लोकेन्द्रप्रसाद जोशी
दार्चुला, मङ्सिर १२ गते। महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला-टिंकर सडकको रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आएको टोलीमा मन्त्रीद्वयसँगै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल, मन्त्रालयका सचिव, सांसद समेत रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो। सामरिक महत्त्वको टिंकर सडक निर्माणमा लक्ष्यअनुसार प्रगति हुन नसकेको गुनासो बढेको बेला मन्त्री नेतृत्वको टोली बुधबार निरीक्षण गरी फर्किएको हो ।
दार्चुलाका प्रजिअ जोशीका अनुसार टिंकर सडक निरीक्षणपछि अहिले महाकाली करिडोर अन्तर्गत रहेकोमा दार्चुला-टिंकर सडकलाई छुट्टै आयोजना बनाएर आवश्यकताअनुसार थप बजेट विनियोजन गरी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ । अहिले सडकको ट्रयाक खोल्ने कामलाई निरन्तरता दिने निर्णय भएको छ, उहाँले भन्नुभयो । चिसो घटेपछि चैत वैशाखदेखि छाङरू टिंकरमा समेत मेसिन प्रयोग गरेर दुबैतर्फबाट सडक निर्माण गर्ने तयारी रहेको बताइएको छ । आवश्यक बजेट व्यवस्थापन गरेर अबको पाँच वर्षमा टिंकरसम्म सडकको ट्रयाक निर्माण गरिसक्ने मन्त्रीद्वयले प्रतिबद्धता जनाउनुभयो ।
टिंकर सडक आयोजनाका लागि चालू आर्थिक वर्षमा सरकारले नौ करोड रूपियाँ बजेट मात्र विनियोजन गरेको छ। उक्त रकमले १.८ किलोमिटर नयाँ ट्रयाक खोल्ने र १.२ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको उहाँको भनाइ छ ।
हाल यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किलोमिटर छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्ड तुसरपानी टिंकरमा ७९ किलोमिटर सडकको काम नेपाली सेनालाई दिइएको छ । यही गतिमा सडक बनाउने हो भने निर्माण सम्पन्न गर्न वर्षौँ लाग्छ’ उहाँले भन्नुभयो । निर्माण कार्य छिटो सक्न प्रर्याप्त बजेट र उपकरण बढाउनुपर्छ। त्यो हुन सकेको छैन। प्रर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उहाँको भनाइ छ ।
सरकारले निर्माणको जिम्मेवारी दिएपछि नेपाली सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला टिंकर सडक निर्माण थालनी गरेको हो। सेनाले तुसारपानी(टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलोमिटर भए पनि हालसम्म १३.५९ किलोमिटर ट्रयाक मात्र खुलाइएको छ ।
हरेक वर्ष सडक निरीक्षणको क्रममा बजेट तथा जनशक्ति र उपकरण थप गर्ने प्रतिबद्धता जनाए पनि सरकारले बजेटमा टिंकर सडकलाई प्राथमिकतामा नराखेको स्थानीय मदनसिंह कुवँरले बताउनुभयो । अहिलेकै गतिमा काम गर्दा दशकौं लाग्ने भएकोले टिंकर सडकमा पर्याप्त बजेट थपेर प्राथमिकताका साथ निर्माण कार्य गर्नुपर्ने स्थानीयको माग छ ।