काठमाडौँ, मङ्सिर १० गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको पहिलो दिन तोरनविक्रम शाहीले अग्रता लिनुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबार भएको खेलमा तोरनले पाँच अन्डर ६७ खेल्नुभयो । यस्तै चार अन्डर ६८ खेल्नुभएका भुवन नगरकोटी र सुनिल केसी दोस्रो स्थानमा हुनुहुन्छ । तीन अन्डर ६९ खेल्नुभएका कृष्णमान राजवाहक तेस्रो स्थानमा हुनुहुन्छ ।
एमेच्योरतर्फ दुई अन्डर ७० स्कोरका साथ राहुल विश्वकर्मा शीर्षस्थानमा रहनुभएको छ । चार दिने प्रतियोगितामा १२ एमेच्योरसहित ४७ खेलाडीको सहभागिता रहेको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपाले आयोजना गरेको प्रतियोगितामा शीर्ष २१ प्रो र ६ एमेच्योर दुई दिनको ३६ होलपछि थप ३६ होलको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।
कूल आठ लाख ८२ हजार पुरस्कार राशि रहेको यस प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।