• ११ मंसिर २०८१, मङ्गलबार

रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण

blog

लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ झोलुङ्गे पुलको उट्घाटन गर्नुहुँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर ११ गते ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध्यबिन्दु नगरपालिका–१४ झोलुङ्गे जोड्ने १७५ मिटर लामो पुल निर्माण भएको हो ।

पुल निर्माण सम्पन्न भएसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको छ । पुल उद्घाटन गर्दै श्रेष्ठले पुलले दुई प्रदेशको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै यहाँका जनताको आर्थिक समृद्धिमा थप टेवा दिने बताउनुभयो । रिपाहा घाट वरपर रहेका स्थानीयको समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताउनुभयो ।

पुलको निर्माणले निस्दी र मध्यबिन्दुका जनतालाई आवतजावत गर्न सहज हुनुका साथै अरुण खोला वारीपारी रहेका खेतीयोग्य जमिनको सदुपयोगमा टेवा पुग्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । मध्यबिन्दु १४ का वडा अध्यक्ष मीनबहादुर दर्लामीले स्थानीयको समस्यालाई पहिचान गरी निर्माण भएको झोलुङ्गे पुलले ठुलो राहत दिएको बताउनुभयो । पुल निर्माणले निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दुको झोलुङ्गे, सारुडाँडा, द्वारी आसपासका  उपभोक्तालाई सहज हुने निस्दी ४ का वडा अध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो ।

निस्दी गाउँपालिकाका लेखाअधिकृत सरोज काफ्लेका अनुसार पुल निर्माण एक करोड ३७ लाख ६७ हजार ९२० रुपियाँको लागतमा सम्पन्न भएको हो । शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित एक करोड ८४ लाख ८९ हजार ३१६ रुपियाँमा ठेक्का आह्वान गरेको थियो । निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०७९ असार २४ गते २०८१ कार्तिकमा सम्पन्न गर्ने गरी एक करोड ३७ लाख ६७ हजार ९२० रुपियाँमा सम्झौता गरी पुल निर्माण गरेको हो ।