• १२ मंसिर २०८१, बुधबार

बैङ्क के हो र किन ?

blog

सामान्यतया बैङ्क भन्नाले पैसाको कारोबार गर्ने संस्था बुझिन्छ । यी संस्था कानुनबमोजिम स्थापना र सञ्चालन हुन्छन् । बैङ्कले मुख्य कामका रूपमा सर्वसाधारणबाट निक्षेपका रूपमा रकम स्वीकार गर्दछ भने उद्यम व्यवसाय गर्नका लागि कर्जा प्रदान गर्दछ । बचत क्षेत्रबाट निक्षेप स्वीकार गर्ने र उद्यमशील (लगानीकर्ता) क्षेत्रमा पुँजी लगानी गर्ने हुनाले बैङ्कलाई वित्तीय मध्यस्थकर्ता संस्था भनेर पनि चिनिन्छ । 

बैङ्कले बचत रकम स्वीकार गर्दछ । व्यक्ति व्यक्तिमा छरिएर रहेको पैसा बैङ्कले स्वीकार गरी एकत्रित गर्ने भएकाले बैङ्क कुनै पनि मुलुकको पुँजी निर्माणकर्ता पनि हो । मुलुकले आर्थिक विकासका लागि ठूलो लगानी गरी देशमा उत्पादन बढाउने, आयआर्जन तथा रोजगारी सिर्जना गर्नु पर्दछ । लगानीका लागि ठूलो रकम आवश्यक पर्दछ । बैङ्क तथा वित्तीय संस्थाले लगानीयोग्य पुँजी जुटाइदिने भएकाले कुनै पनि मुलुकको विकासका लागि बैङ्क तथा वित्तीय संस्थाको विकास अपरिहार्य हुन्छ ।

बैङ्कले बचत स्वीकार गर्न विभिन्न खाता सञ्चालन गरेर ब्याज प्रदान गर्दछ । यसबाट पुँजी निर्माणका लागि सर्वसाधारण प्रोत्साहित हुन पुग्छन् । घरमा पैसा राख्दा चोरिने, अनावश्यक खर्च हुने, हराउने, आगलागी भई नोक्सान हुन सक्दछ । तसर्थ बैैङ्कमा खाता खोलेर पैसा राख्नु बुद्धिमानी हुन्छ । यसैले बैङ्क तथा वित्तीय संस्थाले निष्क्रिय पुँजी सक्रिय गराई आर्थिक क्रियाकलाप बढाउन मद्दत पु¥याउँछन् ।

बैङ्कले उद्यम गर्न चाहने व्यक्तिका लागि कर्जा वा पुँजी उपलब्ध गराउने भएकाले बैङ्क व्यक्तिको आर्थिक उन्नतिका साथी हुन् । कानुनबमोजिम तोकिएको सेवा शुल्क मात्र लिएर कर्जा सेवा उपलब्ध गराउने भएकाले बैङ्कबाट ठगिने वा अन्यायमा पर्ने सम्भावना रहँदैन । कारोबारको क्रममा बैङ्कप्रति गुनासो भए सोही बैङ्कका साथै केन्द्रीय बैङ्कमा गुनासो गर्ने व्यवस्था हुन्छ ।

बैङ्क तथा वित्तीय संस्था आर्थिक विकासका पूर्वाधारहरू हुन् । बैङ्कमा जम्मा भएको पुँजी उद्योग, सडक, जलविद्य्त् क्षेत्रमा लगानी भई मुलुकमा उत्पादन, रोजगार तथा आय अभिवृद्धि हुन जान्छ । यसबाट मुलुकको आर्थिक विकास अघि बढ्छ ।

सानो वा ठूलो जुनसुकै उद्यम व्यवसाय गर्नका लागि पुँजीको आवश्यकता पर्दछ । सबै व्यक्तिसँग पुँजीको जोहो नहुन पनि सक्छ । यस्तो अवस्थामा बैङ्कले सर्वसुलभ ब्याजमा कर्जा सेवा उपलब्ध गराउँछ । उद्यमीले पैसा कमाएर सो कर्जा तिर्नु पर्दछ । बैङ्कले कर्जा सेवाका साथै उद्यम व्यवसाय गर्नका लागि विभिन्न सल्लाहसमेत प्रदान गर्छन् । कुनै कारणवश उद्यम व्यवसाय गर्दा घाटा लागेमा ब्याजलगायतका छुट पनि प्रदान गर्छन् र उद्यमीलाई भरथेग गर्छन् । बैङ्किङ बानी गर्ने मान्छे उन्नतिको बाटोमा अघि बढ्दै उज्यालो भविष्य बनाउन सक्दछ ।

