• १२ मंसिर २०८१, बुधबार

गाई, भेडा र सुँगुरमाथि कार्बन कर

blog

डेनमार्कले वस्तुभाउले कार्बन उत्सर्जन गरेबापतको कर लगाउने नीति बनाउँदै छ । जस अनुसार गाई, भेडा र सुँगुरलगायतका वस्तुभाउ पाल्ने किसानले उनीहरूका जनावरले उत्सर्जन गरेको हरितगृह ग्यासबापत कर तिर्नुपर्ने छ ।

यो नीति सन् २०३० बाट लागू हुने छ । करमन्त्री जेप्पे बरुसका अनुसार सन् १९९० को तुलनामा सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई ७० प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्य अनुसार उक्त नीति अवलम्बन गरिएको हो ।

सन् २०४५ सम्ममा कार्बन तटस्थ मुलुक बन्नका लागि डेनमार्कले महत्वपूर्ण कदम चाल्ने भन्दै उनले डेनमार्क कृषि क्षेत्रमा कार्बन कर लगाउने विश्वकै पहिलो मुलुक बन्न थालेको र यसको सिको अरूले पनि गर्नुपर्ने बताएका छन् ।

सुरुमा किसानले आफ्ना वस्तुभाउले उत्सर्जन गरेको प्रतिटन कार्बन डाइअक्साइडबापत ४३ डलर कर तिर्नुपर्ने छ ।

त्यस्तो नियमले आफूहरूको जीवनयापनलाई खतरामा पार्ने भन्दै किसानले विरोध गर्दै आएका छन् ।  किसानका वस्तुभाउमाथि कार्बन कर लगाउने नीति हाल डेनमार्कको संसद्मा विचाराधीन छ र संसद्ले त्यसलाई पारित गरेसँगै सन् २०३० बाट लागू हुने छ ।   

–युवामञ्च