• ११ पुस २०८१, बिहिबार

धारापानीमा निर्माण हुँदै बैद्धिक गुरुकुल

blog

धारापानीमा निर्माण हुन थालेको बैद्धिक गुरुकुल । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर १० गते । दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म रोकिएको गुरुकुल निर्माणको काम सुरु भएको हो ।

हिन्दु धार्मिक संस्कारको विकासँगै दक्ष पण्डित उत्पादन गर्नेगरी पाँच वर्षअघि गुरुकुल निर्माणको काम सुरु भए पनि बजेट अभावका कारण पूरा हुन सकेको थिएन । 

गत साउन महिनामा धारापानीमा सञ्चालन गरिएको शिव महापुुराण सत्सङ्ग ज्ञान महायज्ञ एवम् शृङ्गारिक महा आरतीबाट करिब तीन लाख रुपियाँ बचत भएपछि गुरुकुल निर्माणको काम सुरु भएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो । 

अध्यक्ष अधिकारीका अनुसार गुरुकुल निर्माणमा हालसम्म करिब एक करोड बढी खर्च भइसकेको छ । तीन करोडको लागत स्टिमेट रहेको गुरुकुलको हालसम्म दुई तलासम्मको लागि पिलर उठाइए पनि करिब डेढ तलासम्म ढलानको काम सकिएको छ । 

त्यही ढलान गरिएको पहिलो तलामा प्लास्टर गर्नेदेखि झ्याल–ढोका जोड्नेदेखि शौचालय निर्माणको काम सुरु गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । गुरुकुल निर्माण गर्ने भनिए पनि आर्थिक अभावका कारण लामो समयसम्म निर्माण र सञ्चालनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले भन्नुभयोे, ‘बैद्धिक गुरुकुल निर्माणको काम सुरु भए पनि आर्थिक अभावका कारण निर्माण हुन सकेको छैन । गत साउनमा लगाइएको महाआरतीबाट सङ्कलन भएको रकमबाट पहिलो तलाको फिनिसिङको काम सक्ने तयारीमा लागेका छौँ ।’ 

करिव दुर्ई बिघा क्षेत्रफलमा निर्माण गर्न थालिएको गुरुकुलमा विद्यार्थीहरू आवासीय सुविधासहित पढ्ने र बस्ने व्यवस्थासहित गुरुकुल सञ्चालन गर्ने तयारी रहेको छ । बन्न थालेको भवनमा २७ वटा कोठा रहने भएका छन् । 

दुई वर्षभित्र गुरुकुल भवन निर्माण गरिसक्ने गरी तयारी भए पनि कोरोना सङ्क्रमणसँगै आर्थिक अभाव हुँदा पाँच वर्षसम्म निर्माणको काम पूरा हुन नसकेको समितिले जनाएको छ ।

दाताको सहयोगबिना काम गर्न नसकिने भन्दै समितिका अध्यक्ष अधिकारीले भन्नुभयोे, ‘अहिले पनि बजेट अभावका कारण गुरुकुलको सम्पूर्ण काम सकिने अवस्था छैन । सुरु भएको पहिलो तला सक्नेगरी काम सुरु गरेका छौँ । दाताको सहयोग भएमा सम्पूर्ण काम पूरा हुनेछ ।’ गुरुकुल निर्माणका लागि अझै डेढ करोड बढी बजेटको आवश्यकता रहेको समितिले जनाएको छ । 

व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार गुरुकुलमा सरकारले तयार गरेको पाठ्यक्रमसँगै नैतिक शिक्षा र संस्कृत विषय पढाइ हुनेछ । गुरुकुलसँगै एक करोडको लगानीमा गौशाला निर्माण गर्ने समितिको तयारी रहेको छ ।