्ने ।
किनकि अन्ततः राष्ट्रनिर्माणको काम ती मानिसले गर्छन्, जसले सिक्न चाहन्छन्, सोच्न चाहन्छन् र प्रश्न गर्न चाहन्छन् । त्यही मानिसलाई हामीले शङ्काको घेरामा राख्यौँ भने, राष्ट्रको सम्भावना पनि सानो हुँदै जान्छ । अन्ततः प्रश्न वैश्विक सम्पर्कको होइन, आत्मविश्वासको हो । आत्मविश्वासी समाजले विश्वसँग संवाद गर्न डराउँदैन; बरु त्यसबाट सिकेर आफ्नै बाटो बनाउँछ । नेपाललाई पनि आज यही परिपक्वता आवश्यक छ, जहाँ आलोचनात्मक सोचलाई शङ्काको नजरले होइन, राष्ट्रनिर्माणको सम्भावनाका रूपमा हेरियोस् । किनकि विश्वबाट सिक्ने साहस र आफ्नै निर्णय गर्ने आत्मविश्वासबिना कुनै पनि राष्ट्र अघि बढ्न सक्दैन ।