• १५ चैत २०८२, आइतबार

सांसदद्वय शाह र लामिछानेलाई डा. चन्द्र भण्डारीको सुझाव

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछाने

काठमाडौँ, चैत १३ गते । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेलाई शुभकामना दिँदै मुलुकको समग्र रूपान्तरणका लागि सारथि बन्न सुझाव दिनुभएको छ ।

डा. भण्डारीले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, “प्रधानमन्त्री बालेन्द्र शाह तथा सारथि रवि लामिछानेज्यू, हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’’

साथै उहाँले समाज र संस्कृति हाम्रो साझा धरोहर तथा मानव विकासको पहिचान हुन्। शपथग्रहण समारोहमा यसलाई सम्मानका साथ अङ्गाल्नुभएकोमा खुसी लागेको बताउनुभयो।

‘‘देश एउटै हो—पार्टी फरक भए पनि देश र जनताका समस्या साझा छन्। अब सत्ता भागबन्डाको साधन नभई समस्या समाधानको माध्यम बनोस्।,’’ नेता भण्डारीले भन्नुभयो, ‘‘संसद सत्ता संघर्ष गर्ने माध्यम होइन, भुइँमान्छेको आवाज र नीति निर्माणको प्रभावकारी थलो बनोस्। प्राकृतिक स्रोत–साधन जनसमृद्धिको आधार बनून्।’’

उहाँले ‘शिक्षा केवल प्रमाणपत्र मात्र होइन, अनुसन्धान, कौशल र रोजगारीको ढोका बनोस्—नेपाल शिक्षा र स्वास्थ्यको हब बनोस्’ भन्नुभएको छ।

नेता भण्डारीले अगाडि लेख्नुभएको छ, ‘‘कहिल्यै नसकिने योजनाको अन्त्य होस्, समयसीमा, जिम्मेवारी र जवाफदेहिता कडाइका साथ लागू होऊन्। युवाले देशमै भविष्य देखून्, रित्तिएका घरहरू फेरि हाँसोले भरिऊन्। विचौलिया र बिचौलियाबाट पीडित किसानले न्याय पाऊन्; अनुदान, मल, बीउ, बजार र मूल्य सुनिश्चित होस्। सुशासन नारा होइन, व्यवहार बनोस्; पारदर्शिता घोषणा होइन, संस्कृति बनोस्। गलत र अक्षमलाई जिम्मेवारी दिनु स्वयं भ्रष्टाचार हो। यो मान्यता दृढ बनोस्। सीमित राजस्वबाट विकासका लागि संरचना साना बनाउँदै खर्च कटौती, प्राथमिकता र उत्तरदायी बजेट अनिवार्य होस्। ‘म’ को अहंकार हारोस्, ‘हामी’ को जिम्मेवारी बलियो बनोस्। नेपालको सुरक्षा, अस्तित्व र प्रजातन्त्रका लागि भएका विगतका त्याग र समर्पणप्रति सधैं सम्मान रहोस्। देश, जनता र प्रजातन्त्रका पक्षमा यो नेतृत्व स्मरणीय बनोस्। यी मुद्दा मैले संसदमा उठाइसकेका अनुभव र भोगाइ पनि हुन्।”