• १८ मंसिर २०८१, मङ्गलबार

कर र महसुलका दर घटाउनु स्वागतयोग्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महसुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने निर्णयलाई नेपाल समुद्रपार निकासी पैठारी सङ्घले स्वागत गरको छ ।

यस्तै मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर शून्य प्रतिशत कायम गर्ने सरकारको निर्णयले अनधिकृत आयात नियन्त्रणमा सहयोग पुग्ने सङ्घले जनाएको छ । 

सरकारले केही दिनअघि आयातमा लाग्ने भन्सार महसुल सुनको २० बाट १० प्रतिशत, चाँदीको १५ बाट १० प्रतिशत, मार्बलको ३० बाट १० प्रतिशत र ग्रेनाइटको २० बाट १० प्रतिशत बनाएको थियो । त्यसै गरी मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क पनि शून्य प्रतिशत कायम गरिएको छ । दलहन आयात गर्दा लिने अग्रिम आयकरलाई १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरेको छ ।

सरकारले सुनचाँदीमा लाग्ने भन्सार दर बढाएकै बेला छिमेकी भारत सरकारले गत साउनमा ल्याएको बजेटमार्फत यी वस्तु आयातमा लाग्ने भन्सार महसुल घटाएर छ प्रतिशत कायम गरेपछि नेपाल र भारतमा सुनको मूल्यमा ठुलो अन्तर आएको थियो ।