गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १३ गते । नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसका शीर्ष नेताको बुधबार बसेको बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दृष्टिगत गर्दा अहिले ऋण लिन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले शीर्ष नेताबिच बिआरआईबारे छलफल भएको जानकारी दिँदै ऋणका रूपमा नभई केवल अनुदानका रूपमा मात्रै बिआरआई सम्झौता गर्नुपर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीन सरकार अनुदानकै रूपमा बिआरआई परियोजना स्वीकार गर्न र प्राविधिक सहयोग गर्न तयार भएमा मात्रै समझदारी गर्नु पर्छ । अनुदानका रूपमा समझदारी गर्न चीन सरकार सकारात्मक नभएमा पछि छलफल गर्नु पर्छ ।”