• १० मंसिर २०८१, सोमबार

पुलिसलाई थ्री-स्टारको झट्का

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र थ्रीस्टारका खेलाडी ।

काठमाडौँ, मङ्सिर १० गते । ललित स्मृति एन्फा यु–१८ लिगको उपाधि दौडमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई थ्री-स्टार क्लबको नमिठो झट्का लागेको छ ।

एन्फा मैदानमा सोमबार भएको खेलमा लिगको शीर्षस्थानमा रहेको पुलिस थ्री-स्टारसँग १–० गोलले पराजित भयो । हारसँगै पुलिसले दोस्रो स्थानमा रहेको एनआरटीसँगको अङ्क दूरी घटाउने मौका समेत गुमायो । 

थ्री-स्टारको जितमा रोमन श्रेष्ठले ६१औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । हारेपनि शीर्षस्थानमा रहेको पुलिसको १२ खेलबाट २६ अङ्क छ । दोस्रो स्थानमा रहेको एनआरटी एक अङ्कले पछि । पुलिसलाई हराएको थ्री-स्टार १२ खेलबाट २३ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ । लिगका खेलहरू डबल राउन्ड रोविनका आधारमा खेलाइएको छ ।