सुजल श्रेष्ठ
प्युठान, मङ्सिर १० गते । नेकपा एमाले प्युठानले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ । जिल्लामा रहेका नौ वटा पालिकामध्ये आठ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।
पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि मङ्सिर ८ गतेदेखि १५ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनेको नेकपा (एमाले) प्युठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो । उहाँले सम्बन्धित पालिकाको सबै वडा अधिवेशन सकेर पालिका अधिवेशन भइरहेका छन् ।
झिमरुक गाउँपालिकाको अधिवेशन सम्पन्न भइसकेको र आज सरुमारानी गाउँपालिकाको अधिवेशन हुँदै गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। सङ्घीय संरचनापछि बनेका वडा तथा पालिकाको यो दोस्रो अधिवेशन हो । पार्टी एकता÷विभाजन लगायतका कारण समयमै वडा तथा पालिका अधिवेशन हुन नसकेको एमाले प्युठानले जनाएको छ ।
अधिवेशनका क्रममा ज्येष्ठ कम्युनिष्ट नागरिकलाई सम्मान गर्ने, पार्टी प्रवेश लगायतका कार्यक्रम तय गरिएको छ । अधिवेशनहरूमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा खटिनुभएको छ । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापा सबै पालिका अधिवेशनमा सहभागी हुने एमाले प्युठानले जनाएको छ ।