• १० मंसिर २०८१, सोमबार

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य

blog

पाकिस्तानमा हुन लागेको नेत्रहीन टी-ट्वान्टी विश्वकप भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोली । तस्बिर साभार : हाम्रो खेलकुद

काठमाडौँ, मङ्सिर १० गते । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिले ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्द्ध शतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरूले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् । रासस