बैङ्कले एक ठाउँको रकम अर्को ठाउँमा पठाइदिने, धन सम्पत्तिको सुरक्षा गर्ने, सरकारी कारोबार गरिदिने, अन्तर्राष्ट्रिय व्यापारमा मध्यस्थ भएर सहयोग पु¥याउने लगायतका अन्य धेरै काम गर्दछ । वर्तमान समयमा बैङ्कले मान्छेको जीवनशैलीलाई सुविधाजनक बनाएको छ ।

बैङ्क राज्यले बनाएका नियम, कानुनबमोजिम प्रक्रिया र पद्धति अनुसार सञ्चालन हुन्छन् । बैङ्क सञ्चालनका लागि इजाजत लिनु पर्दछ । सो इजाजत दिने कार्य प्रायः केन्द्रीय बैङ्कले गर्दछ । यसै गरी बैङ्क तथा वित्तीय संस्थालाई नियमन, सुपरिवेक्षण, अनुगमन तथा कैफियत भेटिएमा कारबाहीसमेत हुने र तत्काल सुधार हुने भएकाले बैङ्क तथा वित्तीय संस्थामा कारोबार गर्नु सुरक्षित हुन्छ ।

संसारका सम्पन्न मुलुकहरू बैङ्किङ सेवाको विस्तार र उपयोग गरेर नै अघि बढेका छन् । बैङ्कहरूले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर छिटो र सुलभ बैङ्किङ सेवा सुविधा प्रदान गरी व्यक्तिको जीवनलाई आधुनिक र सुविधाजनक बनाउन सहयोग पु¥याउँछन् । बैङ्क सेवाकै कारण एक पर्यटकले भौतिक पैसा नबोकीकनै विश्व घुम्न सक्ने अवस्था आएको छ । बैङ्कले विभिन्न डिजिटल माध्यमबाट भुक्तानीलाई छिटो र सुरक्षित बनाएका हुन्छन् ।

उद्यम गर्न चाहने तर धितो नहुनेहरूका लागि समेत लघुवित्त बैङ्कहरूले कर्जा सेवा उपलब्ध गराउँछन् । यसबाट गाउँघरमा महँगो ब्याजमा कर्जा लिनुपर्ने, ठेकीकोसेली बुझाउनुपर्ने, शोषणमा परी घरखेत लिलाम हुने अवस्था न्यूनीकरण हुँदै गएको छ ।

बैङ्किङ बानी गर्ने व्यक्तिहरू प्रायः स्वरोजगार सिर्जना गरी आत्मनिर्भर भएको पाइन्छ । बैङ्कले दुःखमा साथ दिन्छ र आयआर्जन गरी जीवनस्तर उकास्न सहयोग पु¥याउँछ । बैङ्क उद्यमी जनका लागि पैसाको बोटसरी बन्न सक्दछ ।

बैङ्किङ बानी गर्ने मान्छे जहिले पनि उन्नतिको पथमा अघि बढेको देखिन्छ । यसैले आफ्ना नानीहरूलाई बैङ्कमा सानै उमेरदेखि खाता खोलेर बचत गराउने, विद्यालयले विद्यार्थीलाई बैङ्क भ्रमण गराई बैङ्कसँग परिचित गराउने र आर्थिक रूपमा सचेत नागरिक तयार गर्न मद्दत गर्नु हामी सबैको कर्तव्य हो ।

बानी बैङ्किङको गर्ने स्वरोजगार बने सबै ।

अनेकौँ सुविधा मिल्छ, घाटा–नोक्सान छैन क्यै ।।

कुनै पनि मुलुक आर्थिक विकासमा अघि बढ्न दुर्गम गाउँ, शहर तथा धनी, गरिब, पिछडिएको सबै वर्ग उद्यमी बनेर उत्पादन र आयआर्जन कार्यमा संलग्न हुनु पर्दछ । यसबाट मात्र मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास अर्थात् आर्थिक क्रियाकलाप र सोको प्रतिफलमा सबैको  सहभागिताको लक्ष्य पूरा हुन सक्दछ ।

बैङ्कमार्फत कारोबार गर्दा कारोबार पारदर्शी हुने, अवाञ्छित लेनदेन न्यूनीकरण हुने, सरकारको आम्दानी बढ्ने, भ्रष्टाचार न्यूनीकरण भई मुलुकमा सुशासन कायम गर्न मद्दत पुग्ने भएकाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि बैङ्क तथा वित्तीय क्षेत्रको विकास अपरिहार्य हुन्छ ।

यसैले नेपाल सरकारले सबैका लागि बैङ्किङ सेवा भन्ने लक्ष्यका साथ वित्तीय सेवा विस्तारको योजना लिएको छ र सो योजनालाई सार्थक बनाउन नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको स्थायी र दिगो विकास एवं विस्तारको लक्ष्य लिएर अघि बढिरहेको देखिन्छ ।  

–युवामञ्च   

Author

डा.भागवत आचार्य उपनिर्देशक, नेपाल राष्ट्र बैङ्क