काठमाडौँ, मङ्सिर ११ गते । संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदानमा मङ्गलबार भएको खेलमा संकटाले मनाङलाई ४–१ गोलले हरायो । संकटालाई जित दिलाउन दिवस राई, अनिश थापामगर, सुदीप लामा र कृष्णबहादुर आलेले गोल गर्नुभयो ।
मनाङका लागि सागर मगरले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै १२ खेलमा २१ अङ्क बनाएको संकटा चौथो स्थानमा छ । पराजित मनाङ समान खेलबाट १९ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ । लिगका खेलहरू डबल राउन्ड रोविनका आधारमा खेलाइएको छ ।